मुलुकमा जारी कोरोना महामारीका कारण आम विद्यार्थी समूदाय निकै प्रताडित बनिरहेको छ । शैक्षिक संस्था बन्द भएर विभिन्न तहको पठन/पाठन रोकिएको मात्र नभई विद्यार्थीले दिएका परिक्षाको नतिजा आएको छैन भने कुनै नयाँ शैक्षिक गतिविधी समेत सञ्चालन हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा विद्यार्थीका लागि वैकल्पिक अध्ययनको विधीबारे सोच्नुपर्ने र राज्यलाई घच्घच्याउनु पर्ने बेलामा सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियू भने विवादका कारण आपसी किचलोमा फसेको छ । प्रस्तुत छ, त्यस संगठनभित्रको विवाद, विद्यार्थीका शैक्षिक सवाल तथा समसामयिक विद्यार्थी राजनीति लगायतका सन्दर्भमा केन्द्रित रहेर अनेरास्ववियूका नेता रश्मी आचार्यसँग जनतासमाचार डटकमका लागि नरेश न्यौपाने ले गर्नुभएको संक्षिप्त कुराकानी ।अनेरास्ववियूका सहसंयोजकले विद्यार्थीका विभिन्न माग राखेर शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि तपाइँहरुभित्र विवाद देखिएको छ । यो विवादको चुरो के हो ?अनेरास्ववियूभित्र अहिले यो वा त्यो बहानामा कुनै विधि नभएको जस्तो र जसलाई जे मन लाग्यो त्यही गर्न पाइने र जसले जे पनि बोल्न पाइनेजस्तो गरेर जुन बेमौसमी धुन बजाउने प्रवृत्ति सल्बलाइरहेका छन्, यि सबै संगठनलाई कमजोर बनाउने कुरा हुन । यस्ता कुरा अनेरास्ववियूको आम कार्यकर्ता पंक्तिलाई किमार्थ स्वीकार्य हुन सक्दैनन् । चाहे त्यो संयोजकले गरुन वा सहसंयोजकले । तपाइँले जोड्नुभए जस्तै सहसंयोजकले शिक्षामनत्रीलाई ज्ञापनपत्र दिनु विधीसम्मत भएन, संयोजकसँग सल्लाह नगरी एकलौटी ढंगले ‘लेटर प्याड’ प्रयोग गरेर ज्ञापनपत्र बुझाइयो भनेर जुन विषय आएको छ, यसलाई आपसमा बसेर टुंग्याउनुपर्छ । बाहीर छरपस्ट पारेर दुनियाँ हसाउने काम कुनै पनि नेता कार्यकर्ताले गर्नुहुन्थेन ।
बाहीरबाट हेर्दा संयोजक वा सहसंयोजक जसले जस्तो विज्ञप्ती सार्वजनिक गरेपनि अथवा ज्ञापनपत्र बुझाएपनि उठाउने एजेण्डामा भिन्नता देखिँदैन तर एकढिक्का भएर वा सल्लाह गरेर किन यस्ता काम गरिदैनन् ? समस्या कहाँ हो ? अनेरास्ववियूभित्र जुन ‘ग्राभिटी’ मा पुगेर छलफल, बहस र संवाद हुनुपर्ने हो र जसरी निश्कर्ष निकालेर अगाडी बढ्नुपर्ने हो, अहिले यो खालको प्रक्रियामै अवरुद्धता देखिएको छ । खासगरी यसको नेतृत्व पंक्तिले यो किसिमको प्रक्रियालाई बुझ्न नसक्दा र त्यसलाई अघि बढाउन नसक्दा यस्तो समस्या आएको छ । यसैले त अखिलका कार्यकर्ताले हिजोको अनेरास्ववियूको गौरवशाली विगत सम्झिरहेका छन् । आज संगठन किन ठिक ढंगले चलिरहेको छैन भन्नेबारे देशभरीका कार्यकर्ता चिन्तित छन् । के अखिलको नेतृत्वमा पुग्नु भनेको कसैले आर्जन गरेको नीजि सम्पत्तिजस्तो हो ? त्यस्तो किमार्थ हुन सक्दैन । यो त आवाजविहीन विद्यार्थीहरुको दु:खको सारथी हो । दबाब र जागरणको कट्टर हिमायती हो । प्रगतिशील, देशभक्त र जनवादी विद्यार्थीको आशा र भरोसाको केन्द्र हो । हो, यस्ता आधारभूत विषयबाट अनेरास्ववियूलाई अलग पार्ने जुन प्रवृति देखिएका छन्, यस्तो कुनैपनि मानेमा स्वीकार्य हुन सक्दैन । चाहे जोसुकैले गरोस् । सामूहिक हिसाबले बस्ने, छलफल गर्ने, निर्णय गर्ने र त्यसलाई संगठनले बोक्ने अनि विद्यार्थीका माग पूरा गर्नका लागि दबाब तथा जागरण पैदा गर्ने कार्यभार पूरा गर्न नसक्ने तर अरु - अरु विषयमा विवाद गर्ने काम सरासर गलत छ ।
