काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ८ सय ६१ जनामा गरिएको परीक्षणमा आइतबार दुई सय ४६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । हाल देशभर पाँच हजार ६ सय ७२ जना सक्रिय संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ६ सय ७२ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २ सय ५१, प्रदेश नम्बर २ मा २ हजार १ सय ७५, बागमती प्रदेशमा ६ सय ६ र गण्डकी प्रदेशमा २ सय ८७ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९६, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा एक सय ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोना निको हुनेको संख्या १४ हजार ६ सय तीन पुगेको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो । प्रदेश नम्बर १ मा ८ सय ५८, प्रदेश नम्बर २ मा ३ हजार १ सय ६४, बागमती प्रदेशमा ५ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४६ जना डिस्चार्ज भएका छन् ।
हाल देशभरका क्वारेन्टाइनमा १० हजार नौ सय ३४ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ९४, बागमती प्रदेशमा ७ सय ६९ र गण्डकी प्रदेशमा २ हजार ८ सय ६० जना रहेको छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय २२, कर्णाली प्रदेशमा ४ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको प्रवक्ता.डा गौतमले बतायनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।
मन्त्रालयले आरडिटी विधिबाट कोरोना परीक्षण नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गर्नुभयो । यस्तै आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलायन पनि उहाँले आग्रह गर्नुभयो । प्रवक्ता डा. गौतमले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह गर्नुभयो ।