Logo आश्विन ९, २०७७ शुक्रबार


प्रहरीलाई देख्दा मास्क लगाउँछन् सर्वसाधारण

भगीरथ भण्डारी
इलाम । शनिबार बिहानको आठ बजेको छ । इलाम चोक बजारमा प्रहरीको ‘ड्युटी’ चलिरहेको छ । त्यहाँ बसेका प्रहरीमध्ये एकजनाको हातमा एउटा बिलबुक पनि छ । त्यसै समयमा अन्दाजी १७/१८ वर्ष उमेरका दुई जना किशोरी चोक बजारतिर आइरहेका छन् ।

किशोरीले हातमा सानो झोला पनि झुण्डाएका छन् । एक अर्कामा गफ गर्दे हिनिरहेका थिए । जब चोक आइपुग्न लागे तब दुवै जनाले गोजीमा हात लगाए । गोजीमा मास्क रहेछ । झिकेर लगाए । प्रहरीले पनि हेरिरहेको थिए । प्रहरीको नजिकैमा आएपछि एक प्रहरीले भने,‘हाम्रालागि होइन तपाइँको सुरक्षाका लागि हो मास्क । हामीलाई देख्दा मात्र नलगाउनुहोस् न ।’ किशोरीहरूले प्रहरीको कुरा सुनेर पनि नसुने झै गरेर बाटो काटे ।

चोक बजारमा फेरि मालापथ (बजार पूर्वी) लाइनबाट एकजना अन्दाजी ४० वर्षका पुरुष चोक बजारतिरै आइरहेका छन् । उनले पनि हातमा झोला झुण्डाएका छन् भने । मुख भने खुला नै छ । सबै प्रहरीको नजर उनको तिर परिसकेको छ । उनी चोकमा रहेको प्रहरी सूचना केन्द्र अगाडि आइपुग्छन् र प्रहरीसँग भेट हुन्छ । ‘दाइ एकछिन उभिनोस् त’ । हातको जरिवाना रसिद पल्टाउँदै प्रहरीले भने,‘तपाईले मास्क नलगाई हिड्नु भएको छ एकसय रुपैयाँ जरिवाना तिर्नुपर्छ ।’ प्रहरीले त्यति भन्दा नभन्दै एक हातले गोजी छाम्दै अर्को हातले (झोला बोकेको) मालापथ लाइनतर्फ देखाउँदै भने,‘उ त्यहीँ पुगेर आएको गोजिमा छ मास्क ।’ यति भनेर उनले गोजीबाट मास्क निकालेर कानमा झुण्डाउन थाले । ‘मान्छेलाई भनिकन नलाग्ने रहेछ हाम्रो लागि मास्क लगाउनु पर्ने जसो गर्छन्’ ड्युटीमा खटेका एक प्रहरीको मुखबाट आवाज निस्कियो । उसँगै ड्युटीमा खटेका अर्का प्रहरीले चोक बजारतिर इसारा गर्दै भने,‘उ ती दिदीलाई पनि हेर्नु न । हामीलाई देखेपछि मास्क निकाल्दैछिन् ।’ प्रहरीले भनेजस्तै चोकमै आइपुग्न लागेपछि प्रहरीलाई देखेर ती महिलाले मास्क लगाउन थालिन् ।

त्यति नै बेला पहिले बजार छिरेका किशोरीहरू हातमा तरकारीको झोला हल्लाउँदै फेरि चोक बजार निस्किए । अघि प्रहरीलाई देखेपछि लगाएको मास्क अहिले मुखमा देखिदैन । प्रहरीले किशोरीहरूलाई फेरि पनि देख्यो । प्रहरीले देखेपछि किशोरी झसङ्ग हुँदै झोलाबाट मास्क निकाल्छन् र मास्क लाएर सरासर हिड्छन् । यी घटना त प्रतिनिधि पात्र मात्र हुन् । बिहानको समयमा घरायसी सामान किन्नका लागि बजार आएकाहरूकाे चहलपहल बाक्लो छ । कोही मास्क लगाएरै हिडिरहेका छन् त कोही प्रहरीलाई देखेपछि मास्क लागाउने गर्छन् । बिहानको ‘ड्युटी’मा खटिएका ट्राफिक प्रहरी जवान यमुना पोख्रेल भन्नुहुन्छ, ‘पहिले त धेरैजसो मास्क बिनानै आउने गर्थे तर प्रहरीले कडाइका साथ जरिवाना काट्न थालेपछि त धेरै जसोले मास्क लगाएकै देखिन्छ ।’