अनेरास्ववियूभित्र जुन ‘ग्राभिटी’ मा पुगेर छलफल, बहस र संवाद हुनुपर्ने हो र जसरी निश्कर्ष निकालेर अगाडी बढ्नुपर्ने हो, अहिले यो खालको प्रक्रियामै अवरुद्धता देखिएको छ । खासगरी यसको नेतृत्व पंक्तिले यो किसिमको प्रक्रियालाई बुझ्न नसक्दा र त्यसलाई अघि बढाउन नसक्दा यस्तो समस्या आएको छ । यसैले त अखिलका कार्यकर्ताले हिजोको अनेरास्ववियूको गौरवशाली विगत सम्झिरहेका छन् ।
यस्तो महामारीका कारण विद्यार्थीको पठन/पाठन रोकिएकोदेखि परिक्षा स्थगित भएका र नतिजा रोकिएको सन्दर्भमा राज्यलाई विकल्प प्रस्तुत गर्नुपर्ने र संगठनभित्रको विवाद समाधानका लागि तपाइँहरुको पनि प्रभावकारी भूमिका हुनुपर्ने हो, त्यो पनि त देखिएन नि ?मैले महत्वपूर्ण सवालमा संगठन कहाँ - कहाँ कसरी चुकिरहेको छ भनेर यसरी सञ्चार माध्यममा भन्दा पनि संगठन भित्रै राख्ने गरेको छु । म त्यहाँ राख्छु । आजको कोरोना महामारीको समयमा हामीले निर्वाह गर्न सकिने र सरकारले के गर्नुपर्थ्याे भन्ने सन्दर्भमा हामी भित्र गम्भीर छलफल हुनुपर्थ्याे । तर यही बीचमा पनि हामीले केही - केही काम गर्ने प्रयत्न पनि गरेका हौं । खासगरी आजको चुनौतिपूर्ण अवस्थामा सजिलो के हुन्थ्यो भने, हाम्रो शिक्षा प्रणालीले विगतमै वैकल्पिक शिक्षा प्रणालीलाई स्वीकार गरिदिएको भए आज विद्यार्थीले त्यति दु:ख पाउनु पर्ने थिएन । यसलाई विडम्बना नै मान्नुपर्छ । आजको कोरोना महामारीको संकटले नेपालको शिक्षा क्षेत्रलाई दिएको मुख्य सन्देश भनेको परम्परागत शिक्षा प्रणालीले अब धान्न सक्दैन भन्ने हो । यो महामारी भूकम्प र ट्रोनाडोजस्ता प्राकृतिक घटना घटेको बेला पनि विद्यालय बन्द भएका अवस्थाबाट पाठ सिकेर राज्य अघि बढ्नुपर्थ्याे । हामीले पनि त्यतिबेला दबाब दिनुपर्थ्याे , त्यसमा हामी चुक्यौं । हामीले समयमै विकल्पबारे सोचेको भए आज आम विद्यार्थीले तपाइँले उठाएका समस्या सामना गर्नुपर्दैनथ्यो । अब यो सवालमा अनेरास्ववियूजस्ता विद्यार्थी संगठन र राज्य दुवै बढी केन्द्रित हुनुपर्छ ।
तपाइँले आफैले संकेत गर्नुभएका विषयमा यसरी बहस गर्नुपर्ने बेलामा अखिल आपसी विवादमा किन रुमल्लिरहेको छ त ? यसलाई हामीले दुई कोणबाट हेनुपर्छ । हामीले यसको नेतृत्व गर्ने शिक्षा मन्त्रालय र विभिन्न विश्वविद्यालयका भिसीसमक्ष विद्यार्थीका समस्या कतै पु-याएका छैनौं कि भन्ने लाग्ला । त्यसो होइन, हामीले पटक-पटक यस्ता विषय सम्बन्धित ठाउँमा राखेका छौं । तर यस्ता विषयलाई कार्यान्वयन गर्ने कुरामा सम्बन्धित निकायसँग तत्परताको अभाव देखिएको छ । हामीले थप सचेत गराउने कुरामा पनि केही कमजोरी भएको सत्य हो । खासगरी पठन/पाठनमा सहज बनाउने सन्दर्भमा कुन-कुन विद्यार्थी अनलाइन र अफलाइनमा जोडिन सक्छन र यी दुवैमा कस्ता विद्यार्थीको पहुँच पुग्दैन भन्ने कुराको अध्ययन गरी विद्यार्थीलाई ३ तहमा वर्गीकरण गर्नुपर्थ्याे । यसमा नै शुरुमा यसमा राम्रो ध्यान नपुगेको जस्तो देखियो । यसमा जसरी तयारी गर्नुपर्थ्यो त्यो देखिएको छैन । हामीले पनि यसमै बढी ‘हिट’ गर्नुपर्ने र सम्बन्धित निकायलाई झकझकाउनु पर्ने देखिन्छ ।
