Logo आश्विन १५, २०७७ बिहीबार


कथा : सुपारी

-पुण्यप्रसाद खरेल

म डल्लो छु, कडा छु, स्वाद–न–ब्यादको छु तर स्वाद–न–ब्यादको हुनु पनि एउटा महत्व रहेछ । अहिले म चम्किएको बेला हो । यसरी म चम्किएको बेला म के गर्छु ? मान्छेहरूले ज्युँदो मान्छेको कथा पढ्छन्, सुन्छन् नि ! हो, ती ज्युँदो मान्छेको जस्तै काम गर्छु म । स्वर्गलोकका जतिलाई नर्कलोकतिर, नर्कलोकका जतिलाई स्वर्गलोकतिर साराफेरा गरेको थियो अरे नि त्यो ज्यूँदा मान्छेले ! हो, त्यस्तै म पनि महलकालाई झुपडीतिर र झुपडीकालाई महलतिर पार्छु पो त !

उ…त्यो ठ्याक्कै म उभिएको ठाउँदेखि एक सय मिटर पूर्वमा बगिरहेको नदी प्रसिद्ध नदी मेची हो । यो नदीका आँखा भए देख्ने थियो । म के गर्छु ? दिउँसो दिउँसो कसरी म मरेतुल्य हुन्छु, फट्याक्–फुटुक् पुच्छर चलाउनु, कान चलाउनु मात्रै गरेर आनन्द सुतेको गाई वस्तु देख्नु भएको होला ! मेरो चालामाला दिउँसो त्यही हो । निरीक्षण गर्न आउनेले, सुपरीवेक्षण गर्न आउनेले के सुपरीवेक्षण गर्नु ? सुपारी भक्षण गर्छन् र भन्छन्– ‘सुपारी व्यापार त भस्याक् भुसुक सकिएछ !’

तर साँझ परेपछि म कसरी जाग्छु त्यो कुरा कि त मेची नदीलाई थाहा छ, कि मलाई थाहा छ, नभए ती सय–पचास कदमको फरकमा राइफलसँग उभिएर मलाई इशारा गर्ने सुरक्षाकर्मीलाई थाहा छ । म रातमा गोलो घोचिएको अरिंगाल जस्तै हुन्छु । यति बेला म कसलाई टोक्छु, कसलाई चिल्छु, कता बतासिन्छु केही पत्ता हुँदैन । तर मेचीको जगर–बगर म नै म जस्तै पो पार्छु त ! रूप त मेरो जस्ताको तस्तै हो नै भनुँन, म साइकलमा, भुट्भुटेमा, ट्याक्टरमा या ट्रकमा सवार हुन्छु । आउँदा म कन्टेनरमा आए पनि जाँदा म कन्टेनरमा जान्न, जाने हुइनँ । जुन बाटो आएँ त्यही बाटो फर्किने जस्तो गरे पनि, जसरी आएँ त्यसरी नै फर्किने त हुइनँ हुइनँ । उसो त म आउँदा मलेसिया, फिलिपिन्स तिरबाट आएको भए पनि म त्यति टाढा जान्न अब । यहीं भारतमा त्यत्रो मेरा प्रेमी हुँदाहुँदै मैले किन समुद्र तरिरहनु र !

