Logo कार्तिक १३, २०७७ बिहीबार


सुल्झियाे चिया श्रमिकका समस्या, किसान अझै मारमा

भगीरथ भण्डारी
इलाम । चिया श्रमिक र रोजगारदाताबीच सहमति भएको छ । माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका श्रमिकको रोजगारदातासँग भएको छलफलमा माग पूरा गराउने बताएपछि समस्या सुल्झिएको हो ।

सरकारले तोकेको श्रम ऐन, २०७४ अनुसार दैनिक न्यूनतम ज्याला तीन सय ८५ रुपैयाँ तोकिएको छ । ऐनबमोजिम चिया बगानका मजदुरले आधारभुत पारिश्रमिक दुई सय ३१ र दैनिक महंगी भत्ता एक सय ५४ गरी दैनिक तीन सय ८५ रुपैयाँ पाइरहेका थिए । दुवै पक्षबीच भएको
सहमतिमा न्यूनतम ज्यालामा ३० रुपैयाँ वृद्धि गरिएको छ । अब मजदूरले पाउने दैनिक ज्याला चार सय १५ रुपैयाँ चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेछ ।

त्यसैगरी आगामी आर्थिक वर्ष (२०७८ साउन)देखि थप २० रुपैयाँ वृद्धि गर्ने सहमति पनि भएको छ । सहमति कार्यान्वयन भएपछि मजदूरको दैनिक ज्याला चार सय ३५ रुपैयाँ पुग्नेछ । सहमति अनुसार चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको ज्यालामा अतिरिक्त दैनिक भत्ता ४२ रुपैयाँ रहेकोमा थप १३ रुपैयाँ वृद्धि गरी ५५ रुपैयाँ कायम गरिने निर्णय भएको बताइएको छ । त्यस्तै २०७५ साउन १ गतेदेखि लागू हुने गरी वृद्धि भएको दैनिक एक सय सात र साउन १ देखि २०७५ चैत १५ गतेसम्म फरक रकम सो समयमा कार्यरत रहेका श्रमिकहरूलाई भुक्तानी गर्दै गरेका विषयलाई निरन्तरता दिई भुक्तान लिइसक्ने, श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ मा भएको व्यवस्थाहरूलाई सबै चिया बगानमा कार्यान्वयन गर्दै जाने र हाल विश्व आतङ्कित बनाइरहेको कोरोना भाइरसबाट बच्न बचाउन आवश्यक सरकारले तोकेको मापदण्ड पूरा गरी सुरक्षाको व्यवस्था प्रतिष्ठानको तर्फबाट गर्ने तथा श्रमिकहरूले पनि आफ्नो सजगता अपनाउने सहमति भएको थियो ।

किसानका समस्या जस्ताको तस्तै
“कानूनमा भएकै चियाको मूल्य पाउन हामीले कहिलेसम्म आन्दोलन गर्नुपर्ने ?” सूर्योदय नगरपालिका–१० की चिया कृषक साधना फागो भन्छिन, “आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” उनका अनुसार किसानको चियाको लागत मात्रै प्रतिकिलो ३८ रुपैयाँ पर्छ तर प्रतिकिलो २० देखि ३० रुपैयाँमा चिया बेच्नु परेको छ । मूल्यकै लागि असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् । तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् ।

हरियो चियाको मूल्य न्यूनतम प्रतिकिलो ४० रुपैयाँ दिनु पर्ने प्रावधान स्थानीय सरकार(सूर्योदय नगरपालिका)ले बनाएको छ । तर, मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तीको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै आएका छन् । मापदण्डअनुसार चियाको मूल्य दिन किसानले उद्योगीलाई अनुरोध गरेका छन् ।

यति मात्र नभइ सूर्योदय नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत किसानले ध्यानाकर्षण गराएका छन् । तर पनि उद्योगीले मूल्य दिनेमा कुनै चासो दिएका छैनन् । उद्योगीले यतिसम्म किसानमाथि शोषण गरेका छन् । पहिले ‘पेश्की’ भन्दै किसानलाई रकम दिने, पछि त्यति हो चियाको मूल्य भन्दै पन्छिने समेत गरेको किसानको गुनासो छ ।

यसै कारण किसान उद्योगीसँग आजित भएका छन् । कानूनमा तोकिएकै मूल्य नपाउँदा किसान अलमल छन् भने उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित छन् । सूर्योदय नगरको कार्यविधि अनुसार किसानले ल्याउने चियामा ४० प्रतिशत न्यूनतम नरमपात भएको हुनुपर्ने छ भने किसानले ल्याएको सोही मापदण्डको चियालाई प्रतिकिलो रु ४०(न्यूनतम)मा उद्योगीले किन्नुपर्ने प्रावधान छ ।

किसानले नगरको मापदण्डअनुसारको चिया नल्याएकाले ४० रुपैयाँ प्रतिकिलो मूल्य दिन नसकिएको उद्योगीको तर्क छ । तर सूर्योदय नगरपालिका १० का संयोजक एवं सूर्योदय चिया सचिवालयका सदस्य सोनाम छिरिङ काजीले भने किसानले मापदण्ड अनुसारकै चिया ल्याउने गरेको बताउँछन् । “उद्योगीले किसानलाई कम मूल्य दिनका लागि यसो भनेको हो” काजीले भने, “उद्योगीले किसानको विषयलाई गम्भीर रूपमै लिँदैनन् । हाम्रो त बोली हो जस्तै ठान्दैैनन् ।” काजीका अुनसार यही समस्या सुल्झाउनका लागि किसान नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालय समेत धाइसकेका छन् । काजीले आफूहरू आन्दोलनबाट हैरान भएको दुखेसो पोखे । “किसानको चियाले उद्योगी धनी भएका हुन् । यदि सक्छन् भने तोकिएको मूल्य दिउन । सक्दैनन्, चिया नै फिर्ता देउ भनेका छौँ ।” पहिले तोकिएको मूल्य दिने भन्ने पनि व्यावहारमा परिणत नगर्ने भएकाले समस्या बढेको काजीको भनाइ छ ।

सूर्योदय नगरपालिकाका चिया उद्योगीले नगरको मापदण्ड नै कार्यान्वयन नगरेर कानून विरुद्ध गइरहेका छन् । तर नगरले यस बारेमा उद्योगीलाई केही गर्न नसकेको उद्योगीको भनाइ छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले भने चियाको समस्या सुल्झाउन आफू प्रतिवद्ध रहेको बताउनुभयो । “नगरपालिका किसानको पक्षमा रहेकाले जसरी भए पनि न्युनतम मूल्य किसानलाई उद्योगीहरुबाट उपलब्ध गराउने प्रतिबद्धता गर्छु”, नगरप्रमुख राईले भन्नुभयो, “किसानलाई हतोत्साहित नहुन आग्रह गर्छु ।”

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।