पहिरोका कारण पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत । कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि आइतबार बिहानदेखि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरु मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट जिल्लाका लागि आएका सवारी साधन नयाँपुलमा अलपत्र बनेका छन् ।
सडक पन्छाएर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । ठूलो मात्रामा ढुङ्गा र लेदो बगेर आएका कारण सडक खुलाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।