प्रहरीलाई आर्थिक प्रलोभन देखाइ दुर्व्यवहार गर्ने पक्राउ

मकवानपुर । भिमफेदी गाउँपालिका–२ भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रौतहट चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरीका गौशाला नगरपालिका–१० घर भएका राम गणेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
डिउटीमा खटिएको प्रहरीले रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१६ च ८९७१ नम्बरको मारूती भ्यान चेकजाँच गरेको थियो । जाँच गर्ने क्रममा भ्यानमा सुरक्षा मापदण्ड विपरीत बढी संख्यामा मानिस चढाएको पाइयो । प्रहरीले उनीहरुलाई त्यस्तो नगर्न सम्झाई बुझाई गर्दा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेपश्चात भ्यान चालक साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साहउपर सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।