पहिरोले घर पुरिँदा युवतीको मृत्यु

कास्की । रुपा गाउँपालिकामा पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु भएको छ । रुपा–६ बराहथोकका काजीबहादुर विकको घर मंगलबार बिहान गएको पहिरोमा पुरिँदा विककी २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको हो ।
घरभन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिरचोक तथा इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा शव बाहिर निकालिएको थियो ।
शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइँदै छ । पहिरोले स्थानीय हरिराम विक, चूडामणि सुनार र माया विकको घर जोखिममा रहेकाले उनीहरुलाई अन्यत्र व्यवस्थापनको तयारी गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।