Logo मंसिर ९, २०७७ मंगलबार


कथा : मोहजाल

हरिश कल्पित

ऊ बिस्तारै बैठक कोठाभित्र पस्छ । उसलाई आफ्नो बुढ्यौली छाएको शरीरको भार थाम्न आफैलाई गाह्रो भएझैं अनुभव हुन्छ । चारैतिर नजर सर्सति दौडाउँछ । अनि सुस्तरी गई सोफामा थचक्क बस्छ । सुइयँ लामो सुस्केरा तान्दै सोफामा ढल्किदैँ आँखा चिम्लिन्छ ।

समयको बहाबसँगै बहँदाबहँदै आज ऊ नितान्त एक्लो, निराश, उराठमय जिन्दगीको हिस्सा बनेको कस्तो विवश प्राणी रहेछ । समयको हुरीले उसलाई एक्लै बगरमा मिल्काई दियो र एक्लै बस्न विवश बनाई दियो । कोही पनि कसैसँग हुँदैन रहेछ । एक्लै आयो, एक्लै जानुपर्दोरहेछ, बेकारको मोहजाल मात्र पो रहेछ यो जिन्दगी …।

ऊ मनमनै गुन्न थाल्छ । आज उसलाई संसारै उजाडिएको जस्तो लाग्न थाल्छ । एक्लो,नितान्छ एक्लो जीवन जीउन बाध्य आफ्नो जिन्दगीदेखि आफैलाई वाक्क लाग्न थाल्छ ।

ऊ आफैलाई प्रश्न गर्छ – के म काल पर्खेर बस्दैछु ?  जिउनुको औचित्य नै हराई सक्यो, केका लागि के गरी बाँच्ने ? तर चाँहदैमा मर्न पनि सकिँदैन नि । नियतिको अगाडि कस्को के लाग्छ र ? सन्तान छन् तर पनि एक्लै बस्न बाध्य छु । वा…। कस्तो मोहजाल हो यो ।

आँखाबाट दुईथोपा आँसु तुरुक्क गाला हुँदै बग्छ । आँखाको आँसु पुच्छ । बिस्तारै सोफाबाट उठेर झ्यालमा जान्छ । झ्यालबाट टाढाटाढा आँखा दौडाउँछ । उस्का आँखा आगाडि अतितका पानाहरु एकपछि अर्को गर्दै पल्टिदै जान्छ ।

……   ……

कलेजमा पहिलो भेट भएदेखि नै ऊ उष्माको मोहजालमा फसिसकेको थियो । उष्माको सौन्दर्यले उसलाई मोहित पारेको थियो । जबदेखि उष्मासँग आँखा जुध्यो तबदेखि एक एकवटा बहाना बनाई बोल्ने प्रयास गर्थ्यो । तर अपशोच मुखबाट वाक्य निस्कदैँनथ्यो ।

ऊ जब उष्मा नजिक पुग्थ्यो मुटुको ढुकढुकी अनायासै बढ्थ्यो । वास्तवमा उसले उष्मालाई मनमनै मन पराइसकेको थियो । मनको कुरा व्यक्त गर्ने अवसरको प्रतीक्षामा थियो । कसरी भनुँ, के गरेर भनुँ, रिसाउँने पो हो कि ?  मनमा धेरै कुराहरु खेल्थ्यो ।

तर एकदिन उसले साहस गरेर बोल्ने कोशिस गरेको थियो । त्यो पनि साथीहरुको उक्साहटमा । सधैँ साथीहरुले तँ त कायर रहेछस्, तँ जस्तोले प्रेम गरेर खाँदैनस्, जाबो एउटी केटीसँग बोल्न पनि यस्तो गा¥हो, आदि इत्यादि कुराले उसको कानै टट्याइसकेको थियो । त्यसैले क्लास सकिनासाथ उष्मा नगिचै गई हड्बडाउँदै भनेको थियो, ‘हलो उष्मा म इशान …।’

त्यसभन्दा बढी बोल्न सकेन, ट्वाल्ल परेर उभिरह्यो । उष्मा जिल्ल परेकी थिइन् । त्यो अप्रत्याशित चिनापर्चिमा के गर्ने के नगर्ने होसै भएन । तर पनि इशानको मायालु हेराइलाई तिरस्कार गर्न सकिनन् । मुसुक्क मुस्कुराउँदै ‘हलो’ भनिन र सरासर क्लासतर्फ लागिन् ।

ऊ खुशीले पागल भएको थियो । फरक्क फर्केर घमण्डले फुल्दै साथीहरुको माझमा पुग्यो । आज उसले ठूलो सफलता हासिल भएको अनुभव गर्यो। अनि साथीहरुलाई फुर्ति लगाउँदै भन्न थाल्यो देख्यौ त मेरो कमाल ? तिमीहरुले के भन्ठान्याथ्यौ मलाई ? ल हेर मैले उष्मासँग परिचय गरिन त ।

यसरी दिनहूँ जसो कलेजमा ऊ कुनै न कुनै बहाना गरेर उष्मासँग भेट्न थाल्यो । उष्मा पनि उसको व्यक्तित्वदेखि प्रभावित भएकी थिइन् । लाम्चो अनुहार, अग्लो उचाई, चौडा छाती, आकर्षक व्यक्तित्वको परिपूर्ण शरीर थियो । त्यसमाथि उसको शालीन व्यवहारबाट प्रभावित भएकी थिइन् उष्मा । दुबैको प्रेम दुबोसरी मौलाएको थियो । एक अर्कामा पूर्णरुपले समर्पित थिए । कलेजमा उनीहरुकोे प्रेमको चर्चा चल्न शुरु भएको थियो । साथीहरुले नाम पनि दिए लैलामजुन भनेर ।

यसरी उनीहरु बीचको प्रेम झाँगिएको थियो । एकदिन इशानले बिहेको प्रस्ताव पनि राख्यो, उष्माले सहर्ष स्वीकारिन् । दुबैको घरको मन्जुरीमा बिहे पनि भयो । उष्मा दुलही भएर भित्रिइन् उसको घरमा । परिवारमा खुशियालीको वर्षा भयो ।

इशान हर्षले प्रफुल्लित भएको थियो । आफूले चाहेको श्रीमती पाउँदा । घरमा एउटी आमा र बहिनीबाहेक कोही थिएनन् । उष्माले पनि छिट्टै नै सबैलाई आफ्नो व्यवहारले मोहित पारेकी थिइन् ।

इशान स्वास्नीको प्रेममा चुर्लम्म डुबेको थियो । दुबै बीचको प्रेमले घरलाई नै उज्यालो पारेको थियो । आमा दंग पर्थिन्, छोरा बुहारीबीचको मिलाप देखेर । असल बुहारी भित्राउन पाएकोमा मख्ख थिइन् ।

चखेवा चखेवीको जोडीझैं जहाँपनि सँगै हुन्थे, यी जोडी । उष्मालाई एकपलको लागि पनि अलग्याउन चाहदैनथ्यो । हाँस्ने, जिस्कने, फकाउने क्रम चलिरहन्थ्यो । लाग्दथ्यो एक अर्काविना बाँच्न सक्दैनन्, होलान् यो जोडी ।

केही वर्षपछि नै यिनीहरुको प्रेमको बगैचामा दुई थुंगा सुन्दर फूलहरु फुले इसा र अतुल । एक छोरा र एक छोरीको सुन्दर फूलबारी । प्रीतिको बगैँचा नै रगमगाएको थियो । इशान आफूलाई खुबै भाग्यमानी ठान्थ्यो । जिन्दगीको स्वर्णिम रंगमा रंगिएको थियो ऊ । उत्साह र उमंगले फुलेको थियो ।

अतुलको जन्म हुँदा कत्ति खुशी भएको थियो । पहिलोपल्ट नै छोराको जन्म ! कस्तो खुशी भएको थियो । उसलाई आफ्नो पूनर्जन्म भएको महसुस भएको थियो । अनि नाक फुलाउँदै भनेको थियो- ‘देख्यौ उष्मा ! यस्को त अनुहार काटीकुट्टी मेरै जस्तो छ । यसलाई त म डाक्टर बनाउँछु । अमेरिकामा पढाउँछु । आखिर छोरो कस्को हो ।’

गर्वले छाती फुलेको थियो । उष्माले हाँस्दै भनेकी थिइन् – ‘किन पठाउँने अमेरिका ? हाम्रो छोराचाहिँ यही बस्छ, मेरै आँखा अगाडि नेपालमै, आफ्नै देशको सेवा गरेर ।’

उष्माको कुरा बीचैमा काट्दै उसले झोक्किदै भनेको थियो, ‘भयो भयो देशभक्ति नदेखाऊ । हामीले के गर्न सक्यौँ र यहाँ बसेर । जाबो एउटा घर बनाएको ऋण त तिर्न सकेको छैन अहिलेसम्म । न दाम छ, न काम छ खाली मेरो देश भनेर के गर्नु ?’

‘भयो भयो छोरो पाउनु कहिले कहिल्यै कोक्रो बुन्नु अहिले भन्या जस्तो । भर्खर त छोरो जन्मियो, अहिलेदेखि सपना देख्न थाल्नुभो ‘, उष्माले हाँस्दै भनेकी थिइन् ।

बुबा हजूर चिया ल्याऊँ रामेको आवाजले उसको अतितको पाना च्यारर… च्यातिन्छ । रामेतिर हेर्दै भन्छ- ‘खै.. । बन्जे आएको छैन ?’

‘अहँ… छैन हजूर ।’

रामे मुन्टो हल्लताउँदै जवाफ दिन्छ ।

‘अझसम्म किन नआएको होला ? ९ बजिसक्यो’, भन्दै जुरुक्क उठ्दै झ्यालतिर जान्छ र झ्याल खोल्दै भन्छ-‘ जा न लेरा एक कप चिया ।’

‘हस हजूर’ भन्दै रामे लुसुक्क जान्छ ।

ऊ खल्तिमा हात घुसार्छ र चुरोटको बट्टा निकाल्छ, गहिरिएर हेर्छ । एक्लोपनको साथी भएको छ चुरोट । फिसिक्क रुन्चे हाँसो हाँस्छ । अनि बट्टाबाट एउटा चुरोट निकाल्दै सल्काउन थाल्छ । चुरोटको लामो सर्को तान्छ, अनि बिस्तारै धुवाँ फाल्छ ।

उसलाई लाग्छ पिर व्यथाहरु धुवाँसँगै बाहिर उडाउँदैछु, अनि धुवाँ हेर्दै मनमनै गुन्न थाल्छ :

‘कति पाएँ, कति गुमाएँ खुशीका लहरहरुमा पौडिएँ, दुःखको सागरबाट उत्रिएँ । के रहेछ र जिन्दगीभरि साथ दिन्छु भन्नेले पनि एकदिन छोडेर जाँदो रहेछ । एक्लै, एक्लै हिँडनु पर्ने बाटो रहेछ जिन्दगी । साथ दिने त दुई दिन मात्र पो रहेछ ।’ फिसिक्क हाँस्छ ।

झ्यालबाट बाहिर टाढाटाढा क्षितिजतिर नजर दौडाउँछ । आजको दिन उसलाई साह्रै नरमाइलो लाग्छ । आजको दिनमा नै उसको खुशीमा तुषारापात भएको थियो । जिन्दगीको लक्ष्य के हो भन्ने कुरा । एक्लै भक्कानो छोडेर रोऊँ रोऊँ लाग्छ तर आफूलाई सान्त्वना दिने कोही पनि त छैनन् । नितान्त एक्लो महसुस गर्छ आफूलाई ।

आमाबाबुको माया छोराछोरीमाथि छोराछोरीको माया ढुुंगामुढााथि भनेको साँच्चै रहेछ । उसले छोराछोरीप्रतिको दायित्व राम्रैसँगसँग पूरा गर्दै आएको थियो ।

छोराले एसएलसीमा फस्ट डिभिजन ल्यायो भन्ने खबरले उसको जिन्दगीमा उमंगको लहरहरु ल्याइदिएको थियो । भविष्यको रंगिन सपनाहरु सजाई दिएको थियो । हर्षले प्रफुल्ल भई छोरालाई अँगाल्दै गर्वले उष्मातिर हेर्दै भनेको थियो – ‘देख्यौ त मेरो छोरो फस्ट भयो, अब डाक्टर पढाउनुपर्छ ।’

दशदेखि पाँचसम्म जागिर, त्यसपछिको समय ओभरटायम गरेर जसोतसो जिन्दगीको गाडी चलाउँदै थियो । एकजनाको कमाई तर पनि उसले खुबै मेहनत गरेको थियो । छोराछारी हुर्काउनलाई । उष्मा पनि लोग्नेको काँधमा काँध मिलाई हरतरहले ऊप्रति समर्पित थिइन् । महंगीले चेपिएको काठमाडौं, यहाँ त पानी पनि महंगो छ । किनेर खानुपर्ने बाध्यता छ । तर पनि उसले कहिल्यै आफ्नो जोश, जाँगरलाई कम हुन दिएन । त्यसपछि उष्मा झन् उसको हर कार्यमा उत्साहका साथै जोश जाँगर भरिदिन्थिन् । कहित्यै ऊप्रति कुनैपनि गुनासो गरिनन् । सँधै लोग्नेको सुखदुःखमा हर तरहले साथ दिन्थिन् । लोग्नेलाई साह्रै माया गर्थिन् । लोग्नेको खुशीका लागि आफ्नो हर इच्छा आकांक्षाको वलि चढाउन सँधै तम्तयार रहन्थिन् । यस्तो स्वास्नी पाएकोमा ऊ मख्ख थियो ।

छोराछोरीको भविष्य राम्रो भएमा बुढेसकालमा साहरा हुन्छ भन्ने आशा राखेको थियो उसले । ऋण गरेर भए पनि छोरालाई अमेरिका पढ्न पठायो । छोरीलाई पनि आईए पास गरेपछि, अमेरिकामै बस्ने इन्जिनियर केटासँग बिहे गरिदियो । यसरी उसले आफ्नो कर्तव्य राम्रैसँग पूरा गर्दै आएको थियो । घरमा दुई बुढाबुढी बाहेक कोही रहेनन् । समयको हुरिले सबैलाई उडाइ कताकता पु¥यायो । केही समय अगाडि त्यही घरमा चहलपहल रौनक थियो तर अब शून्यताले बास बस्न थालेको थियो ।

अब उसलाई प्रतीक्षा थियो छोराको आगमनको । एकदिन जिस्कदै स्वास्नीसँग भनेको थियो उसले-‘हेर बुढी अब त छोराले पनि डाक्टर पास गरिहाल्यो । अब आएपछि बिहे गरिदिनुपर्छ । त्यसपछि त मेरो जिम्मेवारी पनि सकिन्छ । अनि त आनन्दसँग बस्न सक्छु । यिनीहरुकै लागि न हो मैले दुःख गर्नु परेको । अब बुढेसकालमा हनिमुन मनाउँदै बस्नुपर्छ ।’

लोग्नेको कुरा सुनी उष्मा मज्जासँग हाँस्दै भनेकी थिइन् – ‘के भएको हो तपाईलाई बुढेसकालमा पनि ? म हनिमुन मनाउँनु । अब त नातिनातिना खेलाएर बस्ने नि । खै त्यो अतुल कहिले आउने हो । अब त यहीँ आएर काम गरेपनि हुन्थ्यो नि हैन र भन्या ?’

लोग्नेको आँखामा उत्तर खोज्न पुगिन् । ऊ निरुत्तर हुन्थ्यो, तर पनि स्वास्नीलाई ढाडस दिँदै भन्थ्यो- ‘आइहाल्छ नि ।’

उष्मालाई छोराको मायाले साह्रै सताउँथ्यो । आफ्नो एकमात्र छोरो त्यो पनि विदेशमा ऊसँग गुनासो पोख्थिन् । छोरी पनि श्रीमानसँगै अमेरिका लागिन् । त्यसैले पनि छोरो फर्कोस् भन्न चाहन्थिन् । कहिलेकहीँ एक्लोपनदेखि न्यास्रो मान्थिन् । छोराको सम्झनामा आँसु बहाउँथिन् । ऊ स्वास्नीलाई सम्झाउँदै भन्ने गथ्र्यो – ‘किन पिर गरेकी तिमी, हाम्रो छोरो डाक्टर भईसक्यो । अब चाढै नै यहाँ फर्किहाल्छ । त्यसपछि त्यसको बिहे गरिदिनुपर्छ बुझ्यौ ? अनि नातिनातिना खेलाउँदै हाम्रो दिन त त्यसै बितिहाल्छ नि ।’

उता छोरो भने एकएकवटा बहाना बनाई फर्कन चाहँदैनथ्यो । आफ्नो बाध्यता बाबुआमाको अगाडि तेस्र्याउँथ्यो र फर्कने असमर्थता जनाउँथ्यो । एकदिन उताबाट खबर आयो छोराले त्यहीकै अमेरिकन केटीसँग बिहे गरेको । पहिले त उसले खबरलाई विश्वासै गर्न सकेन । पछि छोराले नै स्वीकार गर्यो कि सँगै पढेकी अमेरिकन केटीसँग बिहे गरेको हो भन्ने कुरा । उसले केही भन्न सकेन । सुस्तरी फोनबाट नै आर्शिवाद दियो । अब उसलाई लाग्यो छोरो फर्कने सपना सपनै हुने भयो । अमेरिकाको आकर्षणले छोरालाई चुम्मकझैँ टाँसिरह्यो ।

यसरी दिनहरु बित्दै गए, समयको बहाबसँगसँगै ऊ पनि बहँदै गयो । उष्मा जहिले पनि छोराको फोटो हेरी आँसु बहाई रहन्थिन् । छोरोको प्रतीक्षामा दिनहरु गन्दै बस्थिन् । उसलाई असह्य हुन्थ्यो, कति सम्झाउने, स्वास्नीलाई कति चोटी फोन गरेर पनि छोरालाई बोलायो तर पनि उताबाट काममा अतिनै बिजी छु भन्ने खबर आउँथ्योे । जहिले पनि छोराको एउटै जवाफ हुन्थ्यो – ‘बुबा म हस्पिटलमा साह्रै बिजी छु । बिदा नै पाएको छैन के गर्ने ?’ आफ्नो असमर्थता देखाउँथ्यो ।

छोराले किन बिर्स्यो बाबुआमाको त्याग ? के साँच्चै फर्कन नसकेको हो, या आउन नचाएको हो ? अथवा भौतिक सुखसुविधाको जालोमा अल्झिएको हो ?  ऊ मनमनै उत्तर खोज्थ्यो ।

