बागलुङमा भीषण बाढी–पहिरो, ८ बेपत्ता २ को शव भेटियो

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो गएको छ । पहिरोका कारण ८ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएकामध्ये २ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
पहिरोमा परी दर्जनौं मानिस हराएको आशंका छ । नगरपालिकाको वडा नम्बर ८ र ९ बोबाङका विभिन्न स्थानमा खसेको पहिरोका कारण १७ जनाभन्दा बढी सम्पर्कबिहिन भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ । ढोरपान शिकार आरक्षकाे प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो खसेको हो ।
अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण लाकुरीबोटका ३, सुकुरदुङका १, दुनेपँधेराका ३, घट्टबोटका ७ र भुसुन्डेका ३ जना सम्पर्कविहीन भएका छन् । यस्तै बाढीले लाकुरीबोटका ११, दुनेपँधेराका ५, घट्टबोटका ८ र भुसुन्डका १ घरसमेत बगाएको छ । नगरपालिकाको सुकुरदुङस्थित सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्राविसमेत पहिरोले बगाएको छ ।
बोबाङमा रहेका ३ जलविद्युत आयोजना र ३ झोलुँगेपुल पनि पहिरोले बगाएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेकाे प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयाे ।