सर्लाहीको लालबन्दीबाट ३ अर्बको तरकारी निर्यात

फाइल तस्बिर
सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिका लगायतका छिमेकी स्थानीय तहबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब १८ करोड २६ लाख ८० हजार बराबरको तरकारी निकासी भएको हो ।
लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब १ हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।
जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १ सय ३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेँडा बाहिरिने गरेको कार्यालयले जनाएको छ ।
त्यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र भिण्डी, काउली, बन्दा, भान्टा, घिरौँला, झिँगनी, लौका, फर्सी, मुन्गा र मुलालगायतका ५ प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जनाएको छ ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रूपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छोडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीबासीले करिब एक हजार बिघा जमिनमा तरकारी खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ ।