Logo आश्विन १५, २०७७ बिहीबार


नेपाली लोक गायनकी असली हिरा : स्व. हिरादेवी वाइबा

स्वर्गीय हिरादेवी वाइवालाई एउटी लोक गायिकाको रुपमा मात्र लिनु हाम्रो अल्पज्ञान हो । किन कि उनी त नेपाली मौलिक लोक गायन र संगीत क्षेत्रकी बहुमूल्य हिरा थिइन् र हुन् पनि । उनको आवाजमा रेकर्ड भएका मौलिक लोक भाकाहरु नेपाली लोक संगीत क्षेत्रका अनुपम सम्पदा बनेर रहेका छन् । उनको योगदान कतिसम्म छ भने जहाँ जहाँ मौलिक नेपाली लोक गीत र लोक गायनको चर्चा चल्छ वा सन्दर्भ उठ्छ,त्यहाँ हिरादेवी वाइबाको सांगीतिक योगदानको पनि चर्चा हुन्छ ।

बुबा सिहंमानसिंह (एसएम) वाइबा तथा आमा छिरिङ डोल्माका चार छोरा तथा चार छोरी गरि आठ सन्तान मध्येकी जेठी सन्तान हुन् हिरादेवी वाइबा । उनको जन्म सन १९४० को सेप्टेम्वर ९ मा भारतको दार्जिलिङ , अम्बोटीया टी एस्टेटमा भएको हो । आमा बुबापछिको घरको सम्पूर्ण जिम्मेवारी जेठो सन्तानको काँधमा आउनु चलिआएको चलन नै हो । तर घरको जेठी छोरी भए पनि हिरादेवी आमा बुबा ,हजुर आमा, हजुर बुबाका र फुपुहरुको लाडप्यारमा हुर्किएकी थिइन् । अर्काको घर गरेर खानुपर्ने जात भएकोले छोरीचेलीले घरधन्दा सिक्नुपर्छ भनेर घरबाट उनलाई कहिल्यै दवाब दिएनन् । साँच्चिकै भन्नुपर्दा हिरादेवीले त्यतिबेलाको जमानामा समेत कहिल्यै चुलोचौकामा अल्मलिनु परेन ।

दार्जिलिङको अम्बोटियामा प्राइमरी स्कूलमा कक्षा ५ सम्म पढेपछि हिरादेवी सेन्ट जेसिस दार्जिलिङमा भर्ना भईन् । उनी स्कूलको पढाइमा अब्बल विद्यार्थीमा पर्थिन् । स्कूलको पढाइसँगै गीतसंगीतप्रति उनको झुकाव थियो । हिरादेवीका बुबा एसएम सिंह वाईबा स्वयम् लोक गायक तथा लोकगीत संकलक थिए । त्यसैले हिरादेवीले घरमै सानैदेखि संगीतको गुरुको छत्रछायाँ पनि पाइन् । बुबाको मायासँगै संगीतको छत्रछाँयामा हुर्केकी हिरादेवी सानै उमेरदेखि स्कूलमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउदै गइन् । उनको उपस्थिति स्कूलमा मात्र सीमित नभई बिस्तारै दार्जिलिङतिर हुने अन्य सांस्कृतिक कार्यक्रमहरुमा समेत बाक्लिदै जानथाल्यो ।

त्यतिबेलाको मनोरञ्जनको माध्यम भनेको रेडियो नै थियो । गीतसंगीतका पारखी भएकीले रेडियो खूब सुन्ने हिरादेवीमा बिस्तारै गायिकासँगै कार्यक्रम प्रस्तोता बन्ने रहर पलाउन थाल्यो । सायद हिरादेवी साह्रै भाग्यमानी थिईन् । बाल्यकालदेखि नै आफूले चाहेको चिज सजिलै पाउँदै आएकी हिरादेवीको रेडियोमा बोल्ने रहर पनि सजिलै पूरा भयो । उनी सन् १९६३ मा अल ईण्डिया रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा आबद्ध भईन् ।

हिरादेवी रेडियो नेपाल सुनेरै हुर्केकी थिइन् । बेला बेलामा उनी काठमाडौं पुगेर रेडियो नेपालमा गीत रेकर्ड गराउने सपना त देख्थिन् । तर उनलाई त्यो मात्र सपना भन्ने लाग्थ्यो । त्यसैले रेडियो नेपालबाट अकस्मात आएको यति ठूलो अवसर उनले गुमाउन चाहिनन् । रेडियो नेपालबाट गीत रेकर्डको अफर आएसँगै सन् १९६५ मा अल ईण्डिया रेडियो छोडेर उनी काठमाण्डौ आइन् ।

