आशिष बहादुर सिंह बझाङ । जिल्लामा ठूलो सख्यामा सलह किराको झुण्ड प्रवेश गरेको छ । चौधारी तर्फबाट मंगलबार केदारस्युँतर्फ लगातार २ घण्टा उडेको झुण्ड नै तितरबितर भएर जिल्लाका विभिन्न ठाउँमा पुगेको हो । कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहका अनुसार पहिले छिटपुट रुपमा देखिएका सलह उपयुक्त हावापानी नहुँदा मरिसकेका र केही दिन पानी नपर्दा फेरि ठूलो झुण्ड जिल्ला प्रवेश गरी बालीनालीमा क्षति पुर्याउन थालेको हो ।
अहिले जिल्लाका दुर्गाथलीको थली जिउला, छबिसपाथिभेरा खोरी, घट्टे, सुर्माको दौलीचौर लोमण्ड लगायतका ठाउँ, खप्तडछान्नाको पाटादेवल र जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा सलह देखापरेको किसानहरुले बताएका छन् । मंगलबार दुर्गाथली गाउँपालिकाको चौधारी तर्फबाट केदारस्युँ गाउँपालिकातर्फ लगातार दुई घण्टा बढी सलहको ठूलो झुण्ड उडेको दुर्गाथली ३ का चन्द्र रोकायाले जानकारी दिएका थिए ।
सलहले धान, मकै र तरकारीमा क्षति पुर्याउन शुरू गरेका छन् । जयपृथ्वी नगरपालिका-७ का किसान राजन भण्डारीका अनुसार हिजोदेखि आएको सलहको सानो झुण्डले मकै र धानखेती सखाप पार्न थालेको छ । विभिन्न बालीसम्बन्धी रोग र कोरोना महामारीबाट पिल्सिएका किसानहरु सलहले बालीनाली सखाप पार्न थालेपछि झन् चिन्तित भएका छन् ।
कृषि ज्ञान केन्द्र बझाङ्गका प्रमुखले अझै ठूलो झुण्ड जंगलतिर बसेको हुनसक्ने बताउनुभयाे । बझाङ्गमा डाँडाकाँडा बढी भएकाले उड्दै जाँदा डाँडा वरिपरि बस्दै सलहकाे झुण्ड टुक्रिएको हुन सक्ने उहाँकाे भनाइ छ । सलहले नेपालमा उपयुक्त वातावरण नपाउँदा र डाँडाकाँडाले गर्दा खासै क्षति पुर्याएको देखिदैन ।
सलह फट्याङ्ग्रा प्रजातीको फौजी किरा हो । यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउँछ भने भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जनासमेत गर्ने गरेको छ । वयस्क सलह लामो दुरी उड्न सक्छन् र यसको झुण्डले बसेको ठाउँमा भेटे जति सबै हरिया बोट बिरुवालाई सखाप बनाउँछ ।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालीमा अमेरिकी फौजी किरालेभन्दा बढी क्षति पुर्याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट ४५ वर्षअघि प्रकाशित तुलसी दिवसद्वारा सङ्कलित र सम्पादित 'नेपाली लोककथामा पनि सलहको प्रसङ्ग आएका दुईवटा कथाहरू छन् ।' उक्त पुस्तकमा समावेश बझाङ जिल्लाको एउटा कथा ‘हौसिया गुन्ट्र्या’ मा त्यसको पात्र गुन्ट्र्याले बझाङमा विसं १९८५ सालमा सलह आएपछि गीत नै बनाएको उल्लेख छ ।