काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरीय रुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ । वर्षौदेखि निर्माण शुरु भएका गौरवका आयोजनाहरु कहिले स्रोत अभाव त कहिले अन्य स्थानीय समस्याहरुका कारण निर्माण सम्पन्न हुन सकेका छैनन् ।
राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कँडेल आयोजनाहरु तोकिएको लागत, समय र गुणस्तरमा काम हुन नसकेको बताउनुहुन्छ । गौरवका आयोजनाहरु जुन गतिमा निर्माण हुनुपर्ने हो त्यो गतिमा हुन नसकेकाले यसमा गम्भीरता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । आयोजना निर्माणमा अहिले वातावरणीय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको उहाँले बताउनुभयो । विभिन्न मन्त्राललयका सचिवहरुले स्रोतको समस्याका कारण गौरवका आयोजनाहरु निर्माणमा विलम्ब हुने गरेको बताएका छन् ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्रालयका सचिवहरुले लकडाउनका कारण केही आयोजनाहरु प्रभावित भएपनि अधिकांश आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विभिन्न विमानस्थलहरु निर्माणका काम सन्तोषजनक रहेको बताउनुभयो । निजगढ विमानस्थलमा भौतिक प्रगति उल्लेख नभएपनि अदालतको फैसला आएपनि बाँकी प्रकृया अगाडि बढाइने उहाँले बताउनुभयो । पशुपति गुरु योजना अनुसार ८४ प्रतिशत काम सम्पन्न भएको र लुम्बिनी क्षेत्र विकासको काम ८५ प्रतिशत सकिएको उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुष्पलाल मध्यपहाडी र लोकमार्गमा ५३ प्रतिशत काम भएको बताउनुभयो । गत आर्थिक वर्षमा १ सय ११ किलोमिटर गरी अहिलेसम्म आधा भन्दा बढी सडक कालोपत्रे भएको उहाँले बताउनुभयो । हुलाकी सडकको ५५ प्रतिशत कम सम्पन्न भएको छ । गौरवका आयोजना निर्माणमा स्रोतको समस्या देखिएको उहाँले बताउनुभयो ।
उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश घिमिरेले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ७१ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । मुख्य सुरुङका लागि परामर्शदाता विज्ञहरु ल्याउनुपर्ने भएपनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समस्या भइरहेको उहाँले बताउनुभयो । बुढीगण्डकी जलविद्युत आयोजनामा अहिलेसम्म ३२ अर्ब २७ करोड १७ लाख बराबरको मुआब्जा वितरण भएको उहाँले बताउनुभयो ।
कुल ५८ हजार १ सय ५३ रोपनीमध्ये अहिलेसम्म ४७ हजार ३ सय ३९ रोपनीको मुआब्जा वितरण भएको उहाँले तबाउनुभयो । सिक्टा सिँचाई आयोजनाको ६३ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम तर्फको ४५ किलोमिटर मूल नहर तयार भइसकेको छ । गत वर्ष आयोजनाबाट १६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको छ । बाँकेमा मात्रै ९० प्रतिशत क्षेत्रमा सिक्टा सिँचाईको पानीले रोपाई गरिएको छ । रानी जमरा गुलरिया आयोजनामा ४८ प्रतिशत प्रगति भएको छ ।