बागलुङ पहिरो अपडेट : १३ जनाको परिचय खुल्यो

बागलुङ । ढोरपाटन नगरपालिकामा पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । ढोरपाटनको ८ र ९ वडाका विभिन्न ठाउँमा बुधबार राति गएको पहिरोमा बेपत्ता भएका १७ जनामध्ये १३ जनाको परिचय खुलेको हो ।
ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत, ढोरपाटन–९ कै ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक र ३२ वर्षीया करमती घर्तीमगर बेपत्ता भएका हुन् । त्यस्तै ढोरपाटन–९ कै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर, उनका ६ वर्षीया छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।
बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३० ३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटन–५ बुडाथोकस्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा अन्दाजी ३० ३५ वर्षका पुरूषको शव भेटिएको उहाँले बतानुभयो । त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०र२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२र१३ का पुरूषको शव फेला परेको भण्डारीले बताउनुभएको छ ।
शवको सनाखत हुन सकेको छैन् । प्रहरी भर्खरै घटनास्थलमा पुगेको र बेपत्ताको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने भण्डारीले बताउनुभयो । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल आउँदै गरेको बताइएको छ ।