Logo आश्विन २, २०७७ शुक्रबार


पढाउने तरिका बदल्ने कि ?

पहिलो पाइला

शिक्षकले विद्यार्थीलाई कोण पढायौँ । विद्यार्थीले कोण खिचे । नापे । तिनले थाहा पाए कति डिग्रीका कोण रहेछन् । नाम केके रहेछ । यस अर्थमा बैंकिङ । शिक्षकले जानेको सिकायौँ । भोगेको बिर्सियौँ । विद्यार्थीलाई नजानेको घोकायौँ । देखेको लुकायौँ । यहीँनेर मेरो पहिलो सोच हो— सम्ममा कोदालो खन्दै गरेको व्यक्तिको चित्र बनाउने । भिरालोमा खन्दै गरेको चित्र बनाउने । आफूले बनाउनु पर्दैन । विद्यार्थीलाई भने हुन्छ । उनीहरूले आफ्नै चित्र कोर्छन् । आमाको चित्र कोर्छन् । बुबाको चित्र कोर्छन् । अनि त्यही चित्रमा कोण नाप्न लगाउने । यी र यस्ता तर्किवले पढाउने तरिका बदलिन्छ । विद्यार्थी किताबी बन्दैनन् । शिक्षक मायावी बन्दैनन् । नाटक गर्ने । विचरा विद्यार्थीले पत्याउनै पर्ने । के यो र यस्तै तरिकाले गणित पढाउने हो त ?

दोस्रो पाइला

शिक्षकले अङ्ग्रेजी पढायौँ । दिस इज ए म्यान । विद्यार्थी क्रमशः घोक्ने बन्यो । अरूलाई देखाउने बन्यो । आफूलाई बिर्सियो । यस अर्थमा मार्क्सको बिछोडवादी (Alienist) । पढाइ र आफूलाई नजोड्ने । यो हाम्रो विशेषता हो । बिछोडमै पढाउने । बिछोडिनै पढ्ने । यहीँनेर मेरो भनाइ हो— विद्यार्थीलाई आफैँतिर फर्काउने । आफ्नैतिर फर्काउने । आफूतिर फर्काउँदा शरीरका अङ्ग अङ्गको नाम सिकाउने । माई हेड । माई नोज । आफ्नैतिर फर्काउँदा मेरो खेत । मेरो बारी । मेरो घर । मेरो डेरा । मेरो थाल । मेरो कचौरा । यसो गर्दा विद्यार्थीले मबारे जम्मै जान्दछ । मेरोबारे जान्न थाल्छ । यहीँनेर शिक्षक भनौँला पाठ्यपुस्तकमा त अर्कै छ नि । त्यहीँ हाम्रो दुर्बुद्धि हो । के मबारेको पाठ्यपुस्तक बन्दैन र ? मेरोबारेको पाठ्यपुस्तक हुँदैन र ? के हामी शिक्षकले यस्तो उपक्रम थाल्ने हो त ?

तेस्रो पाइला

हामी रोगी हौँ । पत्यारका रोगी । त्यसैले भन्छौँ— जोन डिवे (John Dewey)  ले परियोजना विधि ल्याए । हो र ? बुद्धले पुत्रशोकमा रहेकी महिलालाई मान्छे नमरेको घरको अन्न खोज्न लगाए । तिनले खोजिन् । पछि बुझिन्— त्यस्तो घर नै हुँदो रहेनछ । कत्रो ठूलो परियोजना विधि । कति सहज तरिकाले सिकाउने विधि । यस्तै तरिका नचिकेताले गरे । ब्रम्ह के हो ? प्रश्न यही हो । बुबाले भनिदिए— आफैँ खोज । यो खोजले नचिकेताले अनेकन ब्रम्ह बुझे । अन्नं ब्रम्ह । जलं ब्रम्ह । खं ब्रम्ह । तेज ब्रम्ह । यसरी ब्रम्ह चिनाउने नचिकेताका बुबाको तरिकामा परियोजना विधि छैन र ? त्यसो हो भने पश्चिमाले भनेको जोन डेवी परियोजना विधिका स्रस्टा हुन् त ? उनीहरूलाई होला । हामीलाई नहुन सक्दैन र ? यहीँनेर मेरो भनाइ हो— के हामी ज्ञानको भित्तोे खोज्न सक्छौँ त ? खोजाउन सक्छौँ त ? प्रत्येक कुरामा हाम्रा पुर्खा कति र उनका पुर्खा कति भन्न जान्दछौँ त ?

