‘जरोकिलो प्रतिष्ठान’द्वारा जुममार्फत् संस्कृत दिवस मनायो

मोहनप्रसाद मैनाली
काठमाडौं । तृतीय विश्व संस्कृत दिवसको अवसरमा जरोकिलो प्रतिष्ठान नेपालले जुम प्रविधिमार्फत कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानले जुममार्फत संस्कृत भाषा र महत्वका बारेमा विभिन्न विद्वानहरुको प्रवचन आयोजना गरी संस्कृत दिवस मनाएको हो ।
कार्यक्रममा संस्कृत भाषाका विद्वानहरुले संस्कृत भाषा र यसको महत्वका बारेमा प्रवचन दिनुभएको थियो । विशिष्ठ वक्ता प्राडा केशवप्रपन्नाचार्यले संस्कृत भाषा जननी भाषा भएकाले विद्यालयस्तरमा संस्कृत भाषाको पठनपाठन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख वक्ता प्राडा हरिप्रसाद अधिकारीले संस्कृत कसैको व्यक्तिगत भाषा नभई यो सबैको साझा भएको बताउनुभयो । महाभारत, रामायण जस्ता धार्मिक ग्रन्थ मात्र नभई प्राचिन कालका सम्पूर्ण साहित्य पनि संस्कृत भाषामै भएकाले यो सबैको साझा भाषा भएको उहाँको भनाइ थियो ।
जुममार्फत प्रत्यक्ष रुपमा सञ्चालन भएको कार्यक्रममा प्राडा प्रियम्वदाम्वा काफ्ले, सहप्रा निर्मलमणि अधिकारी, उपप्रा केशवशरण अर्याल, उपप्रा रोहिणीराज तिमिल्सिना तथा सहप्रा डा. गोविन्दशरण उपाध्यायले संस्कृत भाषाको प्राचिनतम र यसको महत्वका बारेमा प्रवचन दिनुभएको थियो । विद्याले नम्रता दिन्छ, नम्रताले योग्यता दिन्छ, योग्यताले धन कमाउँछ, धनले धर्म निर्वाह हुन्छ र त्यस्तो धनले सुख र शक्ति दिने भएकाले आफूसँग भएको विद्या, धन र शक्तिलाई हामीले अरुलाई दिन, सहयोग गर्न र सुरक्षा प्रधान गर्न उपयोग गर्नुपर्ने विचार विद्वानहरुले व्यक्त गर्नुभएको थियो ।
पौरानिक कालमा शिक्षाको नयाँ शैक्षिक सत्र आजकै दिन शुरु हुने भएकाले यस दिनलाई संस्कृत दिवसको रुपमा मनाउने अभियान सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।
जरोकिलो प्रतिष्ठानले विक्रम संवत २०७५ श्रावन शुक्ल पुर्णिमाको दिनदेखि विश्व संस्कृत दिवसका रुपमा मनाउन शुरु गरेको हो । नेपालमा मनाउन शुरु गरिएको विश्व संस्कृत दिवसलाई नै भारतीय संस्कृत विश्वविद्यालयहरुले पनि संस्कृत दिवसको रुपमा मनाउन अनुरोध गरेको बताइएको छ ।
आकाश विलम् (गोविन्द) द्वारा सञ्चालित कार्यक्रम संस्कृत भाषामा सम्पन्न भएको थियो ।