चितुवाको छालासहित ७ जना पक्राउ

भक्तपुर । चाँगुनारायण र सूर्यविनायकबाट प्रहरीले चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको हो ।
चाँगुनारायण–८ सुडालस्थित सुरेश कार्कीको घरमा प्रहरीले छापा मार्दा भाडामा बसेका चार जनालाई कालोमा खैरो र सेतो रङको पाटे चितुवाको सुक्खा छाला एक थान र चोरीको मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो। उनीहरुकै बयानअनुसार यसमा संलग्न थप तीन जना सूर्यविनायक–८ दार्जलिङ हाइटबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–५ स्थायी घर भई हाल चाँगुनारायण–८ सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा, २१ वर्षीय पासाङ तामाङ रहेका छन् । त्यसैगरी काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ दार्जलिङ हाइट बस्ने २२ वर्षीय सञ्जीव सिंजाली मगर, रोशी गापा–१० घर भई सूर्यविनायक बस्ने २४ वर्षीय दिपेश तामाङ र सोही ठाउँका २३ वर्षीय मिलन मगर रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट भक्तपुर नगरपालिका–९ का प्रजु सुवालको चोरी भएको बा ९० प ६५१० नम्बरको मोटरसाइकल बरामद गरेको छ । त्यस्तै विभिन्न कम्पनीका मोबाइल नौ थान, सवारी चालक अनुमतिपत्र दुई थान, विभिन्न मोटरसाइकलको नम्बर प्लेट चार थान, मोटरसाइकलको लक एक थान बरामद गरेको छ ।