काेराेना परीक्षणका लागि सञ्चारकर्मीकाे स्वाब संकलन

काठमाडौं । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको शुक्रबार पीसीआर परीक्षणका लाग स्वाब संकलन गरिएको हो ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई कोरोना संक्रमण देखिन थालेपछि उपत्यकामा करिब दुई सय जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीहरुमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि शुक्रबार समन्वय गरेको हो ।
देशभर पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मीहरु पनि जोखिममा रहेपछि उपत्यकामा दुई सय जनाको परीक्षण गरिएको बताइएको छ । उपत्यका लगायत देशका विभिन्न ठाउँमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो दरमा रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशभरी कोरोनाबाट १ सय ८३ जनाको मृत्यु भएको छ । ३५ हजार ५ सय २९ जना संक्रमित रहेकोमा २० हजार ७३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अझै १५ हजार २ सय ७३ सक्रिय संक्रमित उपचाररत छन् ।