रेडियोमा आबद्ध भएसँगै उनको दुईवटा रहर एकसाथ पूरा हुन थाल्यो । अल ईण्डिया रेडियोमा उनी कार्यक्रम उदघोषण गर्नुको साथै प्रत्यक्ष गीत पनि गाउँथिन् । उनले त्यतिबेला गाएको गीत रेडियो नेपालका केही ब्यक्तिले सुनेछन् । उनको सुमधुर र पृथक गायन शैलीको खुब तारिफ गर्दै सोही गीत रेडियो नेपालबाट रेकर्ड गराईदिने प्रस्ताव उनीसम्म आइपुग्यो । हिरादेवी रेडियो नेपाल सुनेरै हुर्केकी थिइन् । बेला बेलामा उनी काठमाडौं पुगेर रेडियो नेपालमा गीत रेकर्ड गराउने सपना त देख्थिन् । तर उनलाई त्यो मात्र सपना भन्ने लाग्थ्यो । त्यसैले रेडियो नेपालबाट अकस्मात आएको यति ठूलो अवसर उनले गुमाउन चाहिनन् । रेडियो नेपालबाट गीत रेकर्डको अफर आएसँगै सन् १९६५ मा अल ईण्डिया रेडियो छोडेर उनी काठमाण्डौ आइन् । काठमाडौं आएको एक वर्षपछि अर्थात् सन १९६६ मा रेडियो नेपालमा हिरादेवीको आवाजमा पहिलो गीत रेकर्ड भयो । बुबा एसएम वाइबाको लय संकलन तथा हिरादेवीको आफनै शब्द संकलन रहेको उक्त गीत थियो :

फरिया ल्याईदेछन् त्यही पनि रातो घनन
त्यही पनि मन परेन,भनिदेउ न भनन ।

मौलिक लोकलयको यो गीत रेकर्ड भएको केही समयपछि रेडियो नेपालमा बज्न थाल्यो । मौलिक लोकलय, अनि हिरादेवीको पृथक गायनशैली र फरक आवाज सबैले खूब रुचाईदिए । गीतमा श्रीमानले श्रीमतीका लागि उपहार स्वरुप किनेर ल्याइदिएको रातो सारी चित्त नबुझेको गुनासो अभिव्यक्त गरिएको छ । तर हिरादेवीको आवाजमा रेकर्ड भएको पहिलो गीतलाई नै सारा नेपाली श्रोताले चित्त बुझाए । र, रातारात उनी चर्चित गायिका बनिन् ।

पहिलो गीतबाट नै नसोचेको सफलता हासिल गरेकी हिरादेवीले एकपछि अर्काे गर्दै गीत रेकर्ड गर्दै जान थालिन् । यसबीचमा उनले ऐ स्याङबो, राम्री त राम्री,धनकुटाको डाँडै डाँडा जस्ता लोक गीतहरु रेकर्ड गराइन् । ती सबै गीत श्रोताले गजबसँग रुचाइदिए ।

संगीतकर्मीका नजरमा हिरादेवी :

दार्जिलिङकै वरिष्ठ गायक तथा संगीतकार अशोक राईका अनुसार हिरादेवीको जस्तो मौलिक गायन शिल्पी विरलै गायक गायिकामा हुन्छन् । उनको आवाज अनुसारको गायकी र त्यही अनुसारको शब्द र लय छनौटले उनका हरेक गीत जीवन्त हुने गरेको संगीतकार राई बताउनुहुन्छ । उनको त्यही खुबी र प्रतिभाले हिरादेवी नामले मात्र नभई कामले पनि साँच्चिकै नेपाली लोक संगीत क्षेत्रकी बहुमूल्य हिरा जस्तै रहेको राईको धारणा छ ।

संगीतकार राईसँग सहमत हुनुहुन्छ दार्जिलिङकै पूराना संगीतकार तथा गायक मणिकमल क्षेत्री । हिरादेवीको मौलिक लोक गीत र गायनको प्रशंसकहरुमध्येमा उहाँ पनि पर्नुहुन्छ । एकै ठाउँका भएकाले हिरादेवीसँग मणिकमलले पनि सांगीतिक सहयात्रा गर्ने मौका पाउनुभयो । त्यसैक्रम हिरादेवीले पटक पटक आफूसँग आधुनिक गीत गाउने इच्छा प्रकट गरेको संगीतकार मणिकमल अहिले पनि सम्झनुहुन्छ ।