केही अस्ति म पुराना–पुराना भुट्भुटेमा यात्रा गर्थें यो क्षेत्रभरि । तर मेरो भुट्भुटेको यात्रा भने डरलाग्दो थियो । म कुद्दै गरेको बाटोमा केटाकेटी, आइमाई आइपरे भने त सोरपटार सँगसँगै घिस्याउने गर्थें, आफ्नो टुङ्गोमा, स्टेशनमा पुर्याउँथे । उस्तै लाठे–लठुवा परे भने मात्रै अल्झन बल्झन हुने हो । घुम्तीमा, होचो–अग्लो, गड्याङ्–गुडुङ् बाटोमा मेरो भुट्भुटेको कुदाइ देखेरै मान्छेले घण्टी थर्काउँदै आउने दमकललाई झैं, साइरन बजाउँदै आउने एम्बुलेन्सलाई झैं दस हात पर सरेर बाटो छोडिदिन्थे । बाटो नछोड्दा ज्यान जोखिममा पर्ने झैं बुझ्थे उनीहरूले । म त एक्स्प्रेस रेलगाडी जस्तो गरी दौडन्थें । मेरो भुट्भुटे उस्तै, रेलको इन्जनजस्तै, आवाज पनि त्यस्तै । त्यो भुट्भुटेलाई म हाइ–वे मा कुदाउँदैनथें । अरु त कस्ले कुदाउँथ्यो र त्यो मैले कुदाउने भुट्भुटे ! त्यो पुरानो हुन्थ्यो, घिनलाग्दो हुन्थ्यो, अरुले कुदाउन पनि जान्दैनथे । बिहान के–के गरेर भुटुुटु पारेपछि जतिञ्जेल चल्छ भुटुटुटुटु जेनेरेटर जस्तो नबिसाइकन कुदाको कुदायै । बिसाए पछि त त्यो बिसाइयो । यो भुट्भुटेको पारा देखेर नेपालीको एउटा उखान बुझेको हुँ मैले– ‘उठे सगरसम्म बसे गजधम्म !’ हुन पनि भुटुटु गरेपछि ग¥यो ग¥यो, भुटुटु चुप भएपछि चुप लाग्यो लाग्यो ! फेरि भुटुुटु गर्न त मिस्त्री बोलाउनु पर्छ जस्तै । मैले यस्तो भुट्भुटे चढेको पनि किन भने, मलाई सरकारले खुप आँखा गाडेको छ । यसै त ममाथि आँखा गाडेको छ, त्यसमाथि राम्रो, नयाँ भुट्भुटेमा म चढेँं भने त म ठेगानामा पुग्नै पाउँदिनँ, मेरो स्टेशनमा म पुग्नै पाउँदिनँ । त्यो सुन्दर भुट्भुटेसँगै म अपहरणमा परि हाल्छु ।

उसो त म साइकलमा पनि यात्रा गर्थें । साइकलमा हुने मेरो यात्रा भुट्भुटेमा हुने भन्दा त्यति फरक थिएन । भुट्भुटेमा म पछाडि एक जनाले समातेर दुई–दुई बोरामा हुन्थेँ भने साइकलमा चाहिँ भाँटा बाँधेर मलाई सिट मिलाइएको हुन्थ्यो र म एक बोरासम्म मात्र चढ्थेँ । साइकलमा पनि मेरो दौडाइ त उस्तै उस्तै थियो, भुट्भुटेकै जस्तै दुरुस्त । जाँदा–फर्किंदा लगभग भुट्भुटे र साइकलको वेग उस्तै उस्तै पो हुने । बाटो काट्ता ओर्दा आफूले होइन अरुले नै जोगिनु पर्ने । अहिले पनि मेरो त्यो चाला कायमै छ भने पनि हुन्छ हो, साँच्चै भन्दा । पैदल यात्रा गरे पनि धेरै जसो म लुकेर, छुपेर यात्रा गर्छु । तरुनी आइमाईका साथ गएँ भने ती गाभिना जस्ता हुन्छन्, मरिसक्केका सुसुपालका साथ गएँ भने ती यामानका मोटा–न–मोटा, भीमसेन जस्ता देखिन्छन् । हुँदा हुँदा त कहिलेकाहीं मलाई लुकाएर लैजाने निहुँमा डोकाले छोपेर लुकाए झैं पो पार्छन् । झन् मान्छेले तीन छक्क परेर, ट्वा…आँ… परेर मलाई हेर्नु पर्ने जस्तो पो पार्छन् ।

