जनतासमाचारको प्रभाव : सचिवले फिर्ता गरे जेष्ठ नागरिकको भत्ता

भगीरथ भण्डारी
इलाम । भरर्पाइ हस्ताक्षर गरी बुझिलिएर आफैँले चलाएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले सम्बन्धित नागरिकलाई फिर्ता गरेका छन् । माङसेबुङ गाउँपालिका–२ का तत्कालिन सचिव सुलभ दाहालले ५ महिनाअघि लिएको हरिबहादुर श्रेष्ठको भत्ता उनका छोरा धनप्रसाद श्रेष्ठलाई बुधबार फिर्ता गरेका हुन् ।
उनले हरिबहादुरको संरक्षक बसेका छोरा धनप्रसादलाई २ नम्बर वडा कार्यालयमा बोलाएर १२ हजार रुपैयाँको चेक उपलब्ध गराएका छन् । वडा सचिव दाहालले श्रेष्ठको २०७६ को दोश्रो चौमासिकको १२ हजार रुपैयाँ बुझिलिएर निजलाई उपलब्ध गराएका थिएनन् ।
आफैँले बुझिलिएको सामाजिक सुरक्षा भत्ता वडा सचिव दाहालले सम्बन्धित जेष्ठ नागरिकलाई उपलब्ध नगराएको समाचार जनतासमाचारमा प्रकाशित भएपछि सचिवले बुधबार फिर्ता गरेका हुन् । ‘वडा सचिवले दिएनन् ३ जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता’ शीर्षकमा सोमबार जनतामा समाचार प्रकाशित भएको थियो । दाहाल हाल माङसेबुङ गाउँपालिका ३ नम्बर वडामा कार्यरत छन् ।
याे पनि पढ्नुस्:
वडा सचिवले दिएनन् ३ जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता