कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् । भजनीको वडानम्बर ८ को सोनाफाँटामा मेस सञ्चालन भएपछि आइतबार ५ सय पीडितले खाना खान पाएका हुन् । विस्थापितका लागि सडकमै मेस सञ्चालन गरिएपछि पेटभरि खाना पाएको उनीहरुकाे भनाइ छ ।
ईश्वर प्रेमी सेवा आश्रम जानकी गाउँपालिकाले बाढी पीडितको भोक मेटाउन पथरैया पुलमा सामूहिक मेस सञ्चालन गरेको हो । ‘पाँच दिनपछि दालभात खान पाइयो, बल्ल पेट भरियो”, पीडित सुन्ता विकले भन्नुभयो, ‘जति आए चिउरा र चाउचाउ दिए, दालभात पनि खान पाइयो, पेट भरियो ।’
‘पेटभरि खाना नपाउँदा मेरो ४ वर्षको छोरो आत्तिरहेको थियो , आज भने बच्चाले धित मारेर खाएको छ’ भजनी–८ का सुरवी चौधरीले भन्नुभयो । ईश्वरप्रेमी सेवा आश्रमका पिठाधीश ईश्वर चैतन्य महाराजलेभोक मेट्ने अधिकार सबैलाई भएको र आश्रमले सकेको सहयोग गरिरहेको बताउनुभयो ।
भजनी नगरपालिकाले पनि पीडितलाई राहत वितरण शुरु गरेको छ । वडा नम्बर ३ कार्यालयले पीडितका लागि राहत सामग्री वितरण थालेको हो । वडाले मन्त्रीफाँटा, सिमलटारी, नयाँबस्ती, डेली चितवन र बर्दुवाफाटामा गरी १ सय २० परिवारलाई राहत बाँडेको अध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो । उहाँले बाढी पीडितलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट, पानी, एक्वागार्डजस्ता अत्यावश्यक सामग्री वितरण गर्न लागिएको बताउनुभएको छ ।
नगरपालिकाले ८ नम्बर वडामा पनि राहत सामग्री वितरण शुरु गरेको छ । वडाको खैरागाउँका २ सय ६४ परिवारलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट र पानी वितरण गरिएको अध्यक्ष पंकज चौधरीले जानकारी दिनुभयो । ‘सडकमा बसेकालाई राहतमा खाद्यान्न दिन कठिन छ, उनीहरु घर फर्किएपछि राहत दिइनेछ’, चौधरीले भन्नुभयो । अहिले अत्यावश्यक सामान दिन थालेका तर अझै विस्थापितहरु घर फर्कने वातावरण नभएको उहाँको भनाइ छ ।