अम्बिका खड्काकाठमाडौं । कुनै पनि सजिव प्राणीलाई आपतकालिन अवस्थाको अन्तिम चरणमा सबैभन्दा बढी माया आफ्नै लाग्छ भन्ने तथ्य विज्ञानले पनि प्रमाणित गरिसकेको विषय हो । तर प्रत्येक साँझ काठमाडौंको पुरानो बसपार्क भित्रको एउटा दृष्यलाई नियाल्ने हो भने विज्ञानले प्रमाणित गरेको सत्यमाथि नै शंका लाग्छ ।हाल विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ । यसबाट अछुतो नेपाल पनि बन्न सकेको छैन । कोरोना संक्रमणबाट विश्वमा हालसम्म करिब साढे ८ लाख मानिसको मृत्यु हुँदा नेपालमा पनि दुई सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमण नियन्त्रणका लागि हाल नेपालमा निषेधाज्ञा जारी गरिएको छ । मानिसहरू रोगबाट बच्न निषेधाज्ञाको राम्रोसँग पालना पनि गरिरहेकै छन् ।तर लकडाउन जारी भएदेखि नै एउटा युवाको समूह टेम्पोमा खाना बोकेर उपत्यकाका गल्लि/गल्लिमा भोका पेटहरू खोज्दै हिँडेको देखियो । हाल १ सय ५५ दिनदेखि यो समूह पुरानो बस पार्कभित्र दैनिक करिब ५ सय मानिसलाई खाना खुवाइरहेको छ । ‘१०० ग्रुप’ नामको यो संस्थाका युवालाई न त निषेधाज्ञा लागु भयो, न त रोगको डरले नै छोयो । लकडाउनकाे पालना गर्दै घरभित्र बसिरहँदा सडकका पेटीमा खान नपाएर छट्पटाइ रहेकाे दृष्यले उनीहरूकाे मन थामिएन । उनीहरू कसरी बाँच्छन् भन्नेतर्फ कसैकाे ध्यान नगइरहेकाे समयमा यी युवाहरूले अरूकाे मुख किन ताक्ने ? हामी आँफै किन केही नगर्ने ? भन्ने सोचे अनि शुरु गरे मानवताको हात अघि बढाउन ।
सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाउँदै उनीहरु भोका मानिसहरूकाे सेवामा तल्लीन छन् । यो काममा १०० ग्रुपलाई मानवी क्रिएटिभ एसोसिएसन लगायत अन्य विभिन्न संघ-संस्थाले पनि साथ दिएको देखिन्छ । स–साना काम गरेर गुजारा चलाउने, मागेर खाने, अपांगता भएका, मानसिक सन्तुलन ठिक नभएका, आफ्ना कोही नभएका केटाकेटी, वृद्ध/वृद्धा लगायतका मानिस भोकले चाउरी परेको पेट लिएर एक घण्टा अघिदेखि लाइन लागेर उनीहरुकै बाटो हेरिरहेका हुन्छन् ।परिस्थिति सहज हुँदा कुनै न कुनै माध्यमबाट पेट भर्ने उनीहरु लकडाउनसँगै रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएपछि आफूहरुले यस्तो कदम चालेको यस अभियानका संयोजक अंशु यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी बोनेश्वरस्थित आफ्नै छात्राबासमा खाना तयार गरेर ल्याउँछौँ र खाना खान नपाएका करिब ५–७ सय मानिसलाई खुवाउँछौँ ।’ सेवा भावनाले गरिरहेको यो कामबाट कतिको गाली र कतिको ताली पनि खाएको उहाँको अनुभव छ । गाली वा ताली जे खाए पनि आफूहरुले लक्षित गरेका मानिस भोको नभएको र उनीहरुको सन्तुष्टिमै आफू खुशी भएको यादवको भनाइ छ ।
कसरी जुटाउँछन् खाना ?दैनिक ५–७ सय मानिसलाई खाना खुवाउन कम्तिमा पनि १८ हजार खर्च लाग्ने गरेको अभियन्ताहरु बताउँछन् । उनीहरुका अनुसार विभिन्न संघ/संस्था, मनकारी मानिस र प्रवासी नेपालीहरुको सहयोगमा नै दैनिक खर्च चलिरहेको छ । मानवी क्रिएटिभ्स एसोसिएसनका संयोजक तथा यस अभियानका अभियन्ता बद्री ढुङ्गाना भन्नुहुन्छ, ‘हामीलाई विभिन्न संघ/संस्था र सेवाभावका मानिसले सहयोग गर्नुभएको छ । उहाँहरुको साथबाट नै आज १ सय ५५ औँ दिनसम्म पनि हामीले केही भोका पेटहरूमा चारो हाल्न सकिरहेका छौँ ।’ कतिपय अवस्थामा पैसा नहुँदा आफ्नै गोजीबाट निकालेर पनि छाक टारेको अभियन्ताको अनुभव छ । ढुङ्गानाका अनुसार पैसाको अभाव भएकाे समयमा उधारो लिएकाे सामानको पैसा अझै पनि तिर्न सकिएको छैन ।
पैसा जुटाउने, खाना आँफैले तयार गर्ने, विभिन्न किसिमका मानिसलाई मिलाएर, राखेर खुवाउनुपर्ने, रोगबाट पनि बच्नैपर्ने जस्ता अनेक समस्याका बाबजुत पनि भोका मानिसहरू सन्तुष्ट हुँदा अफूहरु त्यसमै खुशी हुने अभियन्ताहरुको भनाइ छ ।सरुवा रोग कोरोनाले परिस्थिति दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ । 'बाँच्नुभन्दा ठूलो कुरा केही हाेइन रहेछ' भनेर ठूला-ठूला व्यापारीदेखि स-सानाे मजदुरी गरिखाने पनि यस रोगबाट बच्न घरभित्र बसिरहेका छन् । यस्ताे अवस्थामा आफ्नो सुरक्षाको समेत प्रवाह नगरी भोकले कोही नमरुन भनेर जोखिम मोल्दै सेवा गरिरहेका यी युवाहरुको काम निकै प्रशंसनिय र उदाहरणिय छ ।