Logo आश्विन १५, २०७७ बिहीबार


बालदिवसको सन्दर्भमा बाल अधिकारको प्रश्न

गरिमा पाण्डेय

मानव स्वतन्त्रता, न्याय र शान्तिको आनन्द लिन चाहन्छ। विशेषतः बालबालिकाहरू स्वाभाविक रूपमा आफ्नो आश्रय, भोजन, स्वास्थ्य सेवा, शिक्षा, खेलकुद र अभिव्यक्ति आदिजस्ता अधिकारको आनन्द लिन चाहन्छन्। बाल अधिकार मानव सम्मान र समृद्धि बढाउनका लागि धेरै महत्त्वपूर्ण रहेको छ। बालबालिकाहरूले प्राप्त गर्ने जन्मसिद्ध अधिकार वा मौलिक अधिकारलाई बाल अधिकार भनिन्छ।

बाल अधिकारले बालबालिकालाई सामाजिक असुरक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनका विरुद्ध बाल संरक्षण, स्याहार र बाल जीवनको सुनिश्चितता प्रदान गर्दछ। प्रत्येक बालबालिकाले माया, स्नेह, शान्ति समझदारी र सुरक्षा एवम् उचित शिक्षा पाउनु उसको नैसर्गिक अधिकार हो। बाल अधिकार विरुद्धका अन्याय, अत्याचार, शोषण, दमन र बालश्रम गराउँदा बालअधिकारको हनन् हुन जान्छ। विकासशील मुलुकमा गरिबी र बेरोजगारीले गर्दा बालश्रम गराउने गरिन्छ। बालबालिकाहरूलाई क्षमताभन्दा कठिन काम गराउने, यौन दुराचारका लागि बेचबिखन गर्ने, बाबुआमाले पैसाका लागि श्रममा लगाउने, उद्योगधन्दा र विभिन्न प्रतिष्ठानमा सस्तो ज्यालामा काम गराउने, सम्पन्न व्यक्तिका घर र होटलहरूमा क्षमताभन्दा बाहिरका काममा लगाउने, श्रम शोषण गर्नेजस्ता कार्य हाम्रो देशमा भइरहेका छन्।

आर्थिक रूपबाट सम्पन्न र विकसित मुलुकमा भने बाल अधिकारका बारेमा त्यति ठूला समस्या देखिँदैनन् तर अल्पविकसित मुलुकमा बाल अधिकार समस्याका रूपमा उठ्ने गरेको छ। खासगरी अल्पविकसित र अविकसित मुलुकमा आर्थिक विपन्नता र चेतनाको अभावले बालश्रम शोषण हुने गरेको छ। घर तथा समाजमा बालबालिकाको इच्छा, चाहना बुझ्न नसकी उनीहरूको इच्छा विपरीतको वातावरण, राजनीतिक स्वार्थ पूर्तिका लागि बालबालिकाहरूको प्रयोग, चेलीबेटी बेचबिखन जस्ता सामाजिक अपराध र प्रभावकारी कानुनको अभावमा बाल अधिकार हनन् हुने गरेको पाइन्छ।

नेपालमा विसं. २०६३ साल भाद्र २९ गतेदेखि बाल दिवस मनाउन थालिएको हो र अहिले पनि हरेक वर्ष भाद्र २९ गते बालबालिका र तिनको सुरक्षा अनि संरक्षणका लागि बाल दिवस मनाइन्छ। हरेक वर्ष बाल दिवसको नारा फेरिन्छ तर व्यवहारमा कहिल्यै परिवर्तन हुँदैन। फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले ‘मानव जन्मिँदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै ऊ दायित्वको डोरीले बाँधिदै जान्छ’ भनेका छन्। यस अर्थमा संसारमा एउटा बालक या बालिकाभन्दा स्वतन्त्र अरू कोही छैन। निर्दोष र स्वतन्त्र त्यो मलिलो बाल मस्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरू छर्न जरुरी छ तर हाम्रो देशमा यसको ठीक विपरीत छ। आज कतिपय बालबालिकाहरू श्रम शोषणका सिकार भएका छन् त केही गर्भमै भ्रूण हत्याका सिकार बन्न पुगेका देखिन्छन् अनि यति मात्र कहाँ हो र केही जन्माएर कार्टुनभित्र या प्लास्टिक भित्र जिउँदै कोचेर ठाउँ ठाउँमा कहिल्यै जङ्गलमा त कहिल्यै नदी, खोलानालाका किनारमा बेवारिसे तालमा फालिएका हुन्छन् र यो कुरा सर्वविदितै छ।