पछिल्लो समय इलाममा कोरोना संक्रमणको संख्या बढेसँगै प्रहरीले मास्क लगाउन कडाइ गर्दापनि केहीले अटेर गरिरहेको इलाम चोकका असइ डिकसेर राईको भनाइ छ । मास्क नलगाइ हिड्नेलाई कारबाही स्वरुप एक सय रुपैया जरिवाना कटाउन थालेपछि अधिकांशले मास्क लगाउन थालेको असइ राइले बताउनुभयाे । प्रहरीले अहिलेसम्म ३५ जनालाई करबाही गरेर ३५ सय रुपैया जरिवाना उठाइसकेको छ । राई भन्नुहुन्छ,“अहिले त धेरै जसो मास्क लगाएरै हिड्छन्। यहाँ दुईचार जना छन् अलि अटेरी र भनिकन पनि लाग्दैन ।’

कोरोना संक्रमण फैलने त्रासले इलाम सदरमुकामका विभिन्न स्थानमा निषेधाज्ञा समेत गरेको छ । जिल्ला संकट व्यवस्थापन समिति इलामकोे बैठकबसी कन्ट्रयाक ट्रेसिङ्ग गरेर पीसीआरको रिपोर्ट नआएसम्मका लागि निषेधाज्ञा गरिएको छ । अहिले इलाम नगरपालिका वडा नं. ७ स्थित उत्तरतर्फ शसस्त्र प्रहरी बल क्याम्पदेखि नापी कार्यालय र मालपोत कार्यालयसम्म, दक्षिणतर्फ बाल मन्दिरसम्मको क्षेत्रमा निशेध गरेको इलाम नगरपालिकाले जनाएको छ ।

यस्तै,नवीन चोकदेखि पश्चिम पुरानो ग्रीनभ्यू गेष्ट हाउससम्म, अदालत जाने ठाडो बाटोदेखि पूर्वतर्फ अंकित मिष्ठान्न भण्डार हुँदै शिखर फोटो स्टुडियो आसपासका बजार क्षेत्रलाई जोखिम भएको क्षेत्र मानेर आवतजावतमा निषेध गरेको हो । उता सूर्योदय नगरपालिका लकडाउनमा गरिएको छ भने सूनपाको आईतबारेमा घरमा बसेका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पोजेटिभ भएसँगै बजार शिल गरिएको छ । त्यस्तै सन्दकपुर गाउँपालिका पनि लकडाउन गरिएको छ ।

इलाममा हालसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये इलाम नगरपालिकामा सबैभन्दा बढी ५६ जना संक्रमित छन् भने सूर्योदय नगरपालिकामा १४ जना, माइ नगपालिकामा ३, देउमाई नगरपालिका २ र रोङ गाउँपालिकामा १ मा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको सशस्त्र प्रहरी १ नं. गणका मात्रै ४६ जनामा कोरोना देखिएको छ । पछिल्ला दिनमा कोरोना संक्रमण बढेको पाइएको छ ।

केही दिनअघि हाइड्रोको अध्ययनका लागि आएको एक टोलीमा कोरोना देखिएपछि त्रास झनै बढेको छ । कोरोना जोखिम बढ्न नदिन सरोकारवाला निकायले पहल गरेपनि खासै प्रभावकारी देखिएको छैन । “हामीले प्रचारप्रसारदेखि कोरोना संक्रमणका काम समेत गरेका छौ तर संक्रमण बढिरहेको छ” स्वास्थ्य कार्यालय इलामका विमल बरालले भने,“त्रास धेरै बढेको छ । दिनैपिच्छे संक्रमित फेला पर्दा समस्या जटिल बन्दै गएको छ ।” पछिल्लो १५ दिनको समयमा मात्रै ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । सशस्त्रमा कोरोना संक्रमित देखिएपनि हालसम्म संक्रमति फैलिएको स्रोत फेला नपर्दा इलाममा अझै संक्रमण बढ्ने आशंका देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’