काठमाडाैं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा तीन हजार आइसोलेसन बेड तयार गर्ने भएको छ ।नेपाल सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितको उपस्थितिमा काठमाडौंमा भएको छलफल पश्चात यस्ताे निर्णय भएकाे हो।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको उपस्थितिमा भएको छलफलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवश्यक सुविधा र स्थानको छनाेट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको बताइएकाे छ।
छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरी कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सांसद अध्यक्ष कृष्ण राई, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इञ्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेश सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारीसमेत दिइसकिएकाे स्राेतले बताएकाे छ ।
छलफलमा बागमती प्रदेश सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रमा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलव्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आग्रह गर्दै मुख्यमन्त्री पौडेलले क्षमता र सुविधा विस्तारका लागि स्थानीय तहमा सञ्चालित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको जानकारी दिनुभयाे ।
बागमती प्रदेशका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा त्यसमा कठिनाइ देखिएसँगै बागमती प्रदेश सरकारले तिनै तहका सरकारसँगको सहकार्यमा संक्रमितलाई व्यवस्थापन गर्नका लागि आयोजना गरिएको छलफलमा स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने प्रतिवादत्ता ब्यक्त गरेका छन् ।
छलफलमा आफ्ना धारणा राख्दै त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले बागमती प्रदेश सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रका लागि त्रिभुवन विश्वविद्यालयका भवन तथा स्थान उपलव्ध गराउने बताउनुभएकाे छ ।त्यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एकीकृत स्थानमा केन्द्र निर्माणमा जोड दिदै उपत्यका नगरपालिका फोरमबाट पूर्ण सहयोग हुने प्रतिवदत्ता ब्यक्त गर्नुभएकाे छ।
लकडाउनमा प्रदेश सभा निर्वाचन क्षेत्रमा अनुगमन तथा सहयोगका लागि प्रदेश सभा सदस्यको नेतृत्वमा अनुगमन समिति निर्माण गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा संक्रमणको अवस्था निकै बढेको अवश्थामा रोकथाम र नियन्त्रणका लागि देखाएको तदारुकता र सक्रियतामा सहयोग रहने बताउँएका थिए । छलफलका सहभागीहरूले संक्रमण पहिचान र परीक्षण स्थानीय तह, आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालन प्रदेश सरकार र सघन उपचारसहित आवश्यक प्राविधिक सहयोग संघीय सरकारले गर्नेगरी संयन्त्र निर्माण गर्नका लागि सुझाव दिएका थिए।
छलफल कार्यक्रममा नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, नेकपा काठमाडौं अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौला, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यंजनकार, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य व्यवसायी परिषदका रजिस्टार पुष्प खनाल, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल लगायतको उपस्थिति रहेको थियो।