चौथो पाइला

पत्याउनेहरू भरिया हौँ । शिक्षक नामधारी भरिया । विद्यार्थी नामधारी भरिया । यस्तै भरियाहरूले गर्दा हामी आक्रान्त छौँ । त्यसैले हामी जे पढ्छौँ त्यहीँ छोड्छौँ । भरियाबुद्धिकै बसियत हुन्छौँ । त्यसैले स्वस्थानी पढ्दा ‘निमेष भरका लागि त्रिपुर जोडियो’ भन्छौँ । निमेष भनेको कति मिनेट हुन्छ सोच्दैनौँ । केको भारी भनी नसोध्ने भरिया जस्ता । अनि मिनेट पढाउँदा साठी सेकेन्ड सिकाउँछौँ । अर्थात मिनेट पढाउँदा मिनेट मात्रै सिकाउने भरिया । निमेष सिकाउँदा निमेष मात्रै सुनाउने भरिया । यो भरिया बुद्धि बदल्ने हाम्रो रहर छ त ? छ भने मेरो सोच त्यही हो । युक्लिडको गणितमा वेदको गणित खोज्ने । वेदको गणितमा युक्लिडको गणित हेर्ने । के यस्तो बाटोमा हामी भरिया बुद्धिका शिक्षक लाग्न सक्छौँ त ? नवभरिया बनाइएका विद्यार्थी लाग्छौँ त ?

बुद्ध पढ्दा सन्देह ठिक भन्ने । मार्क्स पढ्दा वर्ग ठिक भन्ने । सन्देह ठिक कि वर्ग (Skepticism or determinism) ?

पाचौँ पाइला

सन्देहमा बुद्धि जन्मन्छ । हामी पत्यारमा लाग्यौँ । यहीँनेर बुद्धलाई मा¥यौँ । सिर्जनालाई मार्यौं । बुद्ध पढ्दा सन्देह ठिक भन्ने । मार्क्स पढ्दा वर्ग ठिक भन्ने । सन्देह ठिक कि वर्ग (Skepticism or determinism) ? पहिलो सर्जक हो । दोस्रो पिछलग्गु । यस अर्थमा हामी पिछलग्गु हौँ । पिछलग्गु शिक्षक । पिछलग्गु विद्यार्थी । यहीँनेर मेरो भनाइ हो— सन्देह गर्न पो सिकाउने हो कि ? शिक्षकमा सन्देह । विद्यार्थीमा सन्देह । ‘गुरु ब्रम्ह गुरु विष्णु’ भन्ने रट भन्दा भिन्न । के हामी यस्ता भिन्न सोची शिक्षक बन्न सक्छौँ त ? भिन्न सोची विद्यार्थी बनाउन सक्छौँ त ?

छैठौँ पाइला

हामीले ठान्यौँ— हामी जान्दछौँ । विद्यार्थीले पनि ठाने शिक्षक जान्दछौँ । के साँच्चै हो र ? खसी काट्दा तेल बेसार लाउन कसले सिकायो ? शिक्षकले हो र ? पढे लेखेकाले हो र ? बरु हामीले भने तेल र बेसार मिसाउँदा यो रासायानिक प्रक्रिया हुन्छ भन्यौँ । खरानी र बेसार पकाउँदा यसो हुन्छ भन्यौँ । पकाउन सिकाउने त अनपढ हुन् नि । तेल बेसार लगाउन सिकाउने त उनै हुन् नि । यस अर्थमा शिक्षकहरू विश्लेषक रहेछौँ । अनपढहरू स्रष्टा । को ठूलो स्रष्टा कि विश्लेषक ? यति बुझ्यौँ भने शिक्षकको मपाइँ कमजोर हुन्छ । गुरुब्रम्हको मपाइँ । अनि प्रश्न जन्मछ । ब्रम्ह गुरु कि ? गुरु ब्रम्ह ? यो प्रश्नले हाम्रो चेत फिर्छ । अहं घट्छ । अनपढको पनि ज्ञान सकार्ने बुद्धि आउँछ । त्यो बुद्धिले अनपढलाई पनि पढाउने मौका दिन्छ । बाबुको शिक्षा काम लाग्ने हुन्छ । आमाको शिक्षा अर्थ लाग्ने हुन्छ । शिक्षकले विश्लेषण गरिदिन्छ— खरानी पकाउँदा रासायिक परिवर्तन हुन्छ । खरानीमा क्षार छ । बेसारमा अर्कै केही छ । पानीमा हाइड्रोजन र अक्सिजन छ । तताउँदा यौगिक बन्छ । विज्ञानको शब्दावलीमा त्यस्तै त्यस्तै । यहीँनेर मेरो सोच हो— के हामी शिक्षक विश्लेषक बन्न सक्छौँ त ? अनपढको ज्ञानमा विश्लेषण गर्ने । पुर्खाको शब्दमा वैदिक सूत्रका उपनिषद्कार जस्ता । जनबोलीमा पुराणका अर्थेता जस्ता । पण्डित । यसरी सबैको ज्ञानमा सार खोज्न सक्छौँ त ? अनपढलाई पनि आफ्नै समकक्षी मान्न सक्छौँ त ? गुरु ब्रम्हको धङधङीबाट माथि उठ्न सक्छौँ त ? हिङ बाँधेको टालो बोक्ने बुद्धिबाट माथि । के त्यतातर्फ लाग्ने हो त ?

