गुल्मीमा पीसीआर प्रयोगशाला उद्घाटन

हुमाकान्त पोखरेल
गुल्मी । जिल्लामा पीसीआर परीक्षण प्रयाेगशाला उद्घाटन गरिएको छ । संघीय सरकारका परराष्ट्रमन्त्री एवम् प्रवक्ता प्रदिपकुमार ज्ञवालीले कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभयो । जिल्लामा कोरोना संक्रमितको पहिचान गरी कोरोना समुदाय स्तरमा फैलिन नदिनका लागि पीसीआर मेसिन सञ्चालनमा ल्याउन लागिएको हो ।
पीसीआर मेसिन मन्त्री ज्ञवालीले नै गत साउन २ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाललाई हस्तान्तरण गर्नुभएको थियो । तर बीचमा केही प्राविधिक समस्या देखिएपछि मर्मतका लागि काठमाडौं लगिएको थियो । अहिले काठमाडौबाट नयाँ मेसिन ल्याइएको हो । रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा राखिएको परीक्षण प्रयोगशालाबाट एक पटकमा ९६ वटा स्याम्पलको नतिजा आउने तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिनुभयो । बिहीबार ल्याबको उद्घाटन गरिएपनि नियमित सञ्चालनमा आउन भनेअझै एक साता लाग्ने डा. पाच्याले बताउनुभयाे ।
४ देखि १७ दिनको प्रतिक्षा अन्त्य
गुल्मीमै पीसीआर परीक्षण शुरु भएपछि ४ देखि १७ दिनसम्म पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । यसअघि संकलन गरिएका स्वाब काठमाडौं, हेटौंडा र भैरवहवा पुर्याउने गरिएको थियो । त्यसो गर्दा रिपोर्टकै प्रतिक्षामा लामो समय कट्ने भएकाले अब त्यो समस्या समाधान भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताउनुभयो ।
ल्याब पुनः प्रयोगमा आउँछ
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पीसीआर ल्याब दीर्घकालसम्म प्रयोग गर्न सकिने भएकाले ल्याइएका उपकरण जिल्लाको सम्पत्ति भएको बताउनुभयो । करिब एक करोडको लागतमा जडान गरिएको मेसिन अन्य रोगको जाँच गर्ने काममा पनि प्रयोगमा आउने भएकाले सामग्रीको संरक्षण र उपयोगामा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
अन्य देशको तुलनामा नेपालमा सक्रमित र मृत्युदर कम भएकोले धेरै नआत्तिन उहाँले सबैलाई आग्रह गर्नुभयो । तर नागरिकको मृत्यु राज्यका लागि दुखद् विषय हुने भएकाले सजक रहन सर्वसाधारणमा आग्रह गर्नुभयो ।