अम्बिका खड्काकाठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७ सम्पन्न भएको छ । प्रतिष्ठानद्वारा आयोजित पुरस्कार वितरण, क्याटलग विमोचन तथा राष्ट्रिय ललितकला अनलाईन प्रदर्शनी कार्यक्रम काठमाडौंको नक्सालमा बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न विधाअन्तर्गत ३४ जनालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । अरनिको राष्ट्रिय सम्मान वरिष्ठ कलाकार शंकल नाथ रिमाल र वरिष्ठ कलाकार शन्त कुमार शाक्यले प्राप्त गर्नुभएको छ । ललितकला राष्ट्रिय लेखन पुरस्कार प्रा.डा लय मैनालीले पाउनुभएको छ भने ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार केशव राज खनालले प्राप्त गर्नुभएको छ । त्यसैगरी अन्य विभिन्न विधामा विभिन्न चित्रकार, कलाकार तथा मूर्तिकारले पुरस्कार पाउनुभएको छ ।
लकडाउन केही खुकुलो भएसँगै योजना बनाइएको भएपनि उपत्यकामा कोरोनाको जोखिम बढेपछि केही सिमितताका बाबजुत कार्यक्रम गरिएको आयोजकको भनाइ छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले परिस्थिति प्रतिकुल भएकाले विगतका वर्षमा झै तामझाम नगरि सिमित मानिसको उपस्थितिमा कार्यक्रम गरिएको बताउनुभएको छ । उहाँले यस वर्ष फरक शैली अपनाउँदै प्रविधिको प्रयोग गरेर अनलाइनमार्फत प्रदर्शनी गरिएको समेत जानकारी दिनुभएको छ ।
चित्रकला विभागीय प्रमुख प्राज्ञा सुस्मा राज भण्डारीले देशका कुनाकुनामा लुकेर रहेका कलालाई बाहिर ल्याउने र कलाकारलाई हौसला प्रदान गर्ने उद्देश्यले ललितकलाले प्रत्येक वर्ष पुरस्कार वितरण कार्यक्रम गर्ने गरेको बताउनुभएको छ । कार्यक्रममा ३४ जना कलाकारलाई पुरस्किृत गरिएको र अनलाईनमा ५२५ चित्रकला समावेश गरिएको प्रमुख भण्डारीले बताउनुभएको छ । उहाँले कोरोनाको जोखिमका बाबजुत कार्यक्रम गरिएको भएपनि आफूहरुले पूर्णरुपमा सरकारी मापदण्ड अपनाएकाे उहाँको दाबी छ ।
पुरस्कृत हुने कलाकार, चित्रकार तथा मूर्तिकारले पुरस्कारले आफ्नो कामप्रतिको जिम्मेवारी थप बढेको महशुस भएको बताउनुभएको छ । उहाँहरुले यस्तो विषम परिस्थितमा समेत प्रतिष्ठानले कार्यक्रम गरी आफूहरुको कामको सम्मान गरेको भन्दै प्रशंसा समेत गर्नुभएको छ ।आधुनिक चित्रकला पुरस्कार प्राप्त गर्नुहुने गणेश जि.सीले आफूले पुरस्कार प्राप्त गर्दा चित्रकला क्षेत्रप्रति आफ्नो जिम्मेवारी अझ बढेको महशुस भएको बताउनुभयाे ।
लोककलामार्फत यस वर्षसहित दुई पटक पुरस्कार प्राप्त गर्न सफल लक्ष्मण मण्डलले प्रतिष्ठानबाट आफूले पुरस्कार पाउँदा काम गर्न थप हौसला मिलेको बताउनुभएको छ । विगत ३० वर्षदेखि चित्रकलाकै क्षेत्रमा काम गरिरहेकाले पुरस्कार पाउँदा आफ्नो कामको सम्मान भएको उहाँको बुझाइ छ ।
प्रतिष्ठानले प्रत्येक वर्षको वैशाखमा सम्पन्न गर्ने कार्यक्रम कोरोना भाइरसको जोखिमका कारण यस वर्ष साउन अन्तिममा मात्र गरेको हो । यस वर्ष प्रदर्शनी भौतिक रुपमा नभएर अनलाईनमार्फत गरिएको छ । अनलाईनमा nationalfineartexhibitionnepal.comलगइन गरेर प्रदर्शनको अवलोकन गर्न सकिने आयोगकले जनाएको छ ।
विषम परिस्थितिमा समेत प्रतिष्ठानले सिमित मानिसको उपस्थिति र सरकारी मापदण्ड अनुरुप कार्यक्रम गरी कलाकारको कामको सम्मान गर्नु र मानिसको भौतिक उपस्थितिको जोखिमलाई मध्यनजर गर्दै प्रविधिको प्रयोग गरेर अनलाईनमार्फत प्रदर्शनीको आयोजना गर्नु उदाहरणीय कार्य भएको मानिएको छ ।
तस्बिर : शैलेन्द्र गोविन्द अमात्य