भीम चौधरीकैलाली । सुदूरपश्चिममा थप ३६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशको तीन वटा प्रयोगशालामा नौ सय २१ जनाको परीक्षणमा प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा चार सय ९२ जनाको परीक्षणमा कैलालीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका नौ र धनगढीका तीन जनामा संक्रमण देखिएको हो । धनगढी उप–महानगरपालिकाका पाँच वर्षीया बालिका सहित २९ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्डका अनुसार गोदावरी नगरपालिका–३ का दुई वर्षीया बालिका सहित २२ र ३६ वर्षीया महिला तथा दुई जना चार वर्षीय बालक सहित ३० र २३, १५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
डडेल्धुरा प्रयोगशालामा तीन सय ४८ जनाको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बैतडीको दशरथचन्द नगरपालिकाका आठ जना, शिवनाथका पाँच, मेलौलीका तीन र डिलासैनीका एक जनामा संक्रमण पुष्टि भएको छ । भूषालका अनुसारडोटीको जोरायलका एक र बझाङको जयपृथ्वी नगरपालिकाका एक जनामा समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै, डोडी अस्पतालको प्रयोगशालामा ८१ जनाको परीक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका सबै डोटीका हुन् । जिल्लाको शिखर नगरपालिका वडा नम्वर ४ का चार जना र वडा नम्वर ३ का एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताउनुभयो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय ४६ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये चार हजार सात सय ७५ ले कोरोना जितेर घर फर्किएको बताईएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ११ जनाको ज्यान गइसकेको छ ।