मेचीको डिलमा रातीराती मेरो खोलातिर ओर्लिने पारा अचम्मको छ । बनारसमा बजार छेउबाट गङ्गा नदीतिर ओर्लिने ठाउँ त सिंडी नै सिंडी छन्, तर यहाँ मेरो ओर्लिने ठाउँ सिंडी होइन, चिप्लेटी छ । यो चिप्लेटी कोही ठाउँ जमिन आफैं ढलोट परेर बनेको छ भने कोही ठाउँ चाहिं मेरा आफन्तले सिमेन्टका बोरामा गिट्टी, बालुवा भरेर मिलाएर पनि बनाएका छन् । कोही ठाउँ त चिप्लेटी पनि होइन, उफ्रेटी परेको छ, माथि डिलबाट बुद्रुक्क उफ्रिन मिल्ने बनेको छ । माथि डिलबाट हरापट्टि बोराभित्र थुनिएको मलाई ह्वात्त चिप्ल्याए पछि त सललल्ल तल मेची खोलामा, दस गजामा पो एकै चोटि म अवतरित हुन्छु । अनि मेरो त्यहाँ बढौती हुन्छ । न यताको सरकारको हप्की, न उताको सरकारको खप्की ! म त्यहाँ अहा !! हुन्छु । त्यहाँ अब लेना हुन्छ, देना हुन्छ, देना हुन्छ, लेना हुन्छ । त्यो लेना अनि देना पनि कमको हुँदैन, पैसा त लेना–देना हुन्छ हुन्छ, त्यसमाथि कहिलेकाहीं अस्मिता लेना–देना हुन्छ, कहिले हात–लात लेना–देना हुन्छ, कहिलेकाहीं डाङ्–डाङ् डुङ्–डुङ् लेना–देना हुन्छ, भने हुँदा हुँदै त्यहाँ कहिलेकाहीं त जिन्दगी नै लेना–देना पनि हुन्छ । म ज्यूँदो छु । ज्यूँदाका लागि कहिलेकाहीं अरु ज्यूँदाहरू आफ्नो ज्यान लिन्छन्–दिन्छन् र त्यो भोलिपल्टको अखबारमा बेवारिस लासको खबर बनेर पनि आउने गर्छन् । दिनेले दिन्छ तर लिनेले लिएँ भन्दैन अनि त्यो खबर त्यसरी आउँछ ।

भन्नलाई त्यहाँ त्यसरी लेना–देना नहोस् ! त्यहाँ देना–लेना नहोस् ! भनेर सय–पचास कदमको फरकमा राइफलसँग सरकारले सुरक्षाकर्मी पनि राखेको छ । तर यथार्थमा देना–लेना नहोस् भनेर राखेको हो जस्तो पटक्कै लाग्दैन । किनभने यहाँ मलाई उनीहरूले भेटे भने पनि त्यही गर्छन् जुन अरुअरु देना–लेना वालाले गर्छन् । यी सुरक्षाकर्मीहरू पनि उही भुँडी भएकै, उही खाने मुख भएकै, लगाउने आङ भएकै छन् । उनीहरूका घरमा श्रीमती छन्, श्रीमतीको सुनका गहनाको तिर्सना लप्सीको गेडो देख्ता राल चुहिए झैं हुरुक्कै भएकै हुन्छ, राम्रा ठाउँमा घडेरी र त्यहाँ महलको सपनाले उठी सुख न बसी सुख पारेकै हुन्छ । मेचीछेउमा बसेर पनि त्यति बन्दोबस्त गर्न सकिएन भने जीवन हाइलण्ठु हुन्छ भन्ने प्रष्ट बुझेकै हुन्छन् ती सुरक्षाकर्मीले । त्यसकारण उनीहरू लेना–देना, वा देना–लेना रोक्न होइन व्यवस्थित गर्न चाहन्छन् । उनीहरू सरुवा मिलाएर मेचीछेउमा आउँदाखेरि नै एक–डेढ लाखदेखि दस–पन्ध्र लाखको कोसेली भिडाएर मात्रै आउन पाएका हुन्छन् । ‘घाटाको व्यापार गर !’ भनेर त कसैलाई भन्नु भएन नै । उनीहरूले त्यो लगानी गरेको पनि यहाँ मेरो चर्तिकला देखेरै हो नै ।

