संविधान दिवसमा ५ सय ९४ जनालाई विभूषण, २ सय ८९ कैदीलाई माफी

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मान पदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १ सय ४ जना गरी जम्मा ४ सय ५३ जनाले पाएका छन् ।
यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभएको छ ।
२ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा
राष्ट्रपति भण्डारीले संविधान दिवसको अवसरमा २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहासमेत गर्नुभएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा असल चालचलन देखाएका र गम्भीर प्रकृतिको अपराधमा नपरेका कैदीलाई विभिन्न अवसरमा सजाय छुट दिएर छाड्ने व्यवस्थाअनुसार जेलमुक्त गरिएको हो । यसरी छुट्ने कैदीमा सबैभन्दा धेरै बागमती र कम कर्णाली प्रदेशका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रदेश १ का ६८ जना, प्रदेश २ का ३७ जना, बागमती प्रदेशका ८२ जना र गण्डकी प्रदेशका २३ जना कैदीको कैद मिनाहा भएको छ । त्यस्तै, प्रदेश ५ का ५२, कर्णालीका १३ र सूदुरपश्चिम प्रदेशका १४ जना कैदीको कैद मिनाहा माफी भएको छ ।