Logo कार्तिक १३, २०७७ बिहीबार


एक्सक्लुसिभ जनता : काठमाडौंको खोलामा मध्यरातमा यसरी हुन्छ बालुवाको तस्करी (भिडियोसहित )

-मदन ढुङ्गाना/निरज तामाङ

काठमाडौं । जतिबेला संघीयताको बहस भइरहँदा एउटा महत्वपूर्ण विषय थियो– प्राकृतिक स्रोत तथा साधनमाथि प्रदेश र स्थानीय तहको अधिकार । यसको प्रमुख कारण भने स्थानीय तहमा रहेका स्रोत तथा साधनको प्रयोग वा विक्रीबाट हुने आम्दानी आफूमा नै सीमित राख्नु । मुख्यत स्थानीय तहमा हुने ढुंगा, बालुवा, गिट्टी, वनजंगल आदिमाथिको आर्थिक अधिकार आफैमा सीमित राख्नका लागि यो विषय ज्यादै पेचिलो बनेको थियो ।

जब संघीयताको अभ्यास भयो, त्यतिबेला प्राकृतिक स्रोत तथा साधनमाथिको अधिकार स्थानीय तह, प्रदेश र केन्द्र गरी विभाजन गरियो । त्यसपछि केही स्थानीय तहको आम्दानी अत्यधिक बढ्यो, त्यसको कारण बन्यो प्राकृतिक स्रोतको अति दोहन चोरी, तस्करी र अनियमितताको श्रृङ्खला ।

काठमाडौंको उत्तरी क्षेत्रबाट तारकेश्वर नगरपालिका हुँदै बग्ने साँङले खोलामा अचेल मध्यरातमा मानिसहरुको आवतजावत दैनिकजसो बढ्न थालेको छ । रातको १२ बजे देखि बिहानको करिब ४ बजेसम्म खोला किनारमा सामान्य मजदुरदेखि ट्रिपर चालक र स्थानीय गुण्डाहरुको चहलपहल भइरहेको हुन्छ । उनीहरुको एकमात्रै उद्देश्य भनेको साङ्ले खोलाबाट बालुवाको चोरी निकासी गर्नु हो । खोलाबाट मजदुरको प्रयोग गरेर बालुवा निकाल्ने र त्यो बालुवा रातको करिब ३ देखि ४ बजेको बीचमा ट्रिपरमा लोड गरी नजिकै रहेको बालुवाको डिपो वा होल्डिङ सेन्टरहरुमा थुपार्नु ।

तारकेश्वर नगरपालिकाको साङ्ले खोलामा दैनिकजसो बालुवाको चोरी र निकासी भइरहेको भन्दै स्थानीय बासिन्दाले जनताकर्मीलाई सम्पर्क गरेपछि हामी केही दिनअघि रातको १ बजे साङ्ले खोलामा पुग्यौँ । जनता टेलिभिजनको गाडीबाटै हामी साङ्ले खोलातर्फ जाँदै गर्दा टोखाको भत्केको पुलमा दुई जना प्रहरी देख्यौँ । हामी अगाडि बढ्दै गर्दा बाटोमा साना बालबालिका बोकेर अगाडि बढिरहेका केही मजदुर पनि देख्यौँ । महिला र पुरुष रातको १ बजेको समयमा खोला किनारमा त्यसै हिँडेका थिएनन् । बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

हामी अगाडि बढ्दै गर्दा इन्द्रायणी पुल नजिकै केही मजदुरहरुले खोलाबाट बालुवा निकालिरहेको देख्यौँ । तर रातको समयमा बालुवा निकाल्दै गरेका मजदुरको अगाडि हामी पुग्दा उनीहरु सावेल र थुन्से बोकेर भाग्न थालिसकेका थिए । पत्रकार वा प्रहरी अगाडि पुग्नेबित्तिकै बालुवाका तस्कहरुले मजदुरहरुलाई सजग गराए । त्यसपछि उनीहरु भाग्न थाले । रातको समयमा क्यामेराले दृश्य खिच्न नपाउँदै उनीहरु खोलाबाट नजिकका बस्ती वा खोलाको दक्षिणतर्फ रहेको गाडीको छेल पारेर लुके ।
हामी इन्द्रायणी पुलमा पुग्दा त्यहाँ भर्खरै खोलाबाट निकालिएको चिसो बालुवाको थुप्रो भने पायौँ । यद्यपि त्यहाँ मजदुर भने थिएनन् ।

जब हाम्रो टोली त्यहाँ पुग्यो उनीहरु थुन्से र सावेल बोकेर त्यहाँबाट भागिसकेका थिए । भाग्ने क्रममा एक मजदुरको एउटा चप्पल इन्द्रायणी पुलमै छुटेको थियो ।