यस्तै भए पनि मान्छेका अनेक गुण जाँच्ने इन्डिकेटर पनि हुँ नि म ! अम्लियता जाँच्ने लिटमस पेपर जस्तै, पी एच स्केल जस्तै ठ्याक्कै मलाई उपयोग गरेर मान्छेहरू यहाँका व्यापारीको ग्रेड छुट्याउँछन्, यहाँका राजनेताको, यहाँका सुरक्षाकर्मी या प्रशासकको सफलता असफलता जाँच्छन् । म भनेको चल्तीको हावा हुँ । अर्थात् मेरो बगाइको धार कहिले कुन दिशा कहिले कुन दिशा हुन्छ, दिशा परिवर्तन भइरहन्छ । त्यो मेरो बगाइको धार सापको खुट्टा जस्तै हो, जोसुकैले देख्दैन । त्यो कुशल व्यापारीले देख्छ, अनि त्यो कुशल ब्यापारीको चश्माले हेरेर कुशल राजनेताले पनि देख्छ । कुशल व्यापारीहरू, कुशल राजनेताहरू, कुशल प्रशासकहरू मेरो बगाइको धार बुझेर पौडी खेल्छन्, उनीहरू त्यसैले प्रायः सिपालु हुन्छन् । यस क्षेत्रका सुरक्षाका सबैजसो हाकिमहरू पनि, प्रशासनका हाकिमहरू पनि मेरो बगाइको धार बुझ्न खप्पिस नै हुन्छन् । उनीहरू आउने बित्तिकै यहाँका व्यापारीकहाँ पुगेर चश्मा लिन्छन् । कुनै कुनै सुरक्षाकर्मी, प्रशासक मात्रै हाइलण्ठु हुन्छन्, ती व्यापारीको चश्माको सरोकार नराख्ने भइ टोपल्छन्, तुरुन्त ठक्कर खान्छन्, खालि हात ती फिर्ता गरिन्छन्, सरुवा गरिन्छन् ।

मेरो बगाइको धार कहिले कुन दिशा कहिले कुन दिशा हुन्छ, दिशा परिवर्तन भइरहन्छ । त्यो मेरो बगाइको धार सापको खुट्टा जस्तै हो, जोसुकैले देख्दैन । त्यो कुशल व्यापारीले देख्छ, अनि त्यो कुशल ब्यापारीको चश्माले हेरेर कुशल राजनेताले पनि देख्छ । कुशल व्यापारीहरू, कुशल राजनेताहरू, कुशल प्रशासकहरू मेरो बगाइको धार बुझेर पौडी खेल्छन्, उनीहरू त्यसैले प्रायः सिपालु हुन्छन् ।

मलाई एक पल्टको घटना याद छ, खुप मै हुँ भन्ने एक जना पुलिस हाकिम आए यहाँ । उनले मेरो यो चल्तीफिर्ती बन्द गर्ने ठानेका हुन् कि, आफू महल बनाउने सोचेका हुन् ! मलाई खुप व्यापारीको गोदामको गोदाममै कुहाउँला झैं गर्न खोजे । म कन्टेनरमा आएर एक छिन व्यापारीको गोदाममा बसे झैं गर्दै, आफ्नो रूप परिमार्जन गर्दै जुन बाटो आयो त्यही बाटो फर्किने नै हुँ । जब म जबर्जस्ती निस्केर ट्रकमा, टे«क्टरमा, भुट्भुटेमा, साइकलमा या मान्छेहरूका जीउमा बाँधिएर आफ्नो बाटो फर्किन थालेँ, मेची नदीको किनार पुग्नुभन्दा पहिले नै उनले मलाई पक्राउ गरे । मलाई ल्याएर भन्सारका गोदाममा पो थुन्न खोजे । म पक्राउ पर्नु त के र ! मलाई त कुनै फिक्री हुने होइन नै ।