ब्रम्ह गुरु कि ? गुरु ब्रम्ह ? यो प्रश्नले हाम्रो चेत फिर्छ । अहं घट्छ । अनपढको पनि ज्ञान सकार्ने बुद्धि आउँछ । त्यो बुद्धिले अनपढलाई पनि पढाउने मौका दिन्छ । बाबुको शिक्षा काम लाग्ने हुन्छ । आमाको शिक्षा अर्थ लाग्ने हुन्छ । शिक्षकले विश्लेषण गरिदिन्छ— खरानी पकाउँदा रासायिक परिवर्तन हुन्छ । खरानीमा क्षार छ । बेसारमा अर्कै केही छ । पानीमा हाइड्रोजन र अक्सिजन छ ।

सातौँ पाइला

पढाएको जाँच्न हामीले उपाय गर्यौं । जाँचको नाटक । टेप रेकर्डरको काम विद्यार्थीले गरे वा गरेनन् भन्ने कुरा हेर्ने नाटक । विद्यार्थी झन् चलाख भए । चिट बनाए । व्यवसायी अझ चलाख भए । गाइडबुक र नोटबुक बनाइदिए । शिक्षक अझ चलाख भयौँ— ती किताबमा नाम लेख्यौँ अनुभवी शिक्षक । अनुभवी प्राध्यापक । मोबाइल बोक्ने विद्यार्थीले त त्यसैबाट चो¥यौँ । यस अर्थमा हामी चोर्न र चोराउन जान्नेहरूको जमात भयौँ । त्यसैले हाम्रा सिर्जनाहरू मरे । मारिए । यहीँनेर मेरो भनाइ हो— जाँचको बुद्धि बदल्न सक्छौँ त ? चिटले नधान्ने बुद्धि । घाँसदाउरा गर्दा भेटेका वनस्पतिको वर्गीकरण । भात पकाउँदा जन्मेको भौतिक र रसायनशास्त्रको सूत्रको पहिचान । पाहुना आउँदाको बेलाको अर्थशास्त्र । राजनीतिशास्त्र । प्रत्येक वर्ष प्रश्न बदल्ने तागत भएका शिक्षक । के हामी त्यस दिशातर्फ लाग्न सक्छौँ त ? लागेका छौँ त ?

निचोड
ब्रम्हवादीको दृष्टिमा हामी गुरु । गु सिकाए पनि गुरु । रु सिकाए पनि गुरु । त्यसो भए हामी हराम बन्न मिल्यो त ? नपढाउने हराम । चिट चोराउने हराम । अनियमित हुने हराम । दसबीस मिनेट मात्रै पढाउने हराम । विद्यार्थी फेरिँदा पनि पढाउने शैली नबदल्ने हराम । के हामी राम बन्न सक्छौँ त ? पेसागत हराम । समयगत हराम । दोस्रो निचोड हो— हामीले मात्रै बनाउन सक्छौँ । चलाउन सक्छौँ । बसका ड्राइभर हामी हौँ । तेस्रो निचोड हो— पढाउने तरिका बदलौँ । रूपान्तरित आफैँ हुन्छौँ । रूपान्तरक आफैँ बन्छौँ । त्यति बेला ‘रूपान्तरण’ घोक्तैनौँ । गर्छौं (Praxis)। के हाम्रो सोच त्यतातिर लाग्ला त ? सातैवटा पाइलामा एकैसाथ प्रवेश गर्न सक्छौँ त ?

(कोभिड–१९ को महामारीका कारण अहिले परम्परागत शिक्षण पद्धति नै परिवर्तन गर्ने अभ्यास जारी छ । यस अर्थमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित वरिष्ठ शिक्षाविद प्रा डा विद्यानाथ कोइरालाको चर्चित पुस्तक शिक्षामा सोचान्तरणबाट यो अंश साभार गरि प्रकाशित गरेका हौं ।–सम्पादक)

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।