आमा ! नमार्नुस् मलाई, मेरा यी कलिला हातहरूले संसारका वस्तुलाई समाउन नपाउँदै, मेरा यी कोमल हातहरुलाई न निमोठ्नुस् आमा। केही बोल्न नपाउँदै, मेरो यो घाँटी न थिचिदिनुस् आमा। मेरा यी निर्दोष आँखाहरूले संसारलाई एक झलक नियाल्नै नपाउँदा, मेरा यी सपना लुकेका आँखाहरुलाई नचिम्लनुस् बुबा, नमार्नुस मलाई। म निर्दोष छु। म बाँच्न चाहन्छु। पक्कै पनि यस्तैगरी आफ्नो जीवनको गुहार माग्दै थिए होलान् ती बालबालिकाहरू जो आफ्नै आमाको गर्भमा हत्या गरिए, जो भ्रूण हत्या जस्तो जघन्य अपराधको सिकार भए।

यसरी बाँच्न पाउनु, संरक्षण पाउनु, सर्वत्तोमुखी विकासको अवसर पाउनु हरेक बालबालिकाको हक र अधिकारको कुरा गर्दै जाँदा ती भ्रूण हत्याका सिकार भएका बालबालिकाहरूलाई सम्झिँदा बाल अधिकारमाथि नै प्रश्न उठेको अनुभव हुन्छ। ‘मुखमा राम राम बगलीमा छुरा’ भनेझैँ आफ्नै सन्तानलाई गर्भमै मार्ने अनि बाल अधिकारको प्रचारप्रसार गर्ने मानिसहरू देख्दा घिन लाग्छ। कठै ! मेरो देश। यहाँ मानवहरू त गल्ली गल्लीमा भेटिन्छन् तर विडम्बना यहाँ मानवता भेटिँदैन। भ्रूण हत्याजस्तो जघन्य अपराधका कारण बालबालिकाहरूको अधिकार जन्मन नपाउँदै खोसिन पुगेको छ। विस २००२ सालदेखि हाम्रो देशमा सुरक्षित गर्भपतनको कानूनी नियम पारित गरिए तापनि आज त्यसको दुरुपयोग गर्नाले विभिन्न बालिकाहरूले आफ्नो ज्यान गुमाउनु परेको छ। हाम्रो राष्ट्रमा रहेको सामाजिक मानसिकताका कारण नेपाली बालिका शिशुहरूले आफ्नो अधिकारबाट वञ्चित हुनुपरेको छ। यसरी कतिपय बालिकाहरू भ्रूण हत्याको सिकार भएर आमाको गर्भमै विलीन हुन् पुगेका छन्।

नेपालमा भ्रूण हत्या दिनानुदिन बढिरहेको छ। समाजमा रहेको यस्तो तुच्छ मानसिकताको कारण जो बच्चाहरू आफ्नै आमाको गर्भमा सुरक्षित रहन सक्दैनन् भने ती बालबालिकाहरू यस संसारमा आउँदाखेरि उनीहरूको अधिकार कसरी सुरक्षित र सुनिश्चित हुन सक्छ, भन्ने कुरामा विश्वस्त हुन सकिँदैन। भ्रूण हत्याजस्तो जघन्य अपराधलाई रोक्नका लागि सरकारले विभिन्न नीति, नियम निर्माण गरी व्यवहारमा उतार्नुपर्छ। बालबालिकाहरू भनेका सृष्टिका सुन्दर कोपिला हुन् जसलाई फुल्नै नदिई ओइलाउन दिनुहुँदैन। उनीहरूको संरक्षण र मलजल गर्नु अत्यन्त जरुरी छ। तिनीहरूलाई फक्रन सक्ने सहज र अनुकूल वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिन्ह उठ्न सक्छ। बालबालिकाहरू आफ्नो अधिकारबाट वञ्चित हुनु भनेको राष्ट्रले कलङ्कको टीका थाप्नु हो। त्यसैले पूरै विश्वभरी नै बाल अधिकारका बारेमा बुलन्द आवाज गुञ्जिरहँदा नारामा मात्र आवाज गुञ्जाउने होइन, यसलाई आफ्नो व्यवहारमा पनि उतार्नु अत्यन्त जरुरी छ।

