तम्घास अस्पतालमै भयो ट्यूमरको अप्रेशन

हुमाकान्त पोखरेल
गुल्मी । तम्घास अस्पतालमा आवश्यक उपकरण जडान भएसँगै सेवा–सुविधामा पनि वृद्धि भएको छ । पछिल्लो समयमा ठूला अप्रेशन तथा जटिल प्रकारका रोगहरु समेत अस्पतालबाटै प्रदान गर्न शुरु गरिएको छ ।
दुई साता अगाडि जिल्लाको मुसिकोट नगरपालिका–२ देउरालीकी २० वर्षीया युवती पेट दुख्ने समस्या लिएर तम्घास अस्पताल आउनुभयो । अविवाहित ति महिलाको पेट तुलनात्मक हिसाबले ठूलो र गर्भवती महिलाको जस्तै देखिएको थियो । युवतीको पेटको भिडियो एक्सरे र पिसाब जाँच गर्दा मासुको डल्ल्लो जस्तो आकारमा अण्डादानीबाट ट्यूमर भएको देखिएको डाक्टरको भनाइ छ । ट्यूमरको अप्रेशनबाहेक अर्को विकल्प थिएन ।
अस्पताल र डाक्टरलाई जोखिम भएपनि युवतीको परिवार र चिकित्सकको सल्लाहपछि दुई सातापछि अपरेसन गर्ने निर्णय भयो । शनिबार अपरेसनमार्फत् करिब एक किलो जति तौलको मासुको डल्लो निकालियो । अपरेसन सफल भएपछि युवती घर गइसक्नुभएको छ ।
यस्तो किसिमको अपरेशन गर्दा निकै जटिल हुने भएपनि अपरेसन सफल भएकोमा खुशी लागेको अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले बताउनुभयो । केही समय पहिले ८१ वर्षीया दुईजना वृद्धको पनि हर्नियाको सफल अप्रेशन गरिएको डा. पाच्याले जानकारी दिनुभयो ।