यहाँका व्यापारीले भन्सार ढाट बन्द गर्न थाले, जुलुस र नारा लाउन थाले । उद्योग वाणिज्य सङ्घहरू त मेरो चल्तीफिर्तीमै जम्ने हुन् । उनीहरू पनि ‘मलाई तुरुन्त मुक्त गरिनु पर्छ’ भनेर माग गर्दै बजार बन्दको आह्वान गर्न थाले । मेरो पक्राउबाट व्यथित बनेर नेपाली कांग्रेसका नेताहरू त आउने नै हुन्, आएकै हुन् । कति न क्रान्तिकारी हुँ भन्ने माओवादीका नेताहरू पनि पो उधुमसँग मलाई छुटाउन अनेकओली माग राख्तै आए, एमालेहरू पनि के र के गर्दै मलाई यसरी पक्राउ गर्नु सर्वथा बेठीक हो भनेर आए । मलाई त थाहा भएकै हो, यहाँको राजनीतिमा मेरो गतिलो हात छ । पक्राउ परेको हेरिरहे कुनै राजनीतिक दलले भने चुनावमा उसका कार्यकर्ता खाजाभत्ता, खानाभत्ता पाउँदैनन् । विचरा पुलिस हाकिम अडान लिन खोजेका थिए, भोलिपल्ट उनको सरुवा भयो । अनि म सोच्तछु, वाफ रे ! म केही हुँ कि क्या हो !

मेरो पक्राउबाट व्यथित बनेर नेपाली कांग्रेसका नेताहरू त आउने नै हुन्, आएकै हुन् । कति न क्रान्तिकारी हुँ भन्ने माओवादीका नेताहरू पनि पो उधुमसँग मलाई छुटाउन अनेकओली माग राख्तै आए, एमालेहरू पनि के र के गर्दै मलाई यसरी पक्राउ गर्नु सर्वथा बेठीक हो भनेर आए । मलाई त थाहा भएकै हो, यहाँको राजनीतिमा मेरो गतिलो हात छ ।

हेर्दा सानो भए पनि, रूप न रङको भए पनि, स्वाद–न–ब्यादको भए पनि म हुँ के–के जाति । मैले कतिको घर बसालें बसालें ! कतिलाई महल बनाइ दिएँ दिएँ ! मैले निकै चेलीको पनि सोचाइ, जीवनवृत्ति नै आनका तान फरक पारिदिएँ । उनीहरूको जीवनमूल्य नै बद्लाई दिएँ । पूर्वीय परम्पराले जकडिएका ती चेलीलाई महिला अधिकारले सुसज्जित हुन सिकाइ दिएँ । उनीहरूको आत्मबल बढाएर सगरमाथा बनाइ दिएँ । नजान्दा, चिन्तनको संव्रmमणी अवस्थामा सन्तुलन नमिलेर कतिले आफैंलाई गुमाए पनि । म त यथार्थमा ‘जीवन, मर्यादा, चरित्र भन्ने सप्पै कुरा पैसा हो, पैसा भए ऐसा हुन्छ, पैसा नभए हिस्स हुन्छ । हिस्स भएपछि त ‘हरिया दाँत’ हो नै’ भन्ने यथार्थ दर्शन सिकाउने नै हुँ । ‘शरीर त उपभोग्य हो ! तिम्रो शरीर तिम्रै उपभोगका लागि, तिम्रै सुखका लागि हो । तिम्रो शरीर तिमीलाई के गर्दा ? कसो गर्दा ? चरम सुख प्राप्ति हुन्छ, आनन्द हुन्छ, के गर्दा यश मिल्छ ? सकेसम्म आजैबाट, अहिल्यैबाट त्यसो गर्न लाग !’ भनेर सिकाउने हुँ । मेरो यो मन्त्र सजिलै ग्रहण गर्नेहरू सिक्छन्, पैसा कमाउँछन्, यश कमाउँछन् ! ग्रहण नगर्ने कठमुल्लाहरू किनारामा बसेर राल चुहाउँछन्, पछि बेला बितायो पछुतायो हुन्छन् ! मेरो कुरा त यही हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।