पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवताःअर्थात् जब पिता खुशी हुन्छन् तब सबै देवता खुशी हुन्छन्। त्यसैले त हाम्रो समाजमा ‘पितृ देवो भवः’ भन्ने गरिन्छ। पिता पनि देवता समान हुन् र उनको पनि पूजा गर्नुपर्छ, सम्मान गर्नुपर्छ अनि खुशी बनाउनुपर्छ।
संस्कृत शब्दको ‘मातृ’ शब्दबाट माता र ‘पितृ’ शब्दबाट पिता शब्द बनेको हो। पितालाई बुबा, बा, बाबा, ड्याडी, फादर आदि शब्दबाट पनि पुकारिन्छ भने मातालाई आमा, मम्मी, मदर, मा आदिजस्ता शब्दबाट पनि पुकारिन्छ। पिताबाट नै हरेक व्यक्तिको नाम र पहिचानले पूर्णता पाउँछ। संसारकै अनमोल रत्न, पिताको आशीर्वाद नै विश्वको सबैभन्दा ठूलो सफलता प्राप्त गर्ने एउटा आधार बन्छ।
एउटा सन्तानको जीवनमा दुवै माता पिताको योगदान हुन्छ। आमाले ९ महिना गर्भमा बोक्छिन् अनि त्यही बच्चाको उज्ज्वल भविष्य कसरी निर्माण गर्ने भनेर पिताले प्रत्येक पल नयाँनयाँ कल्पना गर्छन्। आमाले सारा संसार देखाउँछिन्, हुर्काउँछिन् अनि रुँदा आँसु पुछिदिन्छिन्। बुबाले संसार चिन्न सिकाउँछन्, ज्ञान दिन्छन् र सन्तानका हरेक पीडा बुझिदिन्छन्। आमा त घरकी गौरव हुन् जसको साथमा अश्रुधारा हुन्छ अनि पिता घरको अस्तित्व हुन् जसको साथमा सदा संयम हुन्छ। आमाले घरमा साँझ बिहान खाना त बनाउँछिन् तर जीवनभरी त्यही खानाको व्यवस्था गर्ने तिनै पितालाई किन भुलिदिन्छौँ हामी ? सन्तानको साहस, इज्जत, तागत अनि पहिचान नै पिता हुन्। घर बनाउँदा प्रयोग भएका एक एक इँटामा उनको रगत र पसिना बगेको छ। त्यसैले त परिवारको शान हुन् पिता। जीवनमा कहिल्यै कतै ठोक्केर शरीरमा सानो चोट लाग्दा होस् या सानो सानो सङ्कटमा मुखबाट ‘आमा’ शब्द निस्किन्छ अनि आमालाई सम्झिन्छौं तर जब जीवनमा ठूलो समस्या वा सङ्कट आइपर्छ तब हाम्रो त्यही मुखबाट ‘बुबा’ शब्द निस्किन्छ अनि बुबालाई सम्झिन्छौँ। हाम्रो समाजमा त केवल आमालाई मात्र सन्तानको हेरचाह गर्ने काममा प्राथमिकता दिने गरिन्छ। तर यो समाजले जसरी आमालाई जुन दृष्टिकोणले हेर्यो त्यो दृष्टिकोणले बुबालाई कहिल्यै हेर्ने कोसिस् गरेन। हरेक मानिसको मुखमा आमा शब्द मात्र झुन्डिएको हुन्छ। यो त सामान्य हो किनकी जन्मने बित्तिकै बच्चा आमाकै वक्षस्थलबाट निस्केको दूध चुस्न थाल्छ अनि आमाकै छातीमा टाँसिएर निदाउँछ । त्यसैले आमासँग बढी सामिप्यता हुन्छ।
