नाग महिमा

हिमाली काखको नेपाली सभ्यतामा प्रकृतिका हर उपजको सम्मान छ । यहाँ चरा पुजिन्छन् । वृक्ष पुजिन्छन् । पर्वतको सम्मान छ । नदीको आदर छ । यति मात्र होइन विषधर सर्पप्रजातिलाई यहाँ नागदेवता मानेर पूजा गरिन्छ । नागको सम्मानमा पर्व नै मनाइन्छ । नागपञ्चमी पर्वमा घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

श्रावण शुक्लपञ्चमीका दिन ब्रह्मासँग विषधर नागको सम्वाद भएको पौराणिक प्रसंगका आधारमा यस तिथिलाई नागपञ्चमी पर्व मानिएको हो ।
वराहपुराणका अनुसार नागराजले आफ्ना समस्याबारे ब्रह्मासँग संवादगरेपछि विषधर नागहरु शान्तभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर बनाई द्वारमाथि टाँसेर पूजा गरिन्छ । नागका अष्टकुल अनन्त वासुकि पद्म,महापदम,तक्षक,कुलीर,कर्कोटक शंख नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही,अक्षता,दुबो,लावा फलफूल चढाई दूध वा खीरको नैवद्य लगाउने चलन छ ।

यसरी नागको पूजा गर्नाले घरमा चटयाङ वज्रपात नपर्ने,अग्निभय र सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ । ब्रह्मवैवर्त पुराणका अनुसार भगवान श्रीकृष्णको पदचिह्न कालयि नागले शिरमा धारण गर्ने भएकाले नागलाई मार्न हुँदैन भन्ने विश्वास छ ।नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारमिा खनजोत गर्नु हुादैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागको नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम शुरु हुने लोककथन प्रचलित छ ।

नाग पञ्चमीका दिन जलमूल तथा ठूला जलाशयमा पनि नागको पूजा गर्ने परम्परा छ । जलमूल,इनार कुवा ,पोखरी धारामा नागको निवास मानेर नागपूजा गर्ने परम्परा छ । यस्ता जलाशयमा कपास वा पीठाको नाग बनाई त्यसमा तीलको कत्ला, मासको आँखा र दुवाको जिब्रो बनाउने चलन छ । स्पर्शक्षमतामा तेज मानिने सरिसृप प्राणी नागका दुई वटा जिब्रा हुन्छन् ।  नागपञ्चमीका दिन काठमाडौको केन्द्रस्थलमा पर्ने नक्साल नागपोखरीमा नागको विशेष पूजाआजा गरिन्छ । पोखरीको बीचमा रहेको नागको अग्लो प्रतिमामा नयाँ वस्त्र पहिराई शिरबाट दूधले नुहाइदिएर विधिपूर्वक नागको पूजा गर्ने परम्परा छ । यहाँ नागपञ्चमीका दिन नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

काठमाडौकै कीर्तिपुर नगरपालिकामा पर्ने चोभारतल रहेको टौदहमा पनि नाग पञ्चमीमा नागपूजा गर्नेको भीड लाग्छ । दहको दक्षिणतिर रहेको धारामा स्नान गरी नजिकै रहेको नाग प्रतिमामा नाग पूजा गरिन्छ । यो दह नागराज कर्कोटकको निवास मानिन्छ । पाटनमा मत्स्येन्द्रनाथको रथयात्रा गर्ने बेलामा यहाँ नागलाई विधिपूर्वक निमन्त्रणा गर्ने चलन छ ।

यसै गरी ललितपुरको धापाखेलस्थित नागदहमा पनि नागपञ्चमीमा नागपूजा गर्नेको भीड नै लाग्दछ । यस दहमा वासुकि नाग निवास गर्ने बताइन्छ । दहको उत्तरपट्टि जलमाथि वासकि नागको मन्दिर पनि बनाइएको छ । दहको पश्चिमी किनारमा पनि एउटा मन्दिर बनाइएको छ । दह निकै सुन्दर देखिन्छ । अझ दह किनारमा फुल्ने श्वेत कमलका फूलले दहलाई मनमोहक बनाएका छन् । तालको वरिपरि खेतको हरियाली र विभिन्न वृक्षवनस्पति पनि देखिन्छ । दहको किनारबाट मनोरम प्रकृतिले सजिएको धापाखेल नागदहमा वासुकि नाग बस्ने भएकाले दह वरिपरि फोहर फाल्न नहुने,पौडी खेल्ने होहल्ला गर्ने दहका वस्तु घर लिएर जाने गर्न नहुने मान्यता छ ।