बालबालिकाहरू देशका भविष्यका कर्णधार हुन्, उज्ज्वल भविष्य हुन्, अमूल्य सम्पत्ति र बहुमूल्य आभूषण हुन् अनि देशका बलिया खम्बा र मेरुदण्ड पनि हुन् जसले विकासको अग्रपथमा लम्कन मद्दत गर्दछन्। त्यसैले यिनीहरूलाई उम्रिन नदिई जरै उखेल्नुभन्दा पनि यिनीहरूको संरक्षण गरी बालश्रम अन्त्य गर्नुपर्छ। मानवीय आवश्यकताका शृङ्खला अन्तर्गत पर्ने गास, बास र कपास, शिक्षा, स्वास्थ्य, रोजगार आदि एक मानवका लागि मात्र नभएर बालबालिकाहरूका लागि पनि महत्त्वपूर्ण विषय हो।

बाँच्न, संरक्षण, विकास र सहभागिता यिनै हुन् बालअधिकार। अब १९९० मा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धिलाई अनुमोदन गरेको मेरो देश नेपालले हासिल गरेको विभिन्न प्रगतिका कुरा गरौँ। सन्धिको पहिलो सर्तमा बालबालिकाको गास, बास, कपास, खेलकुद, मनोरञ्जन र सुरक्षाको अधिकार रहेका छन्। तर आज बालबालिकाहरू आफ्नै अधिकारबाट वञ्चित छन्। एकातिर एउटा बालक झोलामा किताब, कापी र कलम लिएर टाइ सुट लगाएर विद्यालय जान बस चढ्छ र अर्कोतिर एउटा बालक आफ्नो जीविकोपार्जन गर्नका लागि त्यही बसको ढोका रातदिन ढक्ढक्याइरहेको हुन्छ। ती कलिला हातहरूमा उठेका फोहोराहरूको पीडा कति हुन्छ होलारु नेपालमा सर्वप्रथम बालमैत्री स्थानका रूपमा स्थापित भएको नवलपरासी जिल्लामा धार्मिक परम्पराको आडमा या भनौँ धार्मिक अन्धविश्वासमा जब १० वर्षे बालकलाई बली चढाइन्छ तब हुन्छ बाल अधिकारको हनन्।

विस २०७२ साल, वैशाख १२ गते भूकम्प गएको रातको समय एउटा बालिकाले तथाकथित दलित समुदायमा जन्मिएकै कारण उनका महान सोच भएका छिमेकीहरूले उनलाई पालभित्र छिर्न दिएनन् र खाली खुल्ला त्यो आकाशमुनि रात कटाउन बाध्य भइन् ती बालिका। हो, त्यसबेला भएको थियो बाल अधिकारको हनन्। यी त भए केही वर्ष अगाडिका घटना । आज पनि यस्तै घटना हाम्रो देशका कतिपय ठाउँमा विभिन्न रूपमा भएका छन् जसले गर्दा बाल अधिकारको हनन् भइरहेको छ। हाल विश्व नै कोरोना महामारी अर्थात् कोभिड -१९ सँग जुधिरहेको अवस्था छ। यस्तो समयमा विशेषगरी साना बालबालिकाहरूलाई धेरै नै मानसिक असर परेको छ। यसले गर्दा आज सबै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् र केही बालबालिकाको पठनपाठन अनलाइनबाट सञ्चालन भइरहेको पनि पाइन्छ। यसका अतिरिक्त उनीहरूले अहिले घरभित्रै सीमित भएर बस्नुपरेको अवस्थामा स्वतन्त्र रूपमा बाहिर खेल्न पाएका छैनन्, खुलेर रमाउन पाएका छैनन्, जसले गर्दा एकातिर उनीहरूको शारीरिक र मानसिक विकासमा समेत गम्भीर असर पुगेको छ भने अर्कातिर उनीहरू बाल हिंसाको सिकार समेत बनेको देखिन्छ।

लकडाउन अवधिमा बालबालिकामाथि भएको अन्याय र अत्याचार पनि बाल हिंसा नै हो। आखिर यो सबै हाम्रो देशमा किन ?  कुनै पनि बच्चा मर्नका लागि जन्मिएको हुँदैन। आज मानवताको पवित्र आकाशलाई हत्या, हिंसा र विविध अपराधको कालो बादलले ढपक्क ढाकिदिएको छ। जब गर्भमा बच्चा हुर्काउने आमा स्वयम् त यति निर्दयी बन्न सक्छे भने अरूको के कुरा गर्नु। विश्वभरिका देशबाट आआफ्ना उत्पादनहरू निर्यात हुन्छन्। अरू देशले इलेक्ट्रोनिक सामग्री, पोसाक तथा खाद्यवस्तुहरू बेच्छन् भने हाम्रो देश नेपाल एक यस्तो अनौठो देश हो जसले बालबालिका बेच्न पुग्छ। उनीहरूको श्रम मात्र नभएर शरीर बेच्न पुगेका छन्।

