काठमाडाैं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यका सुनसान देखिएको छ । निषेधाज्ञापछि अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा आउन सकेनन् ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेपछि काठमाडौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञापछि उपत्यका बासीको जनजीवन प्रभावित भएको छ । कडाइका साथ निषेधाज्ञा पालन गर्न/गराउन उपत्यकाका चोक चोकमा सुरक्षाकर्मी परिचालन भएका थिए ।
निषेधाज्ञापछि दैनिक रुपमा जाम हुने उपत्यकाका मुख्य चोकहरु नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, जडीबुटी, सातोदोबाटो, एकान्तकुना, बल्खु, कंलकी, त्रिपुरेश्वर, रत्नपार्क, सिंहदरबार, माइतीघर, थापाथली सुनसान देखिए । त्यस्तै काठमाडौं उपत्यकामा प्रवेश गर्ने मुख्य नाका नागढुङा, कंलकी, कोटेश्वर, जडीबुटी र बल्खुमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका साथ चेकजाँच भइरहेको थियो ।निशेधाज्ञाका कारण औषधि पसल, खाधान्न लगायतका अति अत्यावश्यक सेवाका पसलहरु खुले भने बाँकी सबै बन्द भए । निषेधाज्ञा उल्लंघन गरेर निस्केका सवारीसाधनलाई ट्राफिक प्रहरीले ठाउँ ठाउँबाट नियन्त्रणमा लिएका थिए । पैदल हिँड्नेहरु पनि प्रहरी कारबाहीमा परेका थिए । प्रहरीले अनावश्यकरुपमा हिंडडुल नगर्न सर्वसाधारणलाई सचेत पनि गराएको थियो । निषेधाज्ञाको अवज्ञा गरेका सवारी साधन र मानिसहरुलाई होल्डिङ सेन्टरमा राखेर सुझाएको सडकमा उपस्थित सुरक्षाकर्मीले जनाएका छन् ।
हाल जारीसूचना अनुसार उपत्यकामा लागु गरिएको निषेधाज्ञा भदौ १० मध्यरातसम्म कायम रहने छ । यस अघि सरकारले कोरोना रोकथाम तथा नियन्त्रण हेतु २०७६ चैत ११ गतेदेखि देशभर केही महिना पूर्ण र केही समय आंशिक लकडाउन गरेको थियो ।