तत्कालीन काठमाडौ खाल्डोमा रहेको कालीदह खोल्दा दहमा रहेका नागमध्ये वासुकिलाई धापाखेल दहमा र कर्कोटकलाई टौदहमा बस्नका लागि व्यवस्था गरिएको जनकथन छ । धापाखेलको जलशोभा र जनआस्था देखेर चिनियाँ यात्री हुयन शाङले आफ्नो यात्रा वृतान्तमा यस दहको पनि नाम उल्लेख गरेका छन् ।

दहमा थुप्रै जलमूल छन् । यो दहको जल खडेरीमा पनि खासै घट्तैन । ग्रामीणजनले यसलाई जलघाटका रुपमा समेत उपयोग गरेका छन् । जलसम्पदाका प्रतीक नाग बस्ने वासस्थानलाई बचाउनु वातावरणीय दृष्टिले पनि महत्वपूर्ण छ । अझ यहाँको दहबाट निस्केको पानीले आसपासका खेतमा धान रोपाञी गरिन्छ । कृषिका लागि यसको ठुलो महत्व छ । पर्यावरण र पर्यटनमा पनि यसले महत्वपूर्ण योगदान गरेको छ । तर वरपर तालमै गाँसेर बनाइएका होटल,आधुनिक माछा पोखरीले यहाँ शानि सौन्दर्य र शुद्धतामा संकट पार्नसक्ने खतरा पनि बढदै छ । वरिपरिबाट फोहर र रसायनयुक्त पानी यहाँ पस्यो भने दहका कमलफूल प्रभावित हुने छन् । जलप्राणीमा प्रतिकूल असर पर्नेछ जलकुम्भी जस्ता झार भरिने छ । दहको दृश्य र अस्तित्वमा नराम्रो असार पार्ने गतिविधि रोक्नु दह प्रेम हो । प्रकृति प्रेम र जलप्राणीको वास्तविक पूजा हो ।

वैदिक सनातन सभ्यतामा पृथ्वीका सारा जीव र प्राणीप्रति सम्मानभाव छ । उनीहरुको पनि मानिसको जस्तै यस धरामा अधिकार छ भन्ने व्यवहार देखिन्छ । यस सभ्यताका देवताले प्राणीप्रेम गरी आफूसँगै राखेका छन् । भगवान विष्णु समुद्रमा शेषनागको आशन बनाई शयन गर्नुहुने भएकाले उहाँलाई शेषशायी विष्णु भन्ने गरिन्छ । भगवान शिव घाँटीमा नागको माला लगाएर नागेन्द्रहाराय बन्नुभएको छ । गुरुगोरखनाथद्वारा नागबन्धन र मत्स्येन्द्रनाथबाट फुकुवाको प्रसंगमा आधारित काठमाडौको मत्स्येन्द्रनाथ तथा मीननाथको जात्रा पनि नागसँगै गाँसिएको छ ।

योगमा कुण्डलिनी नाग रुपकै उत्थान छ । स्वयम्भूमा पञ्चतत्वको पूजा गर्ने क्रममा पृथ्वीको प्रतीक वासुपुर, वायुको प्रतीक वायुपुर,अग्निपुर, अनन्तपुर र जलको प्रतीक नागपुर बनाई पूजा गरिएको छ । हिन्दू बौद्ध शिख,जैन ओमकार परिवारका सदस्यहरु नाग पूजा गर्छन् । नगधुरीबाट बग्ने नदीकिनारमा नागरिक भएर बसेका हैमसभ्यतामा नागको स्थान र मान महान् छ । नागवंशी नागरिकका समाजमा त झन् यसको अर्थ थप प्रगाढ छ ।

जलमूल तथा जलाशयमा रमाउने नागहरुलाई वातावरण शुद्धिका महत्वपूर्ण संकेतका रुपमा पनि लिने गरिन्छ । यिनीहरुबाट कहिले काँही हुने सर्पदंश र विषको दुःख आफैले व्यवस्थापन गर्न जान्नुछ । जानेमा विषबाट विषौधि बनाउन सकिन्छ । मानिसले प्रकृतिका उत्पादनलाई व्यवस्थित गर्न जान्यो भने हर चीज वरदान बन्छन् । अमृत बन्छन् । नागलोकमा अमृत संगृहित रहेको प्रसंगले नाग नै अमृत दिने प्राणी हुन भन्न सकिन्छ । अबको विद्या यसैतर्फको अनुसन्धानमा अग्रसर हुनु छ ।।।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।