यहाँ बालबालिका अपहरण गरी किड्नीको व्यापार गर्ने र यौनको व्यापार गर्नेको जमात छ। धर्मपुत्र, धर्मपुत्रीको उद्योग चलाएर डलरको खेती गरेर बेस्ट प्रोडक्ट निर्यात गर्छन् तथाकथित समाजसेवीहरू। अनि यस्तो अवस्था देखेर पनि नजरअन्दाज गर्दै बस्ने महान् सज्जन कहलिनेहरू ती अन्याय, अत्याचार र शोषणमा परेका कलिला बालबालिकाहरूको पक्षमा बोल्न पनि केवल बालदिवसको एकदिनको प्रतीक्षा गर्छन्। यही हो मेरो देशको वर्तमान अवस्था। हो, यिनै सब हुन् मेरो देश नेपालले अहिलेसम्म हासिल गरेको प्रगति। नत्र किन त्योभन्दा अगाडि चिच्याउँदैनन् त्यस्ता अक्षम्य अपराधहरू विरुद्ध ? किन आवाज उठाउँदैनन् ती बालिकाका बलात्कारहरू विरुद्ध ? अनि किन भन्दैनन् की हाम्रा बालिकाहरूसम्म नचिन्ने ती अधम पशुहरूलाई, साना बालिकाका कोमल शरीर लुछ्ने ती राक्षसहरूलाई प्राण दण्ड दिनुपर्छ भनेर ? आखिर किन भन्दैनन् रु किन मौन हुन्छन् ? सामान्य सरकारी बाइकमा एक अर्को पुरुष कर्मचारीसँग हिँड्दा पिठ्युँ देखिने लुगा लगाएकी सरकारी कर्मचारीको वास्तविक कुरा नबुझी बाहिरिएको एउटा तस्बिरको आधारमा सामाजिक सञ्जालमा त्यत्रो जात्रा गर्नेहरू आज बालश्रम, बाल यौन दुर्व्यवहार, शोषण विरुद्ध किन मौन छन् रु न त यिनले हिजोका दिनमा आवाज उठाएका थिए न त आज नै उठाएका छन्। यो सबै भन्दैनन्, बोल्दैनन् केही पनि किनकि उनीहरूका बालकहरू सुरक्षित नै छन्।

कठै ! मेरो देश अनि यहाँका सानो र तुच्छ सोच भएका मानिसहरू। हाम्रो घरमा हामीले माया, स्नेह दिएर हरेक दिन गालामा चुम्बन गरेर विद्यालय पठाएका बालकहरू र रत्नपार्क, गौशाला, चाबहिल भन्दै रातदिन चिच्याउने बस, माइक्रो र टेम्पोका सहचालकहरू उस्तै होइनन् र रु आजदेखि हामी सबै एकताबद्ध भएर बालअधिकारको लागि आवाज उठाऔँ। संविधानको धारा ३९ मा सुरक्षित भएका सुन्दर अक्षरहरुमा लेखिएका बालअधिकारलाई यथार्थमा लागु गरौँ अनि बाल दुर्व्यवहार विरुद्ध तबसम्म चिच्याऔँ जबसम्म हाम्रो देशमा सत्ता सच्चिदैँन र सभ्यता बालमैत्री बन्दैन। हामी यस अभियानमा निरन्तर लाग्नुपर्छ ।

पढ्ने, लेख्ने अनि स्वर्णिम भविष्यको सुन्दर बाटो पहिल्याउने बेला नै त बालापन हो। यो जीवनयात्राको एउटा यस्तो मोड हो, जुन बितिसकेपछि फेरि फर्किएर आउँदैन तर विडम्बना आज कतिपय बालबालिकाहरू सामान्य जीविकोपार्जनका लागि कठोरभन्दा कठोर श्रम गर्न बाध्य हुनुपरेको छ। कलम समात्नुपर्ने ती कलिला हातहरुले आज धारिला औजार समात्नुपर्ने विवशता उत्पन्न भएको छ। यति मात्र कहाँ हो र सिर्जनशील द्वारहरू पनि बन्द भएका छन्। आज बालबालिकाहरू सामाजिक, मानसिक र शारीरिक रूपमा उत्पीडित भएका छन्। आफ्ना बालबालिकाहरूलाई शिक्षा दिनका लागि विद्यालय पठाउने ती होटलका साहुसाहुनीले त्यही उमेर समूहका बालबालिकालाई श्रम गराई भाडा माझ्न लगाउँछन्। यति मात्र कहाँ हो र आजको यो नेपाली समाजले नाबालक नाबालिकाहरूलाई वेश्यावृत्तिको घिनलाग्दो बाटोमा डोर्याइरहेको छ।