उसले त आफ्नो आमाबुबाप्रतिको कर्तब्य राम्रैसँग निर्वाह गरेको थियो । सानैमा बाबुको मृत्युु भएपनि आमाले जेनतेन गरेर आफ्नो छोराछोरी हुर्काएका थिए । उसले आमाको चित्त कहिल्यै दुखाएन र छोराको कर्तव्य कहित्यै भुलेन । आमाको आँखाको नानी थियो । आमा सँधै उसलाई भन्ने गर्नुहुन्थ्यो -‘ बाबु राम्रोसँग काम गरे, राम्रै फल पाउँछ । दुष्कर्मको फल कहिल्यै राम्रो हुँदैन ।’ आमाको वचनको सधैँ पालना गर्दै आएको थियो उसले ।

समयको भुमरीमा आमाले पनि भारी बिसाउँनु भयो बाबुले जस्तै । त्यस समयमा ऊ विचलित भएको थियो । आमाको देहावसानले उसलाई ठूलो चोट पुर्याएको थियो । उसको चोटमा उष्माले सान्त्वनारुपी मल्हम लगाएकी थिइन् । बिस्तारै बिस्तारै अतितको घाउमा खाटा बस्दै गयो ।

आमा सँधै भन्ने गर्नुहुन्थ्यो आफ्ना नातेदारहरुलाई- ‘ मेरो छोरो त लाखौमा एक छ । ‘

तर आज आफ्नो छोरोको आनिबानीदेखि साह्रै दुःख लाग्थ्यो उसलाई । तापनि स्वास्नीको मन राख्न नै भए पनि बेलाबेलामा भन्ने गर्थ्यो – ‘किन पीर गरेको उष्मा ? हाम्रो छोरो त अमेरिकाको ठूलो हस्पिटलमा काम गर्छ रे । त्यसैले फुर्सद हुँदैन । एकदिन त फर्किहाल्छ नि । यहाँ नआए कहाँ जान्छ । आफ्नो देश आमबुबा कहाँ नआउने कुरै छैन कसो ।’

तर उष्मा आँखैभरि आँसु राखिरहेकी हुन्थिन्, उत्तर दिँदैन थिइन् । तिनलाई यो लोग्नेको झुठो आश्वासन हो भन्ने कुरा थाहा थियो । दिनरात छोराको फोटो हेर्दै दिन बिताउँथिन् ।

एकदिन ऐना हेर्दाहेर्दै बडबडाएको थियो -‘ ल अब त म बुढो भएछु । कपाल पनि सेतै भएछ । हेर्दा हेर्दै दिन बितेको त थाहै पाइएन । समयले त निकै कोल्टो फेरिसकेछ हगि उष्मा ?’ आफ्नो अनुहारमा परेका चाउरीपनलाई नियाल्दै भनेको थियो ।

‘तर उष्मा तिमीजस्तो जीवनसाथी पाएँ म त साह्रै भाग्यमानी रहेछु । स्वास्नी राम्रो पाउँनु पनि पूर्वजन्मकै फल रहेछ । तर तिमीले चाहिँ मलाई एक्लो नपार्नु नि छोरा छोरीले जस्तो । ‘

उष्माले हाँस्दै भनेकी थिइन् -‘अनि के त अझसम्म आफूलाई जवान नै छु भन्ठान्नु हुन्छ । दुईदुई जना नातिनातिना भैसके ।’

एकछिन् रोकिइ पुनः उसको आँखामा हेर्दै भनकी थिइन् -‘के भन्नु भएको त्यस्तो ? मैले तपाईलाई कहाँ छोडेर जान्छु त, एक्लै नपार भन्नुहुन्छ । के गर्नु छोराले बिर्सिहाल्यो । खुबै विदेशमा पढाउने भन्नुहुन्थ्यो नि, देख्नु भो त । खै…। त्यसलाई हाम्रो माया रहेनछ ।’ बोल्दा बोल्दै आँखा आँसुले टम्म भरिएको थियो ।

स्वास्नीको आँखामा आँसुदेखि उसले आवेशमा आएर भनेको थियो -‘भो बा पीर नगर ।  त्यो हाम्रा छोरै हैन रहेछ । सम्झ हामीले छोरै पाएका छैनौं ।  सिर्फ एउटी छोरी मात्र । बरु त्यसले हामीलाई माया त गर्छे । बेलाबेलामा हाम्रो हाल खबर सोध्छे । विचरी जान मन नलगाई नलगाई गइन् । जाने बेलामा कस्तरी आँखैभरि आँसु पारेर भनेकी थिइन् -‘मम्मी म हजुरहरुबाट टाढा जाने मन छैन । यहाँ हजूरहरुको हेरविचार गर्ने कोही पनि त छैनन् । अतुल दा, पनि के भएको होला त्यस्तो ।’