घरमा ठुस्स परेर बस्दा हामीलाई कसैले पिट्यो कि ? कसैले गाली गर्यो की ? स्कूलमा तथा कलेजमा साथीभाइले केही नराम्रो भने कि ? कपडा कसैले च्यातिदियो कि? भोकै छौ कि ? केही खायौ कि खाएनौ ? सुत्यौ कि सुतेनौ ? स्कुल, कलेज वा अफिसबाट घर फर्किन अलिकति ढिला हुँदा बारम्बार फोन गरेर किन ढिला भयो आज ? कता हो ? कति समय लाग्छ घर आउन ? बाटोमा केही समस्या पर्यो कि ? आदि इत्यादि प्रश्न सोध्ने, खाना खान समेत कुरेर बस्ने को ? सामान्य रूपमा हेर्दा यी प्रश्नहरू फिका लाग्न सक्छन् सबैलाई तर एक असल, जिम्मेवार र चेतनशील प्राणीको हैसियतले सोच्दा हाम्रो आँखामा आँसु आउन सक्छ किनकि यो सबै ममताकी खानी आमाको सेवा र बुबाको त्याग हो। यी सबै प्रश्न सोध्ने तिनै आमाबुबा हुन् जसले आफ्नो सम्पूर्ण जीवन आफ्ना सन्तानप्रति समर्पित गरेका हुन्छन्। तर अहिलेका सन्तानले आफ्ना आमाबुबाप्रति गर्ने व्यवहार बदलिएको छ। आमाबुबाको यस्ता प्रश्न सोधेको देख्दा उनीहरू दिक्क मान्छन्। साथी या प्रेमी र प्रेमिकाको फोन आउँदा घण्टौ फोनमा झुण्डिने तिनै सन्तान आफ्ना आमाबुबाको फोन आउँदा एक मिनेट पनि बोल्न मन गर्दैनन्। कस्तो अचम्म छ है ? पराई आफ्ना अनि आफ्ना पराई हुन थालेका छन् सन्तानका लागि तर आमाबुबाको मन कहिल्यै बदलिन सकेन। आमाबुबाको मन छोराछोरीमाथि अनि छोराछोरीको मन ढुङ्गामाथि भनेझैँ आजकल छोराछोरीले आफ्नै जन्मदिने आमाबुबाको त्यति धेरै वास्ता गरेको देखिदैन ।
हाम्रो समाजमा पितालाई त केवल सन्तानको सुरक्षा, सहायता गर्ने र सम्पूर्ण जिम्मेवारी निभाउने व्यक्तिको रूपमा लिइन्छ। सन्तानका लागि पिता नै सर्वोत्तम व्यक्ति हुन्। पिता भनेका त एक ठूला वृक्ष हुन् जसको शितल छायामा सम्पूर्ण परिवार सुखले रहन्छ। पिता भनेका त ठूला छाता हुन् जसले पानी पर्दा एउटै छाता मूनि सम्पूर्ण परिवारलाई ओत लाग्ने ठाउँ दिन्छन्। पिता त यस्ता व्यक्ति हुन् जसले आफ्ना सन्तानलाई आफूजस्तै सर्वोत्तम मानिस बनाइदिन्छन् जो कसैलाई कसैले अरूलाई बनाउँदैन। सधैँ सन्तानका दुःख सुखमा साथ दिने तिनै पितालाई बुढेसकालमा सन्तानको छहारीको आवश्यकता पर्छ अनि बस् केवल उनीहरूको मुहारमा हाँसो अनि मनमा सन्तोषले ठाउँ खोजिरहेको हुन्छ। सन्तानका लागि एकदम नजिकको साथी नै उसको पिता हुन्छन्। उनीहरू त वास्तवमा भगवानको एक सर्वोत्तम आशिष तथा वरदान हुन्। त्यसैले त पिता सबै सन्तानका लागि अत्यन्त प्यारो हुन्छन्। हरेक दिन उत्कृष्ट चीज दिने र नयाँ ज्ञान सिकाउने पनि तिनै पिता हुन्।
पिता त हरेक सन्तानको जीवनमा एउटा धन्यवादको पात्र बनेका छन्, जसले दिनहुँ माया र हेरचाहमा आफ्नो जीवन व्यतीत गरेका हुन्छन्। पितालाई ‘प्रत्यक्षः विघ्नहर्ता’ पनि भनिन्छ। उनीहरूले जीवनमा उत्पन्न हरेक कठिन परिस्थिति, दुःख , कष्ट आदि हटाइदिने गर्छन्। आफू मरेर भए पनि सन्तानलाई बचाउँन ठूलो भूमिका निर्वाह गर्ने पनि तिनै पिता हुन्। आफू नसुतेर आफ्ना सन्तानलाई सुताउने अनि आफू आँसु खसालेर सन्तानलाई हँसाउने तिनै त हुन् देवता समान पिता जसको छायामा या न्यानो अँगालोमा सबै सन्तान रमाउँछन्। हो, पिता त पूजनीय छन्। घरमा दुई छाक टार्न हम्मेहम्मे परेको अवस्थामा सन्तानले बाबा ! आज त केही मिठो खाने कुरा खाऔं न’ भन्दै रुँदै गर्दा आफ्नो कोठामा गएर आफ्ना सन्तानका मिठो खाने रहर, इच्छा, चाहना पूरा गर्न नसकेको कुरालाई मनमा लिन्छन् अनि टिलपिल टिलपिल आँसु झार्दै भोलिको छाक कसरी टार्ने भन्ने कुरामा चिन्तित हुँदै सोच्न थाल्छन्। स्कूल जाँदा होस् या बाटोमा हिँड्दा हिँड्दै होस् लगाएको त्यो चप्पल चुडिँदा एकछिन् त गाली गर्छन् अस्ति भर्खर किनेको चप्पल दुई चार दिन नभई यस्तो भयो भन्दै एकछिन् बर्बराउँछन्। तैपनि फेरि तिनै सन्तानलाई आफ्नो काँधमा बोक्ने पनि तिनै पिता हुन्। सन्तानका लागि कहिल्यै घोडा त कहिल्यै अन्य केही खेल्ने साधन पनि बनिदिन्छन् पिता।
साँच्चै ‘पिता’ शब्द नै सुन्दा एक किसिमको छुट्टै महसुस हुन्छ जसरी ‘आमा’ शब्द सुन्दा हुन्छ। सधैँ उनकै काखमा रमाइरहन मन लाग्छ। जतिसुकै गाली गरेपनि पिता बिना त सन्तानको जीवन एकदम शून्य हुन्छ। सधैँभरि केही न केही नभएको महसुस हुन्छ। सबै कुराहरू हुँदाहुँदै पनि यदि जीवनमा पिता छैनन् भने सधैँ जीवन अँध्यारो हुने गर्दछ। सामान्य बिरामी हुँदा आफू रातदिन नसुतेर आफ्ना सन्तानको हेरचाहमा खटिने पनि तिनै पिता हुन्। चाडपर्वमा अरूले लगाएको नयाँ लुगा देखेर पितालाई त्यस्तै किनिदिन भनेर रुँदै जिद्दी गर्ने ती सन्तानलाई आफ्नो रित्तो गोजी छाम्दै त्यही स्कूलको ड्रेस लगा भन्ने पनि तिनै पिता हुन्। आफ्ना सन्तानका हरेक रहर इच्छा, चाहना पूरा गर्न आफ्नो ज्यानको वलि दिन समेत तयार हुने तिनै बहादुर पिता हुन्। सन्तानले गल्ती गर्दा जोसुकैसँग पनि माफी माग्न कहिल्यै न हिच्किचाउने पनि तिनै महान् पिता हुन्। आफ्ना सन्तानको पढाइका लागि बैंकसँग होस् या अरू कुनै मान्छेसँग लागेको ऋणसँग पनि जुध्न नडराउने व्यक्तित्व तिनै पिता हुन्।
आफ्ना सन्तानलाई असल बनाउन आफ्नो जीन्दगीलाई जोखिममा मोल्न सक्ने साहसी व्यक्ति पनि तिनै असल पिता हुन्। खेल्दा खेल्दै सानो चोट लाग्दा पनि रातभरि ननिदाउने तिनै पिता हुन्। पिता त सन्तानका लागि एक आदर्श, पथ प्रदर्शक, प्रगतिको विषेश कारक, हौसलाको अभिन्न स्रोत अनि एक असल मित्र पनि हुन्। सन्तानको इज्जत, मान, प्रतिष्ठा हुन् पिता। सन्तानलाई हरेक क्षण हिम्मत दिने एक अभिमान अनि सम्पूर्ण परिवारको धड्कन हुन् पिता। आमाको ममताबाट हुर्किएको बालक बुबाले गरेको एक एक सङ्घर्ष हेर्दै जीवनमा अघि बढ्छ। जीवनमा पिता एक अमूल्य व्यक्ति हुन् जसलाई जीवनमा जतिसुकै बढी पैसा कमाएपनि उक्त पैसाले सबैथोक किन्न त सकिन्छ तर आफूलाई जन्मदिने आमाबुबा संसारको कुनै पनि कुनामा गएर किन्न सकिन्न। त्यसैले समयमै आफ्ना आमाबुबालाई आदर, सम्मान र आफ्नो साथ दिनुपर्छ नत्र पछि जब आमाबुबा आफूसँग हुँदैनन् तब पश्चाताप बाहेक अरू केही गर्न मिल्दैन।
