पहिरोले घर पुरिँदा आमाछोरीकै मृत्यु

दाङ । बङ्गलाचुली गाउँपालिमा पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली–५ साकिने भन्ने स्थानमा बुधबार बिहान तीन बजेतिर घर माथिबाट खसेको पहिराेले पुरिँदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुष्मा रहेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो ।घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने सकुशल छन् । मृतक बाटुकी घरमा सासुससुरा र जेठाजुसँग बस्दै आएकी थिइन् । उनका श्रीमानको केही सयमअघि मृत्यु भइसकेको बताइएको छ ।
घोराही बजारबाट करिब ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिरोको उच्च जोखिममा छन् । केही दिनयता लगातारको वर्षाका कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिरोको उच्च जोखिममा परेका छन् ।