अनिल तिवारीबारा । जिल्ला प्रशासन कार्यालय बाराले समूदायस्तरमा कोरोना संक्रमण फैलिएपछि जारी गरेको निषेधाज्ञा खुकलोे पारिएको छ । गत साउन १८ गतेदेखि लगाइएको निषेधाज्ञा मंगलबारबाट खुकुलोे बनाइएकोे हो । सोमबार बसेको कोरोना नियन्त्रणका लागि निर्माण गरिएको कमाण्ड पोष्टको बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी जनजीवनलाई सामान्य बनाउँदै लैजाने निर्णय गरेको हो ।निषेधाज्ञा खुलेपनि शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, पुस्तकालय, सपिङ मल, स्पा, सैलुन, व्युटी पार्लर, स्वीमिङ पुल, जिमखाना, रिक्सा, साइकल ठेलागाडामा गर्ने व्यवसाय र कवाडी संकलनजस्ता कार्य भने गर्न नपाइने भएको छ । तर अन्य साना व्यवसाय भने विहान १० देखि ४ बजेसम्म सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।संक्रमणको जोखिम उस्तै भएपनि सबैको धारणा सहज बनाऔं भन्ने आएकोले बिहान १० बजेसम्म सबै व्यवसाय खोल्ने तयारी गरिएकोे प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समिति र डिसिसिएमसीको बैठकले मंगलबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका सबै स्थानीय तहमा जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।
बैठकले खाद्यान्न, किराना पसल, ग्याँस, इन्धन, दूध डेरी, तेल, घिउ र मरमसलासमेतका अन्य पसल तथा व्यवसाय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुला गर्ने र यसको लागि भौतिक दुरी कायम राख्नुपर्ने निर्णय गरेको छ । साथै दैनिक उपभोग्यजन्य तरकारी, माछा, मासु तथा फलफूल पसल पनि संचालन गर्न पाइने भएको छ । कलैयाको मुख्य बजार क्षेत्रको पूर्वतर्फ हनुमान मन्दिर, पश्चिममा नेपाल बाल संगठनको भवन, उत्तरतर्फ देवकोटा चोक र दक्षिणमा पावर हाउस चोकको चार किल्ला बाहिरमात्र त्यस्ता वस्तु बिक्री वितरण गर्न पाइने छ ।त्यसैगरी सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कार्यालय प्रमुखसहित ५० प्रतिशत स्थानीय आवासीय कर्मचारीमार्फत कार्यालयको काम सम्पादन गर्ने, प्रत्यक्ष जनसम्पर्क हुने कार्यालयले स्थानीय तह अनुसारको आलोपालो सेवा प्रवाह हुने गरी भदौ १७ गतेदेखि सेवा प्रवाहको व्यवस्था मिलाउनेसमेत बेठकको निर्णय छ ।बैठकले बैंक तथा वित्तिय संस्था, उद्योग, व्यवसाय, प्रतिष्ठान तथा निर्माण कार्य संचालन गर्दा संभावित कोरोना संक्रमण जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि निर्णय गरेको छ ।