आखिर यो सबै केका लागि र किन ? आफैले बालबालिकामाथि अन्याय अत्याचार गर्ने अनि फेरि बालदिवसको अवसर पारेर बालअधिकारको बारेमा स्टेजमा गएर खोक्रो भाषण किन गर्ने ? यस्ता विविध प्रश्नहरू खडा भएका छन् आज बाल अधिकारको सन्दर्भमा । विशेषगरी गरिबीले गर्दा सुकोमल हात र मन मस्तिष्कका अबोध बालबालिकाहरूले आज होटल, कारखाना र कोठीहरुमा काम गर्नुपर्ने विवशता आएको छ अनि कतिपय बालबालिकाहरू आफ्ना बुबा-आमाबाट आफ्ना चाहनाहरू पूरा नभएकै कारण घरबाट निस्किएर यस्तो जोखिमपूर्ण कार्यहरूमा संलग्न हुन पुगेका छन्।

शिशिरको चिसो सिरेटोमा तुषारोले भिजेको त्यो सडकलाई डसना र त्यो खुल्ला आकाशलाई सिरक बनाएर रात कटाउन बाध्य भएका छन् सडक बालबालिकाहरू। गगनचुम्बी फोहोरको त्यो थुप्रोमा मिष्ठान्न भोजन बनाउने अनगिन्ती सपना बोकेर खानेकुरा खोजिरहेका छन् बालबालिकाहरू, केही बालबालिका टाइ कसेर विद्यालय कुद्दै गर्दा विद्यालयकै छेउमा मार्वाडीको होटलमा आफूभन्दा ठूलो डेक्चीमा साबुन पानीमा लड्वडिदै गरेका हुन्छन् उस्तै उमेर समूहका बालबालिकाहरू। केही अनाथ बालबालिकाहरू भने आश्रयको खोजीमा सडकमा खाली पेट भौतारिएका हुन्छन्। अनि केही बालबालिकाहरू रत्नपार्कका सडकमा पैसा माग्दै मानिसहरूको अगाडि आफ्नो हात फैलाउन र खुट्टा ढोग्न समेत बाध्य भएका छन्।

गाई, बाख्रा चराउन गोठाला जाँदा र दाउरा, मेलापात गर्न जाँदा होस् या यार्सागुम्बा टिप्न जाँदा स्कुल छुटेका ठूलेका कथाहरू अनि गिट्टी र बालुवामा आफ्नो सुनौलो उज्ज्वल भविष्य खोजिरहेका ती रामे र कालेका कथा अनि व्यथाहरू उस्तै छन्। हाम्रो देशको संविधानको भाग -३, धारा -३९ मा बालबालिकाको अधिकारको बारेमा प्रस्टै लेखिएको छ। त्यही संविधानको धारा _३१ मा बालबालिका मात्र नभएर सबै देशका नागरिकले प्रारम्भिक तहसम्मको शिक्षा पनि पाउनुपर्छ । यो त बाल अधिकारको एउटा पाटो भयो, अर्कोतिर हेर्ने हो भने शोषण र दुर्व्यवहारको कुरा बेग्लै छ। वास्तवमा भन्ने हो भने ५-१५ प्रतिशतसम्म हरेक पुरुषले आफ्नो बाल्यावस्थामा दुर्व्यवहार खेपेकै हुन्छन् र १५-२५ प्रतिशतसम्म महिलाले बालिका दुर्व्यवहार खेपेकै हुन्छन्। अझ सबैभन्दा ठूलो कुरा त ३-५ सम्म दुर्व्यवहार गर्ने व्यक्ति घरभित्रकै मान्छे हुन्छन् भने ६-५ सम्म दुर्व्यवहार गर्ने मान्छे बालबालिकाहरूलाई चिनेका या घरभित्रका मान्छेहरूलाई चिनेका आफन्तहरू हुन्छन्।