‘भयो छोडिदेऊ त्यसको कुरै नगर । बिर्सिदेऊ त्यसलाई ।’

‘म कसरी बिर्सु, म त त्यसकी आमा हुँ …। ‘

योभन्दा अगाडि बोल्न सकिनन् । सुँक्कसुँक्क गर्दै रुन थालिन् । यसरी नै दिनहरु बितिरहेको थियो । समयको हुरीले मानिसलाई कहाँबाट कहाँ पुर्याइदिन्छ । सोच्दै नसोचेको कुराहरु हुन जान्छ । मान्छे वास्तवमा परिस्थितिको दास नै हो । जुनसुकै कुरा पनि परिआएको खण्डमा सहन सक्नुपर्ने बाध्यता मानिसमा पर्छ ।

एकदिन अचानक उष्मालाई हर्ट एट्याक भयो । ऊ निकै हड्बडायो, हत्तपत्त वीर हस्पिटल पुर्यायो । तर नियतीको अगाडि कस्को के लाग्छ ? उसको जिन्दगीमा ठूलो बज्रपात भयो । । पहिलो एट्याकमा नै उष्माले जिन्दगीसँग हार मानिन् ।

आफ्नो जीवन संगिनी गुमाउनु पर्दा उसको ह्रदयमा ठूलो घाउ लाग्यो । उसलाई संसारै शुन्य लाग्यो । आँखा अगाडि अन्धकार छायो । आफ्नो छायाले साथ छोडेझैं जिन्दगी नै उजाडियो । छोराको अनुहार हेर्ने आशैआशामा स्वास्नीको मृत्युले उसलाई ठूलो चोट पुर्यायो । छोराप्रति मनमा घृणा उत्पन्न भयो । त्यसैले खबर पनि गरेन । तर छोरीको माध्यमबाट थाहा पाएर आमा मरेको चार दिनमा छोराको आगमन भयो । ऊ छोराको आगमनमा न  हर्षित नै भयो न त दुखी नै । चुपचाप, अचल, स्थिर आँखाहरु शुन्यतामा टोलाइरहन्थ्यो ।

जीवन साथीको विछोडले मानवसागरको बीचमा आफूलाई नितान्त एक्लो महसुस गर्यो ।  तेह्र दिनपछि नै छोरो धेरै काम छ भन्दै पुनः यतै फर्कियो । उसले न छोरोसँग गुनासो नै गर्यो, न त छोरोलाई जानबाट रोक्न नै खोज्यो । अब त उसलाई एक्लै बस्ने बानी लागिसक्यो । जिन्दगीको सार अब पो बुझ्दैछ उसले । सँधै एक्लै त रहेछ नि जिन्दगी, क्षणिक साथ त दिने हो सबैले बेकारको मोहजालमा फसेर किन दुखी बन्नु । एक्लै हाँस्नु पर्ने, एक्लै रुनु पर्ने, एक्लै बाँच्नु पर्ने, एक्लै मर्नु पर्ने, सँधै एक्लै एक्लै हिँड्नु पर्ने बाटो पो रहेछ यो जिन्दगी ।

…………………..

‘बुबा हजुर यी चिया लिनुस् ‘

रामेको यो आवाजले ऊ पुनः वर्तमानमा आउँछ । रामेसँग चियाको कप लिदैँ ऊ फेरी झ्यालबाट बाहिर नजर दौडाउँछ ।

एकाएक एउटा ट्याक्सी घ्याच्च … गरेर उसको घरको गेट अगाडि रोकिन्छ । ऊ त्यसलाई हेरिरहन्छ । ट्याक्सीबाट एकजना व्यक्ति ओर्लन्छ । उसलाई त्यस व्यक्ति परिचित झैं लाग्छ । कहाँ कहाँ देख्या जस्तो तर बुढ्यौलीको कारणले उसको कमजोर आँखाले ठम्याउँन सक्दैन । कालो सुट लगाएको त्यस व्यक्तिले ड्राइभरलाई पैसा दिँदै पछाडिको डिकीबाट सुटकेशहरु निकाल्न थाल्छ ।

ऊ रामेतिर मुखामुख भई हडबडाउँदै भन्छ- ‘ए रामे ! खै खै मेरो चस्मा ले त । तल को आएको रहेछ ? मैले ठम्याँउन सकिन । चिनेँचिनेँ जस्तो त लाग्छ ।’

