काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पार्नुभएको छ । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने बताउनुभएको हो ।
सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्वार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने । त्यसका लागि नियमित उडानहरु भदौ १६ बाट नियमित उडान खोल्ने तयारी भएको छ । पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ । र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ ।’
पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उहाँले बताउनुभयो । पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने उहाँको भनाइ छ । अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उहाँले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सात रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ । यदि एक कोठामा २ जना बस्ने हो भने । सिंगल बस्ने हो भने १७ हजार ५ सय हुन्छ । दिनको १५ सयको हाराहारीमा हुन्छ । होटलहरु स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्छ, गेट र कम्पाउण्ड भएको होटल, खुला ठाउँ भएको, सफा भएको, कोठामा टिभी र वाईफाई हुनुपर्छ । एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्छ । तातोपानी पिउने व्यवस्था गर्नुपर्छ । ४ पटक खाजा र खाना दिनुपर्छ । त्यो भन्दा महंगोमा बस्छौं भन्नेका लागि दुई हजार पाच सय र ४ हजार भन्दा बढीका होटलहरु प्नि छन् ।’
विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्वार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्छेहरुले भन्छन् सरकारले खर्च व्यहोर्नुपर्छ भनेर हो सरकारले व्यहोर्ने हो । तर कसका लागि भन्दा सक्दै नसक्नेका लागि । विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरुलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छ । यहाँ आएर होटल क्वारेन्टिनको विषय पनि सरकारले व्यहोर्छ र पीसीआर खर्च पनि सरकारले व्यहोर्छ । त्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको कुटनीति नियोगसँग समन्वय गरेर लिष्ट फाइनल गर्छ । त्यस्तै कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उहाँहरुले टिकट पनि काट्नुपर्छ । कम्पनीले नै क्वारेन्टिन बस्दा लाग्ने खर्च व्यहोर्नुपर्छ । पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार पनि उद्वार गर्छ ।’
पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी र विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने उहाँले बताउनुभयो । परिस्थिति अनुकुल भएपछि यसभन्दा अघि नियमति उडान गरिरहेका सबै देशहरुको समेत नियमित उडान शुरु हुने उहाँले बताउनुभयो ।