अहिले टोखा र तारकेश्वर नगरपालिकाको साङ्ले खोला क्षेत्रमा दैनिकजसो रातको समयमा बालुवाको तस्करी भइरहको छ । रातको १२ बजे पछाडि सुरु हुने अवैध उत्खनन र तस्करीको काम बिहानको ५ बजेसम्म सकिइसकेको हुन्छ । मजदुरले एक थुन्से बालुवा खोलाबाट निकाल्दा १५ देखि २० रुपैयाँ पाउँछन् । करिब २ सय ८० थुन्से बालुवाको आइसर जिपमा एक ट्रिप पुग्छ । र, ट्रिप पुगेपछि गाडी आएर बालुवा बोकेर निस्कन्छ ।

अहिले टोखा र तारकेश्वर नगरपालिकाको साङ्ले खोला क्षेत्रमा दैनिकजसो रातको समयमा बालुवाको तस्करी भइरहको छ । रातको १२ बजे पछाडि सुरु हुने अवैध उत्खनन र तस्करीको काम बिहानको ५ बजेसम्म सकिसकेको हुन्छ ।

साङ्ले खोलाको विभिन्न स्थानबाट रातको समयमा बालुवाको तस्करी भइरहेको स्पष्ट देख्न सकिन्छ । खोलाको उत्तरतर्फ करिडोर रोड निर्माण भएपनि दक्षिणतर्फ बाटो नबनेकाले दक्षिणतर्फबाट बालुवाको अवैध उत्खनन् र तस्करी हुने गरेको छ । यद्यपि स्थानीय तह, प्रहरी प्रशासन र टोल सुधार समितिका सदस्यहरु मिलेर अवैध उत्खनन् र तस्करीलाई साथ दिइरहेका छन् ।

को कसको मिलेमतोमा कसरी भइरहेछ तस्करी ?

तारकेश्वर नगरपालिकाको साङ्ले खोलामा बालुवाको अवैध उत्खनन र तस्करी भएको सबैलाई थाहा छ । तर पनि सबै तैँ चुप मै चुपको अवस्थामा छन् । किनभने कि यहाँका सरोकावालाहरुलाई तस्करहरुले पैसा दिइरहेका छन् कि त उनीहरुलाई तस्करले पालेका भाडाका गुण्डाहरुसँग त्रास छ । त्यसकारण पनि स्थानीय बासिन्दाहरु क्यामेराको अगाडि आफ्नै घर अगाडि भइरहेको अवैध उत्खनन् र तस्करी बारे बोल्न डराइरहेका छन् ।

केही दिनअघि मध्यरातमा हामी साङ्ले खोलामा पुग्दा त्यहाँ मजदुरहरुले बालुवा निकालिरहेको देख्यौँ । हामी क्यामेरासहित खोला किनारमा पुग्दा बालुवाको अवैध उत्खनन गरिरहेका मजदुरहरुको भागाभाग भयो ।

तर सोही क्षेत्रमा त्यही समयमा ड्युटी गरिरहेका प्रहरीहरुले भने न त्यहाँ तस्करी भएको देखे, न त मध्यरातमा सडकमा मानिसहरु हिँडिरहेका नै देखे । जनता टेलिभिजनसँगको कुराकानीका क्रममा फिल्डमै खटिएका एक प्रहरी हवल्दारले आफूहरु नियमित गस्तीमा रहेको बताए ।

यस क्षेत्रमा त्यस दिन ४ वटा मोटरसाइकलमा ८ जना प्रहरीहरु गस्तीमा थिए । तर उनीहरुले मध्यरातमा हेल्मेट नलगाई बुलेट बाइकमा दौडने बलिया युवाको समूह देखेन भने सडकमा हिँडिरहेका मजदुरलाई कहाँ जान लागेको भनेर समेत सोधेनन् । बरु सडकमा मोटरसाइकलबाट गस्ती गर्ने प्रहरीले देख्दै नदेखेको झैँ गरिरह्यो ।

निकै आत्तिएका ती प्रहरी हवल्दारको जवाफ कर्मकान्डी मात्रै थियो । किनभने यसअघि हामीले यस क्षेत्रको वास्तविक दृश्य क्यामरामा कैद गरिसकेका थियौँ । खोला क्षेत्रमा व्यापारी र तस्करहरुले सरकारी जग्गा समेत कब्जा गरेर वासिङ मेसिन राखी बालुवा धुने काम समेत गरिरहेका छन् । यद्यपि स्थानीय तह र प्रहरी प्रशासनको मौनता बुझिनसक्नुको छ ।

यस क्षेत्रमा त्यस दिन ४ वटा मोटरसाइकलमा ८ जना प्रहरीहरु गस्तीमा थिए । तर उनीहरुले मध्यरातमा हेल्मेट नलगाई बुलेट बाइकमा दौडने बलिया युवाको समूह देखेन भने सडकमा हिँडिरहेका मजदुरलाई कहाँ जान लागेको भनेर समेत सोधेनन् ।

को कसको संलग्नता छ बालुवा तस्करीमा ?