यसरी केवल १०५ मात्र अपरिचित व्यक्तिहरू हुन्छन्। यसबाट हामीले दुर्व्यवहार सर्वप्रथम कहाँबाट सुरु हुन्छ भन्ने कुरा सजिलै थाहा पाउन सक्छौँ। बालदिवसको एकदिन हरेक विद्यालयमा गएर ‘बाल दुर्व्यवहार अन्त्य गरौँ’ भन्दै नारा लगाउनुको सट्टा अब हामीले बालबालिकाहरूलाई दुर्व्यवहार के हो भनेर बुझाउनु अत्यन्त आवश्यक छ। विद्यालयमा ‘बाल दुर्व्यवहार’ शब्द धेरै पटक वादविवाद तथा वक्तित्वकला प्रतियोगिता आयोजना गर्दै स्टेज अनि कक्षा कोठामा चिच्याइयो अनि बालिका दुर्व्यवहार अलि अलि कोट्याउने कोसिस गरियो तर बालक दुर्व्यवहार कहिल्यै बुझाइएन के हो भनेर। साँच्चै भन्ने हो भने यौन दुर्व्यवहारका सिकार केवल बालिका मात्र नभएर बालकहरू पनि हुने गरेका छन्। फरक यत्ति हो, बालिका बलात्कार भएका घटनाहरू केही हकमा बाहिर आउँछन् तर बालकका आउँदैनन् किनकि हाम्रो समाज नै यस्तै छ।

साना अबोध बालबालिकाको मुख बन्द गराइदिन्छ। अनि शोषकको डर र धम्किले गर्दा ती कलिला बालबालिकाहरू खुलेर त्यो कुरा गर्न सक्दैनन् अनि मनमै कुण्ठित हुन्छ त्यो कुरा। न त विद्यालयका पाठ्यक्रममा नै बालक दुर्व्यवहार सम्बन्धी विषयवस्तु राखियो न त कुनै शिक्षक शिक्षिकाले नै यसबारेमा बुझाउन कोसिस गरे । अर्कोतिर कलम समाउने ती हातहरूले गिट्टी कुट्ने, बालुवा चाल्ने र बस, माइक्रो आदिका ढोकाका ह्याण्डिल समाउनुभन्दा पनि अब सम्पूर्ण बालबालिकाहरूले आफ्नो अधिकारको बारेमा बुझ्नु जरुरी छ। उनीहरुलाई आफूमाथि हुने हरेक प्रकारका दुर्व्यवहारको कसरी प्रतिकार गर्ने भन्ने कुरा सिकाउनु आज अत्यन्त आवश्यक भएको छ। त्यसैले आजका कोपिला बालबालिका भोलिका फूल हुन् तर योभन्दा अगाडि त्यो फूललाई राम्ररी मलजल गरेनौँ भने भोलि त्यो फूल ओइलाउँछ। तसर्थ, त्यसलाई ओइलाउन दिनुहुँदैन र आजैदेखि सही मलजल गरेर उनीहरुलाई अगाडि बढाउनुपर्छ र अधिकारको कुरा संविधानमा मात्र होइन व्यवहारमा पनि यथावत् रूपमा कार्यान्वयन गर्नुपर्छ। साथै सम्पूर्ण बालबालिकाहरूलाई राम्रो छुवाई र नराम्रो छुवाई के हो भन्ने कुराको ज्ञान दिनु आजको महत्वपूर्ण आवश्यकता हो।

त्यसैले आउनुहोस् हामी सबै मिलेर बालश्रम विरुद्ध चर्को आवाज उठाऔँ र ‘विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिबद्धता’ भन्ने २०७७ सालको बाल दिवसको नारालाई सफल पारौँ। हरेक कार्यमा सरकारले यो गरेन त्यो गरेन भन्नुभन्दा पनि आफूले के गरेँ भन्ने कुरा सोच्न जरुरी छ। हरेक कुराको सुरुवात आफैबाट गर्नुपर्छ, आफ्नै घरबाट शुरु गर्नुपर्छ। तसर्थ, बालश्रम आफ्नै घरबाट बन्द गरौँ, समाजबाट बन्द गरौँ, अनि मात्र हाम्रो देश बालश्रम मुक्त भनेर विश्वभरी नै चिनिने छ। सक्छौँ बालबालिकालाई न्याय दिऔँ, सक्तैनौँ उनीहरूमाथि अन्याय नगरौँ। अस्तु

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।