हिरादेवीको गायकीपनलाई राम्ररी मापन गर्न सक्ने क्षमता थियो मणिकमलसँग । त्यसैले हिरादेवीले आधुनिक गीत गाउने ईच्छा पटक पटक आफू समक्ष जाहेर गर्दा उहाँ भन्नुहुन्थ्यो :
दिदीको स्वर लोकगीतकै लागि बनेकोले तपाईले लोकगीतमै आफूलाई सीमित राख्नुपर्छ । भोलि यही तपाईको पहिचान बन्नेछ ।

मणिकमलको कुरा हिरादेवीलाई पनि सायद चित्त बुझ्यो । त्यस उपरान्त उनी लोकगीतलाई नै आफ्नो पहिचान भन्ने सोचेर लोकगीतमै समर्पित हुँदै गइन् । अन्ततः लोकगीतमा नै उनले आफ्नो बेग्लै छाप छोड्न सफल भइन् ।

नेपाली लोक गायनमा लागेर हिरादेवीले असंख्या श्रोता र प्रशंसकको माया मात्र होइन प्रतिष्ठित पुरस्कार र मानपदवी समेत पाइन् । जसमा गोर्खा दक्षिण बाहु पुरस्कार , अघमसिंह सम्मान तथा पुरस्कार , मित्रसेन स्मृति सम्मान तथा पुरस्कार आदि प्रमुख छन् ।

मणिकमलको कुरा हिरादेवीलाई पनि सायद चित्त बुझ्यो । त्यस उपरान्त उनी लोकगीतलाई नै आफ्नो पहिचान भन्ने सोचेर लोकगीतमै समर्पित हुँदै गइन् । अन्ततः लोकगीतमा नै उनले आफ्नो बेग्लै छाप छोड्न सफल भइन् ।

फिल्म जस्तै जीवनशैली र प्रेम

आफ्नो छुट्टै तर विशिष्ट स्वरमा मौलिक नेपाली लोक गीत पस्केर नेपाली श्रोता र प्रशंसकका मनमा सधैंका लागि बसेकी हिरादेवीको व्यक्तिगत जीवनगाथा भने कुशल लेखकले लेखेको कुनै चलचित्रको कथाभन्दा भिन्न छैन । चाहे उनको जीवनशैली होस् या प्रेम प्रसँग सबै फिल्मी लाग्छ । कतिसम्म भने उनको निधन समेत कुनै दुखान्त फिल्मको क्लाइमेक्स जसरी नै भयो ।

बाल्यकालदेखि आफूले जे सोच्यो,त्यही पूरा हुँदै आएकी हिरादेवीलाई आफूले रोजेको जीवनसाथी पाउन भने मुस्किल पर्यो । कसो कसो हिरादेवीको पञ्जाबी मूलका युवक रतनलाल आदित्यसँग गहिरो प्रीति बस्न पुग्यो ।

जात र धर्मकै कारण हिरादेवीका परिवारले आफूलाई स्वीकार गर्दैनन् भन्ने रतनलाललाई राम्रैसँग थाहा थियो । यसैले उनले फिल्मी बाटो रोजे । अर्थात शुरुमा रतनलालले हिरादेवीको भाइसँग दोस्ती बढाए । त्यो दोस्ती घनिष्ट भएपछि बिस्तारै रतनलाल हिरादेवीको घरमा आउजाउ गर्न थाले ।