जीवनमा आफू बाँचुन्जेलसम्म हरेक पिताले आफ्ना सन्तानका लागि धेरै योगदान दिएका हुन्छन्। दुनियाँका सबै बैंक खाली भए पनि सन्तानका लागि पिताको गोजी सधैँ भरी नै हुन्छ जहाँ आवश्यकता भन्दा पहिले इच्छा पूर्ति हुने गर्छ। एक सन्तानका लागि पिताको स्थान सबैभन्दा महत्त्वपूर्ण र शीर्ष स्थानमा हुन्छ। आदर्श सन्तान बनाउने पिताको सङ्घर्ष एक विशाल तपस्या हो। सन्तानको पालन पोषण, नैतिक मूल्य, मान्यता, अनुशासन, शिष्टाचार र संस्कार सिकाउने प्रथम गुरु नै पिता हुन्, जो सर्वश्रेष्ठ छन्।
समुन्द्रभन्दा विशाल र आकाशभन्दा व्यापक पितालाई ब्रम्हाण्डसँग पनि तुलना गर्न मिल्दैन। कसैको डर, धम्कि वा कुनै असहज परिस्थितिमा पनि पिताको अङ्कमालमा पुग्नासाथ हामीजस्ता सन्तान आफैलाई एकदम सुरक्षित पाउँछौं।‘न तो धर्माचरणं किञ्चिदस्ति महत्तरम्। यथा पितरि सुश्रूषा तस्य वा वचनक्रिपा।।’अर्थात् पिताको सेवा गर्नु र उनको आज्ञा पालन गर्नुजस्तो ठूलो अरू कुनै धर्माचरण छैन। त्यसैले सधैँ पिताको आज्ञाको पालन गर्नुपर्छ किनकि धर्तीमा भगवानको जिउँदो रूप मानिने मातापिताको ऋण संसारकै सबैभन्दा ठूलो ऋण हो, जसलाई सन्तानले कुनै मूल्यले पनि चुकाउन सक्दैन।
आफ्ना आँसुबाट पनि मुस्कानको भण्डार निकाल्ने अद्भुत क्षमताका भएका हरेक पिताले आफ्ना सन्तानलाई उनीहरूको जिम्मेवारी के हो भन्दै बोध गराउने गर्छन् अनि एक असल र जिम्मेवार व्यक्ति बनाउन ठूलो अपरिहार्य भूमिका खेलेका हुन्छन्। दुःखको समयमा आमा र सन्तान दुवै रुँदा, अवरुद्ध भएको गला सम्हाल्दै आँखाको डिलमा छचल्किएका आँसु थाम्दै दुवैलाई सम्हाल्ने पनि तिनै पिता हुन्। पिता तिनै हुन् जसले आफ्नो सन्तानलाई सिकाउन, व्यवहारिक बनाउन र उनीहरुलाई अनुशासनमा राख्न कोमल मनलाई पनि कठोर बनाएर धैर्यताको साथ जीवनमा पटक पटक अभिनय गर्ने गर्छन्। उनीहरूले आफ्नो कठोरता सधैँ प्रदर्शन गर्छन् तर यसको मतलब यो होइन कि उनीहरूको मन दुख्दैन, उनीहरू रुदैँनन्, उनीहरू हाँस्दैनन्। सन्तानको खुसीमा सामेल हुने पिताको हाँसो खुलस्त नदेखिएला तर उनले हाँस्न दिएको स्वतन्त्रताको मोल सन्तानले राम्ररी बुझ्न सक्नुपर्छ। सन्तानको दुःख बुझ्ने पिताले सन्तानको सुख कसरी नबुझ्लान् र ? तर आफ्ना सन्तानको खुसीको लागि आफ्नो सुख भुल्ने पिताको लागि किन सन्तानले केही गर्न सक्दैनन् ? उनले गरेका हरेक दुःख कसरी सजिलै बिर्सिन्छन् ? जसले जीवन जिउन सिकाउँछन्, राम्रो-नराम्रो के हो छुट्टयाउन सिकाउँछन्, हरपल हरघडी साथ दिन्छन् । उनकै आशिषले सन्तानको जीवन सफल र सुखदायी बन्छ।
