बजार मूल्यभन्दा तीन गुणा बढी मूल्यमा प्याज बिक्री (भिडियाेसहित)

आनन्द गुरुङ
काठमाडौं । तिनकुनेमा प्याजको कालाेबजारी गर्ने चार जना व्यापारीलाई पक्राउ गरी प्रहरीकोमा जिम्मा लगाएको छ । चार पसलमा शिलबन्दी गर्नुका साथै व्यापार रोक्का गरिएको छ ।
काठमाडौंको तिनकुनेमा रहेको हरित सामुदायिक कृषि बजामा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १ सय ५० रुपैयाँ किलोमा प्याज बेचिन् । उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट किनेकी थिइन् । त्यो प्याज शालिकरामले कति मूल्यमा किने त ? बिल भेटिएन । उनी आफूले फरक–फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० रुपैयाँमा किनेको बताइरहेका थिए ।
दुलालका अनुसार व्यापारीले गाडीमा प्याज बोकेर आउँछन्, बेच्छन्, अनि पैसा लिएर जान्छन्, उनीहरु बिल नै दिदैनन् । सोधखोज धेरै भएपछि अनुगमन टोली हो भन्ने थाहा पाएर नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १ सय रुपैयाँमा प्याज बिक्री गर्न थालिन् । यो कारोबारमा कसैले बिल लिए वा दिएको भेटिएन ।
बजारमा रहेका १ सय २८ तरकारी स्टलमध्ये केहीमा काठमाडौं महानगरपालिकाको समन्वयमा भएको टोलीले बिहीबार छापा मार्यो । छापाका क्रममा चार व्यापारी पक्राउ परे भने उनीहरुको गोदाममा सिल गरिएको छ । मूल्यसूची नराखेको, खरिद बिक्री बिल नपाएको र बजार मूल्यभन्दा तीन गुणा बढी मूल्यमा प्याज बिक्रीवितरण गरेको, दर्ताबिना पसल सञ्चालन गरेको लगायत कैफियत भेटिएपछि गोदामका व्यापारीलाई महानगरीय प्रहरी बृत्त, बानेश्वरमा जिम्मा लगाएको हो भने तरकारी बिक्री वितरण रोक्का गरिएको छ ।
अनुगमनका क्रममा आलुका बोराले छोपेर प्याज भण्डार गरिएकोसमेत भेटियो । अनुगमन टोलीले बजार मूल्यभन्दा चर्को मूल्यमा प्याज बेच्दै गरेका खुद्रा पसले र ठेला ब्यापारीलाई समेत सचेत गराएको छ । उपभोक्तालाई सहुलियत दरमा तरकारी उपलब्ध गराउने उदेश्यका साथ सञ्चालनमा ल्याएको बजारमा मूल्यसूचिसमेत राखिएको भेटिएन । बजार व्यवस्थापन भने अझ आफैलाई ढाकछोप गरिरहेको थिए ।
देखिएका कैफियतलाई सुधार गर्दै बजार स्वच्छता कायम गर्न बजार समिति प्रतिबद्ध देखिएको छ । प्याजको भाउ बढेपछि कालीमाटी र बल्खुमा अनुगमन भएको देखिएपछि होलसेल व्यापारीले तिनकुने लगायत अन्य स्थानमा गोदाम गर्न पठाएको समेत भेटिएको छ ।