Logo आश्विन २, २०७७ शुक्रबार


उच्च स्वास्थ्य सावधानीसहित पर्यटक बस सञ्चालन गरिँदै

काठमाडौं । पर्यटन बस व्यवसायीहरुले उच्च स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी गरेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बस सेवा (भोलि) असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले बस सञ्चालनको तयारी गरेका हुन् ।

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको बताउनुभयो। झण्डै छ महिनादेखि ग्यारेजमा थन्किएका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको शर्माको भनाइ छ ।

‘पर्यटक बस चढ्नुअघि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्य लगाउनु पर्ने र बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर मात्र बस सञ्चालन गर्न लागेका छौं’, उहाँले भन्नुभयो । सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा १ जना मात्र यात्रु राखेर सेवा प्रदान गरिने शर्माले बताउनुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोरोना महामारीका कारण स्थगित भएको थियो । कोरोनाका कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरी बससेवा सञ्चालन गर्न लागिएको हो ।

कोरोना महामारी अघि काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा झण्डै १ सय पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या हुने गरेको व्यवसायीको गुनासो छ । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

छुट्टै बसपार्क निर्माणको माग
टिवानका महासचिव दीपेन्द्र अधिकारीले सरकारले पर्यटक बससेवालाई प्राथमिकता दिन नसकेको बताउनुभयो । ‘मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटक क्षेत्रको बसका लागि सरकारले छुट्टै बसपार्क निर्माण गर्नुपर्छ, जसका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु पर्यटक बसपार्कमा गएर बस चढेर गन्तव्य स्थलसम्म पुग्न सक्छन्’, अधिकारीले भन्नुभयो ।

केही दिनअघि नेपाल पर्वतारोहण संघ (एनएमए) ले गरेको भर्चुअल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक रहेको बताउनु भएको थियो । पर्यटक बसपार्क निर्माणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको मन्त्री भट्टराईको भनाइ छ ।

कोरोना भाइरस संक्रमण फैलनु भन्दा अघि पर्यटक बसले दैनिक झण्डै ३ देखि ४ हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मङ्गलवार बिहान भ्वाङको आकार बढेपछि घर छोड्नुपरेको पीडित राधिका विकले बताउनुभयो ।

काठमाडौं । आजका बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि…

चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै…

बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नु परिरहेको मन्त्री ढकालले बताउनुभयो ।

कमजोर भूसंरचना भएको क्षेत्रमा बसेको बस्तीलाई नै पहिरोले बढी समस्यामा पार्ने गरेको विज्ञहरुको भनाइ छ ।