पुष्पराज अधिकारी हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण निक्कै बढ्न थालेको छ । कोरोना हटस्पट रहेको प्रदेश २ को नजिकै रहेर पनि अघिल्लो सातासम्म समुदायस्तरमा नदेखिएको कोरोना अहिले भने जिल्लामा तीव्र गतिमा फैलिन थालेको छ ।
पछिल्लो चार दिनमा सदरमुकाम हेटौंडासहित मकवानपुरका गाउँपालिकामा गरी १६ जनामा संक्रमण पुष्टि भइसकेको छ । गत बुधबार हेटौँडाका ३ जना तथा मकवानपुरगढीमा एक संक्रमित देखिएका थिए । हिजो बिहीबार नै हेटौंडाका दुई जनामा संक्रमण भएको पाइएको छ भने शुक्रबारमात्रै ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
कोरोना समुदायमा फैलिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मातहत रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दुईवटा कमर्सियल बैंक रहेको हेटौंडा १० स्थित सीता भवन सिल गरेको छ । यसैगरी हेटौंडा १७ मा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत एक प्रहरीलाई कोरोना पुष्टि भएपछि प्रहरी चौकीलाई पनि सिल गरिएको छ । चौकीमा कार्यरत सात जनामध्ये एकमा संक्रमण पुष्टि भएपछि उनलाई कोरोना आइसोलेसन वार्डमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।
अन्य प्रहरीलाई समेत सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको उहाँँले जानकारी दिनुभयो । यस्तै हेटौंडाको संलुन, व्युटिपार्लर, क्लब, जीमहाउस र रेष्टुरेन्टहरु बन्द गर्ने निर्णय गरिएको छ । यद्यपी उक्त निर्णय कार्यान्वयनमा भने गराउन प्रशासन नै कमजोर देखिएको छ ।
आजमात्रै थपिए ६ जना संक्रमित
मकवानपुरमा शुक्रबार थप ६ जनामा कारोना पुष्टि भएको छ । हेटौंडा प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा कारोना पुष्टी भएको हो । कोरोना पुष्टी हुनेमा भीमफेदी–४ का ४० वर्षीय पुरुष, नेपाल प्रहरीका ४२ वर्षीय पुरुष, हेटौंडा–९ का ५८ वर्षीय पुरुष, हेटौंडा–६ का ३२ वर्षीय महिला, हेटौंडा–८ का ४० वर्षीय पुरुष र हेटौंडा–५ का ५५ वर्षीय पुरुष रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो । चौलागाइँका अनुसार कोरोना पुष्टि हुनेमा भीमफेदी–४ का ४० वर्षीय पुरुष सिमरा यात्रा गरेका रहेका छन् । नेपाल प्रहरीका ४२ वर्षीय पुरुष बाहिरी जिल्लाबाट आएका थिए । हेटौंडा–९ का ५८ वर्षीय पुरुष अन्यत्र भ्रमण नगरेपनि कोरोना पुष्टी भएको छ ।
हेटौंडा–६ का ३२ वर्षीय महिला गृहिणी रहेकी छन् । हेटौंडा–८ का ४० वर्षीय पुरुष मार्केटिङको काम गर्ने गरेका छन् । अन्यत्र भ्रमण नगरेका हेटौंडा–५ का ५५ वर्षीय पुरुषमा पनि कोरोना देखिएको चौलागाइँले जानकारी दिनुभयो ।
साउन ३२ गतेसम्म जिल्लाको नाका पूर्ण बन्द जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।
‘सरकारी तथा निजी कार्यालय एवं संघसंस्थामा कार्यरत रहेका कर्मचारीको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनलाई साउन ३२ गतेसम्म रोक लगाइने छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । बन्दाबन्दी अन्त्य भएपछि हेटौंडा बजार क्षेत्रमा मानिसको भिडभाड बढेको हुँदा बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षका न्यूनतम मापदण्डहरु पूरा भए नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्ने र न्यूनतम मादण्डहरु पालना नगर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय समेत बैठकले गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।