रामे हत्तपत्त टेबुलमा राखिएको चस्मा ऊतिर तेर्स्याउँदै कप झ्यालमा राखेर, चस्मा लिई कमिजको फेरले पुछ्दै लगाउन खोज्छ । रामे उत्तेजित भै हर्षमिश्रित भावले ऊतिर मुखरित हुँदै भन्छ -‘ हजूरले कस्तो नचिन्नुभएको ! अतुलबाबु आउनुभाको रहेछ ।’

उसलाई अचम्म लाग्छ । बाह्र वर्षपछि खोलो फर्क्यो ? विश्वासै मान्दैन । गहिरिएर त्यस आगन्तुकलाई हेर्न थाल्छ । ट्याक्सीबाट सुटकेश निकाली उक्त व्यक्ति बच्चालाई डोर्याउदै गेटबाट भित्र पस्छ ।

उसले बल्ल ठम्याउँछ, अतुल नै रहेछ । उसको एकमात्र छोरो । हेर कस्तरी दुब्लाएछ मनमनै सोच्छ ।

छोराको आगमनले उसको दुखित् मनमा अलिकति भएपनि शितलता छाउँछ । आज कस्तो दिनमा आएछ, मनमनै गुन्न थाल्छ । आमाले त्यत्रो करजोरी विन्ती गर्दा पनि नआएको छोरो आज विना बोलावट आएको देखेर उसलाई आश्चर्य लाग्छ । मनमा छोराप्रतिको माया पलाएर आउँछ । के भएर आएछ ? कसरी आइपुगेछ ? मनमा कौतुहलता छाउँछ ।

‘बुबा’

योे शब्द कानमा पर्नासाथ ऊ हर्षले विभोर भई छोरोतिर दृष्टि फ्याक्छ । धेरै वर्षपछि उसको कानमा परेको यो शब्द उसलाई धित मरुन्जेलसम्म सुनिरहँजस्तो लाग्छ ।

अतुल सरासर आई बुबाको गोडामा ढोग दिन्छ । ऊ खुशीले आल्हादित हुँदै छोरालाई छातीमा लगाउँछ । बुढो आँखा रसाएर आउँछ । आँसु पुछ्दै भावावेशमा स्वास्नीको फोटोतिर हेर्देै भन्छ-‘लौ हेर उष्मा हाम्रो छोरो फर्केर आएन त ? मैले त तिमीलाई पहिले नै भनेको थिएँ नि हाम्रो छोरा एकदिन अवश्य फर्केर आउनेछ भनेर । तर… तिमीले हतार गर्यौ । पर्खन सकिनौ ।’

वाक्य घाँटीमै अड्किन्छ, गला अवरुद्ध हुन्छ । अनि अतुलको अनुहार दुबै हातले उठाई धित मरुन्जेल हेर्छ । उसको आँखा रसाएर आउँछ । छोराको त्यो मलिन अनुहार, दुब्लो शरीर आँखाभरि बेदना भरिएर निस्तेज आँखा । छोराको यो अवश्थादेखि ऊ झन् भावविह्रल हुँदै भन्छ ।

‘यो के गति बनाएको आफ्नो ? के भयो तलाई ? अनुहार साह्रै मलिन देख्छु । के भयो ?’

‘बुबा मलाई माफ गर्नुस्, मैले तपाईहरुको साह्रै चित्त दुखाएँ । त्यसको फल म आज भोग्दैछु । आफ्नो निहित स्वार्थका लागि आमाबाबुप्रतिको कर्तव्यलाई भुलेँ । तर मैले पनि कहाँ सुख पाएँ र बुबा ?’ आँखाभरि आँसु राखेर अतुल भन्दै जान्छ, ‘बुबा यो हजुरको नाति ।’ नगिचै टुलुटुलु हेरिरहेको सानो बालकतिर औल्याउँछ ।

‘यसले पनि त आमा गुमाउँनु पर्यो, मैले जस्तै यो पनि टुहुरो भयो बुबा ।’

मजस्तै ऊ आश्चर्यचकित मुद्रामा कहिले अतुललाई हेर्छ त कहिले त्यो बालकलाई हेर्छ । उसलाई विश्वास गर्न गाह्रो भइरहेको हुन्छ । अतुल भन्दै जान्छ, ‘हो बुबा हो, यो सत्य हो । एलनको मृत्यु भयो, कार एक्सिडेन्टमा । म पनि एक्लिएँ । मैलै हजुरलाई एक्लो पारेर भगवानले मलाई पनि एक्लो पार्यो । मम्मीले कति बोलाउँनु भयो तर … मैलै कहिल्यै सोचिन कि मम्मीले मलाई कति माया गर्नुहुन्थ्यो भनेर, उहाँको मायालाई बुझ्ने कोशिस् गरिन । आफ्नै स्वार्थमा अल्झिरहेँ । हजुरको आज्ञाको पनि उलंघन गरेँ । आज मलाई यसको ठूलो पश्चाताप भइरहेछ । मैले जिन्दगीमा ठूलो भूल गरेँ । आमाबाबुलाई आफ्नो स्वार्थका लागि बिर्सिएँ । आफ्नो कर्तव्यबाट चुकेँ । मम्मीको मायालाई त गुमाएँ, गुमाएँ । अब हजुरको मायालाई पनि गुमाउन चाहन्न म ।’

