गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

हुमाकान्त पोखरेल
गुल्मी । जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७४/७५, ०७५/७६ र ०७६/७७ मा गुल्मीमा कूल दुई हजार चार सय ४३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये एक सय ९६ जना २० वर्षभन्दा कम उमेरका छन् भने दुई हजार दुई सय ४७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । स्वास्थ्य कार्यालय, गुल्मीका अनुसार आर्थिक वर्ष ०७४/७५ मा जिल्लामा कूल ६ सय ६७ जनाले सुरक्षित गर्भपतन गराए । जसमध्ये १८ जना २० वर्षभन्दा कम उमेरका र ६ सय ४९ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् ।
०७५/७६ मा जिल्लामा कूल ८ सय १५ जनाले गर्भपतन गराएका छन् । जसमध्ये ७८ जना २० वर्षभन्दा कम उमेरका र ७ सय ३७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा कूल ९ सय ५१ जनाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेरका एक सय जना र २० वर्षभन्दा बढी उमेरका ८ सय ५१ जना रहेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै जिल्लामा ३० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभएको छ । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । जसमध्ये सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकाका महिलाले गर्भपतन गराएका छन् ।
तीन आर्थिक वर्षमा नरपालिकाका एक हजार दुई सय ६७ जनाले गर्भपतन गराएका छन् । जसमध्ये एक सय २४ जना २० वर्षभन्दा कम उमेरका र एक हजार एक सय ४३ जना २० वर्षभन्दा बढी उमेरका रहेको कार्कीले बताउनुभयो । तीन आर्थिक वर्षभित्र इस्मा गाउँपालिकाका महिलाले भने गर्भपतन गराएका छैनन् ।
सुरक्षित गर्भपतन पनि हानिकारक छ
तम्घास अस्पताल गुल्मीका मेडिकल जेनेरलिस्ट डाक्टर सुष्मा थपलियाले सुरक्षित गर्भपतन पनि शारीरिक हिसाबले हानिकारक भएको बताउनुभयो । गर्भपतन गराउँदा रगत धेरै जान सक्ने, सफा गर्दा पाठेघरमा गम्भिर प्रकारको असर हुन सक्ने, आन्द्रामा चोट लाग्ने लगायतको समस्या देखिने उहाँले बताउनुभयो । त्यस्तै एकपटक गर्भपतन गराइसकेपछि लामो समयसम्म बच्चा नरहने सम्भावना पनि भएकोले सकेसम्म गर्भपतन नगराउन उहाँले सुझाव दिनुभयो । गर्भपतन गराउनको सट्टा सुरक्षित परिवार नियोजनका साधन प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।