आजको यो बदलिँदो समाजमा उपभोक्तावादी अवधारणाले जरा गाडेको छ। सानो हुँदा सन्तानको खुट्टामा ठेस लाग्दा मुटु चसक्क भएको महसुस गर्ने पिता आज तिनै सन्तानको हेय भावको सिकार बन्न पुगेका छन्। पिताका हरेक अप्ठेरा, दुःख, कष्ट र पीडामा सन्तानले मलम लगाउन सकेका छैनन्। अझ भनौँ भने आजको उपभोक्तावादी समाजमा आफ्नै सन्तानले पैतृक सम्पत्तिको लोभमा पिताको हत्या समेत गर्ने गरेको पाइन्छ। कठै ! मेरो समाज अनि यहाँका उपभोक्तावादी सोच भएका मान्छेहरू। जसले जीवनभर आफ्नो रगत, पसिना केवल आफ्ना सन्तानका लागि बगाए तिनैलाई त्यसरी निर्मम तरिकाले मारिन्छ यहाँ। सानोमा काखमा खेलाउँदा खेलाउँदै काखमै दिसा पिसाब गर्दा केही फोहोर नमानी, घिन नमानी सफा गरिदिने तिनै आमाबुबालाई जब आफ्ना सन्तानको एकदम आवश्यकता पर्दछ तब उनीहरुलाई वृद्धाश्रम लिएर छोड्ने ती सन्तान कस्ता ? हो, अनि तिनै त्यस्ता सन्तानले खोक्रो पन देखाउँछन्। अनि मातातीर्थ औँसी या भनौँ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारी विभिन्न वादविवाद प्रतियोगिता, वक्तृत्वकला जस्ता कार्यक्रम सञ्चालन गर्छन् अनि स्टेजमा गएर खोक्रो भाषण दिन पनि पछि हट्दैनन् जसले आफ्नै आमाबुबालाई घरबाट निकालेर वृद्धाश्रम लागेर छोडेका हुन्छन्। पिताले आफूले दुःख गरेर हुर्काएका सन्तानको आफूप्रति गर्ने सम्मानका लागि वर्षमा एकदिन मात्र कुरेर बस्नुपर्ने ? आखिर कस्तो विडम्वना हो यो ? सम्मान गर्न केवल एक दिन कुरेर बस्ने ति कस्ता सन्तान हुन् ?
म त भन्छु यदि बुबाको महत्त्व बुझ्दैनौं भने एकपटक बुबा नभएकाहरुसँग सोध। अनि मात्र थाहा पाउँनेछौ आखिरमा पिता को हुन् र किन सबै सन्तानका लागि या सिङ्गै परिवारका लागि महत्त्वपूर्ण हुन्छन्। जब हिँड्न आउँदैनथ्यो तब ताते ताते गर्दै हातका औँला समातेर हिँड्न सिकाउने तिनै आमाबुबालाई बुढेसकालको एउटै साहरा लौरी बन्न नसक्ने ती कस्ता सन्तान हुन् ? बदलिँदो समयसँगै भावनात्मक सम्बन्ध पनि देखावटी बन्न थालेको छ आजकल । सामाजिक सञ्जालको लतमा फसेका आजका सन्तान आमाबुबाको सम्मान भन्दापनि सामाजिक सञ्जालमा सबैभन्दा धेरै लाइक र कमेन्टको अपेक्षासहित प्रतिस्पर्धामा उत्रिनका लागि मात्र सम्मान गर्ने गर्दछन्। एक आदर्श सन्तानका लागि बुबाको मुख हेर्ने दिनमात्र होइन, बुबाको लागि त प्रत्येक दिन सम्मानका लागि हुनुपर्छ। चाडपर्वको विषेश महत्त्व त छुट्टै छ तर आत्मीय भावना चाडपर्वमा एक र अरू ३६४ दिन कदापि पनि फरक हुनुहुँदैन। हामीले आफै कल्पना गरौँ न, बुबाले आफ्ना सन्तानका लागि गरेको हरेक त्याग, बलिदान, तपस्या र सङ्घर्ष केवल एक दिनको सम्मान र एक सेल्फिले या अन्य तस्बिरले पूरा होला त ? के साँच्चै जीवनभर गरेको दुःख अन्त्यमा वृद्धाश्रममा जानलाई हो त ?
बुबालाई खुसी बनाउनलाई त धेरै सम्मान गर्नै पर्दैन । बस् केवल एकछिन् सँगै बसेर कुरा गरिदिए हुन्छ, सञ्चाे बिसञ्चाे के छ ? भन्दै हालखबर सोधिदिए पुग्छ, केहिबेर दुःख सुखका कुरा गरिदिए पुग्छ। घरभन्दा बाहिरै भएपनि केही मिनेट फोनमा कुराकानी गरिदिए पुग्छ, यो भन्दा ठूलो सम्मान उहाँको लागि केही पनि हुँदैन। कहीँकतै जानी नजानी पिताको मन दुखाएको भए पनि हाम्रो सामीप्यता र सौहार्दपूर्ण सम्बन्धले हामीहरूबीचको तिक्तता पनि हराएर जान्छ। त्यसैले त भगवानरूपी मातापिताको मन कहिल्यै दुखाउन हुँदैन। आफूले गरेका हरेक गल्तीको क्षमा माग्नुपर्छ अनि उहाँहरुको जीवनभरी आफूले सक्नेजति सेवा गरेर खुशी बनाई सुख दिनुपर्छ। तब मात्र हामी आफ्नो अस्तित्व प्राप्तिमा सधैँ सफल हुन्छौँ। आज फेसबुक लगायत अन्य सामाजिक सञ्जाल बुबाको तस्बिरले रङ्गिएला तर म तपाईंलाई प्रश्न गर्न चाहन्छु के हजुरहरुको मन बुबाको मायाले रङ्गिएको छ त ? के हजुरहरूले आज गर्ने सम्मान बुबालाई प्रत्येक दिन दिनुभएको छ त ? आफ्ना बुबालाई एकदिन देखावटी माया गर्दैमा यदि आफूलाई असल सन्तान सम्झनुहुन्छ भने त्यो तपाईँको मूर्खता हो। आफ्ना बुबालाई एकदिन मात्र हैन, सधैँभरि माया गर्नुहोस्।
संस्कृतमा एउटा श्लोक छ–पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवताःअर्थात् जब पिता खुशी हुन्छन् तब सबै देवता खुशी हुन्छन्। त्यसैले त हाम्रो समाजमा ‘पितृ देवो भवः’ भन्ने गरिन्छ। पिता पनि देवता समनज हुन् र उनको पनि पूजा गर्नुपर्छ, सम्मान गर्नुपर्छ अनि खुशी बनाउनुपर्छ।
आमाको माया अनि बुबाको आशिष साँच्चै भन्ने हो भने मन्दिरको प्रसादभन्दा ठूलो हुन्छ। त्यै पनि हाम्रो यो समाजमा आमाबुबालाई वृद्धाश्रम राखेर मन्दिरमा भगवान् पुज्नेको कमी छैन। जसरी हामीलाई बाल्यकालमा आमाबुबाको जति आवश्यकता वा जरूरत थियो, त्यति नै हाम्रा आमाबुबालाई बुढेसकालमा हाम्रो जरूरत हुन्छ। त्यसैले आमाबुबा दुवैलाई सम्मान गर, इज्जत गर, प्रेम गर, माया गर किनभने उनीहरूकै आशिषले हरेक सन्तानको जीवन सुखदायी बन्छ। पितालाई पनि आमा जत्तिकै माया गर्नुपर्छ। जीवनमा सन्तानले जे जे प्राप्त गर्छन् त्यो सबै पिताको कारणले पाउँछन्।
अतः पितृ देवो भवः भन्दै सम्पूर्ण अदारणीय तथा पूजनीय पिताहरूमा मेरो हार्दिक नमन साथै आज पर्न गएको कुशे औँसीको हार्दिक मङ्गलमय शुभकामना।