हात जोडेर आँखाभरि आँसु पार्दै अतुल भन्दै थियो । उसको मन भक्कानिएर आयो, छोराप्रतिको असिम स्नेह पलायो, अनि छोराको आँसु पुछिदिँदै भन्यो -‘ तँ ठिक समयमा आइस् बाबु । आज तेरी मम्मीको श्राद्ध हो, जा माथि गएर नुहाई धुवाई गरेर आइज । बाजे पनि आउँने बेला भयो । ‘

अतुल आश्चर्यचकित भइ बाबुको मुहारमा ट्वालट्वाल्ती हेर्न थाल्छ । बुबा आज मम्मीको श्राद्ध… त्योभन्दा बढी बोल्न सक्दैन, पीडाले पोल्न थाल्छ । अनि दुई हातले मुख छोप्दै हिक्कहिक्क गर्दै रुन थाल्छ । अघिदेखि चुपचाप टोलाइरहेको त्यो सानो बालक, बाबु रोएको देखेर अगाडि बढ्छ र अतुलको कोट तान्छ । त्यो अवोध बालकलाई त्यहाँ के भइरहेको छ भन्ने केही थाहा हुँदैन । आफ्नो बाबु दुई हातले मुख छोपेर रोइरहेको कारण बुझ्न सक्दैन । त्यसमाथि नेपाली भाषाको ज्ञान नभएकाले अचम्मित भै अतुलको कोटको फेर समात्दै अंग्रेजीमै सोध्न थाल्छ – ‘व्हाट ह्यापेन्ड ड्याडी ? व्हाट ह्यापेन्ड ?’

अतुल छोरातिर हेर्छ अनि दुई हात पसारेर छोरालाई बोक्छ । त्यो सानो बालक आफ्नो ससाना हातले बाबुको आँसु पुछ्न थाल्छ ।

‘बुबा हजुर बाजे पनि आइपुग्नु भयो ।’

रामेले खबर ल्याउँछ ।

‘जा सबै ठिक पार । म पनि आउँछु’, उसले रामेलाई आदेशयुक्त स्वरमा भन्दै अतुलतर्फ फर्कि पुनः भन्छ, ‘नरो बाबु के गर्ने दैवको लिला यस्तै रहेछ । हुने हुनामी टारेर टार्न सकिदैन रहेछ । के गर्ने आज तेरी मम्मी भएकी भए कति खुशी हुन्थिन्, तँलाई देखेर । जा भयो नरो, नुहाएर आइज । आज तैले नै श्राद्ध गर ।’ छोराको कपाल मुसार्दै सम्झाउँछ ।

अतुल बाबुतिर हेर्दै आँसु पुछ्दै छोरालाई हात समात्दै नुहाउँन बाहिर निस्कन्छ । ऊ छोरा गएतर्फ गहिरिएर हेर्छ । सुँइय…लामो सुस्केरा तान्छ । अनि उष्माको फोटोतिर हेर्दै बढबढाउँछ-हाम्रो छोरा फर्कियो उष्मा हाम्रो छोरा फर्कियो । ऊ अब यहीँ बस्छ । तिमीले भनेको जस्तो आफ्नै देशमा, आफ्नै माटोमा । अब त तिमी गुनासो गर्दिनौ होला नि । हाम्रो छोरो विदेशियो भनेर । हेर त, नाति त हाम्रो भाषा बुझ्दैन अग्रेजीमा बोल्नु पर्छ । तर केही छैन म सिकाईहाल्छु नि । कति राम्रो छ । हाम्रो नाति गोरो, चिटिक्क परेको हेरिरहुँजस्तो लाग्ने, ठ्याक्कै बालगोपाल जस्तो । कस्तो मायालाग्दो छ उष्मा, हाम्रो नाति ।’

ऊ आज फेरि एकचोटी अर्को मोहजालमा जकडिन्छ ।

‘बुबा हजुर तल सबै ठिक भैसक्यो ।’

रामेको आवाजले ऊ झसंग झस्किन्छ, अनि आफलाई सम्हाल्दै भन्छ, ‘ल ल आएँ तँ जा ।’

चस्मा फुकाली आँखाको आँसु पुछ्दै हतारिँदै भर्याङबाट तल ओर्लिन थाल्छ । भर्याङबाट आवाज निरन्तर आइरहन्छ, ‘ ढ्याक ढ्याक ढ्याक ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।