बजार पाएन मकैले

दाङ । गढवा गाउँपालिका–७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करिब एक विघा जमीनमा मकै खेती गर्नुभएको थियो । गत वैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि बिक्री नभएको उहाँले बताउनुभयो । मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई बिक्री नहुँदा समस्या भएको छ ।
गत वर्ष घरबाटै मकै बिक्री गर्नुभएका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताउनुभयो । गत वर्षको बिक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै बिक्री नभएको उहाँको भनाइ छ । कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिएमा कृषकलाई सहज हुने चौधरी बताउनुहुन्छ ।
त्यसैगरी मोतिपुरकै रामबहादुर चौधरीको पनि मकै बिक्री हुन सकेको छैन । उहाँले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल बिक्री भएको छैन । गएको फागुनसम्म तयार भएको मकै ३५ रुपैयाँ केजीमा बिक्री भएपनि पछि उत्पादन भएको मकै बिक्री भएको छैन । मकैको भाउ अहिले बजारमा प्रतिकेजी १८ मात्रै छ । ‘बजार भाउमा नै बिक्री गरौँ भन्दा पनि ब्यापारीले लिन मान्दैनन्’, चौधरीले भन्नुभयो ।
लमही नगरपालिका–८ सतबरियाका देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै बिक्री गरेको बताउनुभयो । गत वर्ष ३५ रुपैयाँ प्रतिकेजीको दरले मकै बिक्री गर्नुभएका चौधरीले यस वर्ष १८ रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको बताउनुभयो । बन्दाबन्दीले गर्दा दाना उत्पादन कम भएका कारण मकैको मूल्य घटेको व्यापारीहरु बताउँछन् । उत्पादित मकै जिल्ला बाहिर नगएको र पशुको आहारा घटेको कारण किसानले मूल्य नपाएको पशुविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले जानकारी दिनुभयो ।