कोरोना विरुद्धको कदम ‘उराठलाग्दो’ छैन : प्रधानमन्त्री

काठमाडौं । छैटौं संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध सरकारले चालेका कदमहरु उराठलाग्दो नभएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमा देशवासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो दावी गर्नुभएको हो ।
प्रधामन्त्री ओलीले कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताउनुभयो । कोरोनाले विकासको गति केही सुस्त बनाएको स्वीकार्नुहुँदै उहाँले महामारीको अवस्था भने नआएको बताउनुभयो । आफूले आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने प्रभानमन्त्रीको भनाइ छ ।
सम्बोधनका क्रममा भ्रष्टाचार गर्न नदिने बताउनुहुँदै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रतिबद्धता पनि जनाउनुभएको छ । लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्दै सरकारले सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई व्यक्त गरेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित संक्षिप्त विशेष समारोहलाई सम्बोदन गर्नुभएको हो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी हुनुभयो ।
कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीतामा संविधान दिवस मनाएको हो । अघिल्ला वर्षहरुमा मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, कर्मचारी, कलाकार लगायत पनि सहभागी हुने गरे पनि यस वर्ष उनीहरुलाई समारोहमा बोलाइएन ।
यससँगै सरकारले घरमै बसेर राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।