अनि परिक्षा दिएका विद्यार्थीको नतिजा प्रकाशनबारे यहाँहरुको धारणा के हो ? एसईई दिएका परिक्षार्थीको परिक्षाफल एक किसिमबाट प्रकाशित भइसकेको छ । तर विभिन्न तहका अन्तिम वर्षका परिक्षाको परिक्षाफल अझै प्रकाशन हुन सकेको छैन् । जस्तो सँगसँगै परिक्षा भएको एसईईको नतिजा प्रकाशन भइसकेको छ भने स्नात्तकोत्तर अन्तिम वर्षको परिक्षाफल प्रकाशित भएको छैन । यही कारण विद्यार्थीलाई एक तहबाट माथिल्लो तहमा उक्लिन रोकिरहेको छ । यसमा अन्योलता देखिएको छ र हामीले विश्वविद्यालयलाई सचेत गराउनुपर्नेछ । रोकिएका परिक्षा पनि उपयुक्त विधी अपनाएर गरिनुपर्छ । यसका लागि शिक्षा मन्त्रालय र विश्वविद्यालयहरुले अविलम्ब पहलकदमी लिनुपर्छ ।
एकता प्रक्रिया सकिएको साढे १ वर्ष बित्न लाग्दा पनि संगठनलाई व्यवस्थित बनाउँदै एजेण्डामा केन्द्रित गर्न नसक्नु मुल रुपमा संगठनको नेतृत्वमा रहेका साथीहरुको कमजोरी हो ।
शिक्षा मन्त्रालय र विश्वविद्यालयहरुले यसमा तदारुकता नदेखाउनुको कारण चाहीँ के हुन सक्छ ? हाम्रोमा ‘आगो लागिसकेपछि इनार खन्ने विडम्बना’ रहेछ । अनि इनार खन्ने बेलामा पनि एकदम गलफत्ती गर्ने र विधि एवं प्रक्रियाको नाममा महिनौंसम्म कामलाई लब्याइदिने प्रवृत्ति हाबी देखिन्छ । यस्ताे जुन पुरातन प्रवृति छ, हामीले ‘करेक्शन’ गर्न लाग्नुपर्ने पनि यसैमा हो । जस्तो नेपालमा लकडाउन चैत ११ गते शुरु हुन्छ तर शिक्षा मन्त्रालयले आफ्नो निर्देशिका बल्ल जेठ १८ गते जारी गर्छ । हो, यस्तै एउटा काम गर्न ४ / ४ महिना लगाइदिने प्रवृतिले बिगारिरहेको देखिन्छ । वास्तवमा सरोकारवाला निकाय संरचनागत र प्रक्रियागत अलमलमा परिरहेकोले त्यसको मार विद्यार्थीले भोग्नुपरेको छ ।
यस्तो गम्भीर अवस्था सिर्जना हुँदा पनि अखिल र नेविसंघजस्ता विद्यार्थी संगठनको दबाब किन हस्तक्षेपकारी बन्न सकिरहेको छैन ? आजको समयमा वास्तवमा विद्यार्थी संगठनहरुले गम्भीरतापूर्वक छलफल गर्नु पर्ने विषय नै यही हो । जस्तो अनेरास्ववियूको सन्दर्भमा भन्दा हामी विगत अत्यन्तै गौरवमय छ र वर्तमान असाध्यै चुनौतिपूर्ण छ । विद्यमान चुनौतीलाई सामना गर्दै विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि हामीले अगुवाई पनि गर्नु पर्नेछ । यस्ता अभिभारालाई कुशलतापूर्वक नेतृत्व गरेर अघि बढ्न फेरि पनि हामी सबै संगठनले दबाब र जागरणकै माध्यमबाट जानुपर्छ । तर अहिले देखिएजस्तो विद्यार्थीका समस्या एकातिर हुने र हाम्रो ध्यान अर्कोतिर हुने हो भने किमार्थ यो आन्दोलनको नेतृत्व गर्न सकिदैन । यसमा हाम्रो हकमा भन्दा एकताको काम जुन रफ्तारमा अघि बढ्नुपर्थ्याे, त्यस्ताे हुन नसकेकोले पनि क्रियाशिलतामा केही कमी देखिएको छ । एकता प्रक्रिया सकिएको साढे १ वर्ष बित्न लाग्दा पनि संगठनलाई व्यवस्थित बनाउँदै एजेण्डामा केन्द्रित गर्न नसक्नु मुल रुपमा संगठनको नेतृत्वमा रहेका साथीहरुको कमजोरी हो ।
हाम्रोमा ‘आगो लागिसकेपछि इनार खन्ने विडम्बना’ रहेछ । अनि इनार खन्ने बेलामा पनि एकदम गलफत्ती गर्ने र विधि एवं प्रक्रियाको नाममा महिनौंसम्म कामलाई लब्याइदिने प्रवृत्ति हाबी देखिन्छ । यस्ताे जुन पुरातन प्रवृति छ, हामीले ‘करेक्शन’ गर्न लाग्नुपर्ने पनि यसैमा हो ।