रतनलाल ईण्डियन आर्मीमा जागिरे थिए । एउटा कार्यक्रमको शिलशिलामा हिरादेवीसँग उनको भेट भएको थियो । त्यही भेटघाटबाट सुरु भएको उनीहरुको चिनजान पछि आएर प्रेममा परिणत भयो । रतनलाल पन्जाबी थिए । त्यसैले उनीहरुबीच न जात मिल्थ्यो, न भाषा न त धर्म नै । मिलेको थियो त केवल मन । भन्नलाई त सजिलो थियो–मायाले न जात हेर्छ न त धर्म नै । तर व्यवहारमा भने बडो मुस्किल थियो । जात र धर्मकै कारण हिरादेवीका परिवारले आफूलाई स्वीकार गर्दैनन् भन्ने रतनलाललाई राम्रैसँग थाहा थियो । यसैले उनले फिल्मी बाटो रोजे । अर्थात शुरुमा रतनलालले हिरादेवीको भाइसँग दोस्ती बढाए । त्यो दोस्ती घनिष्ट भएपछि बिस्तारै रतनलाल हिरादेवीको घरमा आउजाउ गर्न थाले । निरन्तरको भेटघाटले हिरादेवीको बुबालाई पनि रतनलालको बानीब्यहोरा मनपरिसकेको थियो । त्यही मौका छोपेर सही समय आएपछि रतनलालले उनका बुबासँग हिरादेवीको हात मागे । शुरुमा त हिरादेवीका बुबाले ठाडै अस्वीकार गरेका थिए । तर आखिरमा प्रेमको अगाडि कस्को पो के जोर चल्थ्यो र ? अन्तमा परिवारकै सहमतिमा हिरादेवी र रतनलाल आदित्यले आफ्नो तीन वर्षको प्रेमलाई विवाहमा परिणत गरे ।

श्रीमान आदित्य प्रायः सेनाको जागीरमै व्यस्त रहन्थे । हिरादेवी गीत संगीतसँगै शिक्षण पेशामा आबद्ध थिईन् । यसबीचमा उनीहरुका दुई सन्तानको जन्म भैसकेका थिए । जेठी छोरी नवनीत आदित्य वाइबा र कान्छा छोरा सत्य आदित्य वाइबा ।

दुई आँखाका नानी जस्तै दुई सन्तानसँगै हिरादेवीका गीतहरु जस्तै समधुर हुँदै थियो वाईबा दम्पत्तिको पारिवारिक जीवन ।

तर एकदिन हिरादेवीको जीवनमा बज्रपात भयो । उनको जिन्दगीको आकाश नै खसिदियो । अर्थात सन् १९९२ को मार्चमा हृदयघातका कारण श्रीमान् रतनलालको निधन भयो । श्रीमानसँगको वियोग भुल्न हिरादेवीलाई मुस्किल पर्यो । जति गर्दा पनि उनले आफ्नो मनलाई सम्हाल्नै सकिनन् । त्यसको प्रत्यक्ष प्रभाव उनको गायनमा पर्यो । किनभने त्यसयता हिरादेवीले चटक्कै गाउन छोडिन् । छोरा छोरी,आफन्त र शुभ चिन्तक जसले जति सम्झाए पनि उनको मन संगीतमा फेरि फर्किएन । त्यसैले संगीतसँग उनको दुरी बढ्दै गयो । बरु हिरादेवीले शिक्षण पेशामा आफ्नो सक्रियता बढाउदै लगिन् । तर सन् २०११ को जानवरी १९ तारिखका दिन घरमै हिटर ताप्ने क्रममा भएको आगलागीबाट ७१ वर्षको उमेरमा उनले आफ्नो जीवनकथालाई पूर्ण विराम दिइन् ।

आमाको मार्ग पछ्याउदै सत्य–नवनीत

आमा हिरादेवीको निधन हुँदा दुवै सन्तान नवनीत र सत्य आदित्य वाइवा आ आफ्नो ठाउँमा सेटल भैसकेका थिए । छोरी नवनीत हङकङमा कार्यालय रहेको क्याथे एयरवेजमा जागिरे थिइन् भने छोरा सत्य बेलायतमा बस्थे ।

छोरी नवनीत आमाकी प्यारी थिइन् । आमाले हार्मोनियम बजाएर रियाज गरिरहँदा छोरीलाई पनि सँगै राख्थिन् । तर छोरी नवनीतलाई भने हार्मोनियमसँग अल्छि लाग्थ्यो । उनलाई त गीतारसँग प्रेम थियो । तर गीत गाउँछु भन्ने चाहिं नवनीतलाई त्यतिखेर लागेको थिएन ।

जब सन् २०११ मा आमाको निधन भयो, छोरी नवनीतलाई मातृ वियोग सहन गाह्रो भयो । त्यसैले उनी १० वर्षसम्मको हङकङ बसाइँ त्यागेर दार्जिलिङ फर्किन् । तर उनलाई आमासँग विताएका हरेक पलहरुको यादले सताउँथ्यो । कतिसम्म भने झण्डै तीन वर्षसम्म त नवनीतले आमाका गीतहरु समेत सुन्नै सकिनन् ।

समय वित्दै गएपछि छोरी नवनीतलाई आमाका इच्छा र सपनाहरु पूरा गर्दै जानुपर्छ भन्ने मनमा लाग्न थाल्यो । आमा हिरादेवीको सपना थियो छोरी नवनीतलाई आफू जस्तै गायिका बनाउने ।

जब नवनीतलाई लाग्यो–आमाको इच्छा पूरा गर्नुपर्छ । त्यसपछि उनले आमाका पूराना गीतहरु सुन्दै जान थालिन् । शुरु शुरुमा त एक लाइन पनि सुन्न सक्दिन थिइन् उनले । आमाको स्वर सुन्ने बित्तिकै भक्कानो छुट्थ्यो । तर पछि उनले आफूलाई सम्हाल्दै जान थालिन् । आमाले सधैं रियाज गर्ने हार्मोनियममा आमाले छोडेर गएका औंलाका स्पर्शहरु महसुस गर्दै छोरी नवनीतले आमाकै लय र शैलीलाई पछ्याउदै गइन्–

धनकुटाको डाँडै डाँडा चल्यो होला बतास….

अब आमाका गीत सुनेपछि उनको मनमा छुट्टै उमंग थपिन्थ्यो, बेग्लै जोश र जाँगर भरिन्थ्यो । यसलाई उनले आमाको आशीर्वादका रुपमा लिन्थिन् । आमाका गीतलाई न्याय गर्न सक्छु भन्ने हिम्मत मनमा भरिएपछि बल्ल नवनीतले एकदिन भाइ सत्यसँग मनको गाँठो खोलिन् र आमाका गीतहरुको रिमेक गर्ने र आफ्नो आवाजमा रि रेकर्ड गराउने सल्लाह गरिन् । भाइ सत्यको मनमा पनि यही कुरा खेलिरहेको थियो । दिदीको योजना सुनेर सत्यको त खुशीको कुनै सीमा नै रहेन । किनभने आमाका गीतहरुलाई पूरानै मर्म नमर्ने गरेर नयाँ आवाजमा पुनः रेकर्ड गराउने भनेर सत्यले आमाका गीतहरु संकलन गर्न थालिसकेका थिए । त्यसमाथि दिदी आफैले आमाको गीतमा आवाज भरिदिने भएपछि सत्यमा थप उर्जा थपियो । अब दिदीभाइ मिलेर गीत रेकर्डिङको योजनाहरु बुन्दै जान थाले ।

शुरु शुरुमा त एक लाइन पनि सुन्न सक्दिन थिइन् उनले । आमाको स्वर सुन्ने बित्तिकै भक्कानो छुट्थ्यो ।

गीत रेकर्डिङका लागि उपर्युक्त व्यक्ति वा समूह खोज्दै जाने क्रममा वाइवा दिदीभाइको सहकार्य नेपालको मौलिक सांगीतिक समूह कुटुम्बसँग भयो ।
कुटुम्बकै संगीत संयोजन र व्यवस्थापनमा नवनीतले आमाका गीतहरु एक एक गरि रेकर्ड गराउदै गइन् । त्यसरी रेकर्ड गराएका गीतहरुलाई उनीहरुले सन् २०१७ मा ”आमालाई श्रद्धाञ्जली” नामक गीति एल्वम सार्वजनिक गरेर स्वर्गीय आमा हिरादेवीमा सांगीतिक श्रद्धाञ्जली समर्पण गरे ।

अन्त्यमा,

लोक संस्कृति र परम्परामा धनी नेपालका हरेक क्षेत्र,जाति र समुदायका आ आफ्नै मौलिक र विशिष्ट लोक संस्कृति छन् । लोक लयकै कुरा गर्नुपर्दा मगरले मादले गीत,दमाईले बिबाह गीत , खस बाहुनले खैंजडी,बालम गीत ,राई लिम्बुले सकेला र धाननाच गीत अनि तामाङले तामाङ सेलो गाउँने परम्परा छ । गायिका हिरादेवीको बिशेषता के थियो भने उनी यी सबै ठेट लोकभाकाहरु दुरुस्त गाउथिन् । करिब पाँच दशक लोक गायनमा लागेर विभिन्न समुदायका झण्डै तीन सय गीत गाइन् उनले । हिरादेवीको भौतिक शरीर त छैन आज । तर उनले गाएका गीतहरुका कारण आजपनि उनी हिरा झैं चम्किरहेकी छिन् र चम्किरहनेछिन् ।

( सामाग्री स्रोत : जनता टेलिभिजनको कार्यक्रम जुम इन । प्रस्तोता विना श्रेष्ठको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।