साङ्ले खोला र तारकेश्वर नगरपालिकाको बालुवा तस्करीमा बालुवाका नाइके मानिने सन्तोष कुवँरदेखि केही स्थानीय व्यक्तिहरुको प्रत्यक्ष संलग्नता रहेको छ । सन्तोष कुँवर र रञ्जित क्षेत्रीले यो सबै धन्दा चलाइरहेका छन् । उनीहरुलाई मार्सल घले, अनुराग, जयराम सापकोटा लगायतका युवाहरुले साथ दिइरहेका छन् ।

कसको के जिम्मेवारी ?

सन्तोष कुँवर :

बालुवा तस्करीको सबै सेटिङ मिलाउने काम सन्तोष कुँवरले गर्ने गरेका छन् । उनले ठेक्का हात पार्ने, जनप्रतिनिधिसँग सेटिङ गर्ने, बालुवाको डिपो चलाएर भण्डारण गर्ने र सप्लाई गर्ने काम गर्छन् ।

रञ्जित क्षेत्री :

रञ्जित क्षेत्री तारकेश्वरकै स्थानीय युवा हुन् । उनी मिर्गौलाको रोगीसमेत भएकाले दौडधुपका काम गर्दैनन् । उनको काम भनेको प्रहरी प्रशासनमा सेटिङ गर्ने, वडा कार्यालय र नगरपालिकालाई मिलाउने, टोल सुधार समिति तथा सरोकारवालालाई पैसाको व्यवस्थापन गर्ने काम गर्छन् ।

मार्सल घले, अनुराग र जयराम :

बालुवाको तस्करीमा यी व्यक्तिको काम भनेको फिल्डको व्यवस्थापन गर्ने हो । तस्करीको सिन्डीकेटका कुनै नयाँ तस्कर आएमा उसलाई रोक्ने, मजदुर तथा स्थानीयलाई धम्काउने,तर्साउने र अरुको प्रवेशलाई रोक्ने काम उनीहरुले गर्ने गरेका छन् । तस्करीमा संलग्न उनीहरुको पृष्ठभूमि हेर्ने हो भने पनि उनीहरु झै–झगडा, गुण्डागर्दी र विभिन्न आपराधिक गतिविधिमा संलग्न भई पटकटक पक्राउ परी जेल समेत परिसकेका व्यक्तिहरु हुन् ।

अघिल्लो मध्यरातमा हामी साङ्ले पुगी दृश्य छायांकन गरी फर्किएपछि प्रहरीलाई समेत दबाब परेर हुनसक्छ, बालुवा तस्करीमा संलग्न एउटा आइसर गाडी र त्यसका चालकलाई प्रहरीले पक्राउ गर्यो ।

बा ३ ख १६५१ नम्बरको आइसर जिप यतिबेला प्रहरीको नियन्त्रणमा छ भने चालक उदयपुर घर भएका धनराज तामाङ पनि प्रहरी हिरासतमै छन् । कसको बालुवा हो अर्थात् बालुवाको साहु को हो भनेर सोध्दा चालकले केही नबताएको प्रहरीले जनाएको छ । आफू बानियाँटार क्षेत्रमा बालुवाको काम गर्ने गरेको चालकले बयान दिएका छन् ।

रातमा स्टिङ अपरेशन गर्दा हामीले इन्द्रायणी पुलमा बालुवाको थुप्रो देखेका थियौँ, जुन बालुवा खोलाबाट भर्खरै निकालिएको थियो । तर भोलिपल्ट दिउँसो हामी पुनः त्यही स्थानमा पुग्दा त्यहाँ बालुवाको थुप्रो थिएन । तस्करहरुले रातको ३ देखि ४ घण्टाको समयमा सबै काम तमाम गरिसकेका हुन्छन् । एक स्थानीय भन्छन्, सबैको मिलेमतोमा यो काम भइरहेको छ ।

खोलामा सबैको मिलेमतोमा बालुवाको तस्करी हुने गरेको र आफूहरुले पटकपटक वडा कार्यालय र प्रहरी प्रशासनलाई जानकारी गराइए पनि बेवास्ता गरिएको स्थानीयको भनाइ छ ।

एक स्थानीयका अनुसार साङ्ले खोला पहिले ज्यादै फराकिलो भएपनि अहिले साँघुरिएको बताउँछन् । खोलाछेउको जग्गा मिचेर भौतिक संरचनाहरु बनाएको र करिडोरको डिजाइन राम्रोसँग नभएका कारण बेलाबेलामा खोला बस्तीमा पस्ने गरेको स्थानीयको भनाइ छ ।

बालुवा तस्करको उत्खनन्कै कारण खोलाको किनारामा लगाएको पर्खालसमेत भत्किएको छ । मजदुरले जथाभावी बालुवा निकालेर खन्दा पर्खाल नै भत्किएको हो । तर यो र्खाल बनाने जिम्माचाहिँ नगरपालिकाकै हुन्छ । करिब १ सय थुन्से बालुवाले एउटा निसान गाडी भरिन्छ । मजदुरले १५ रुपैयाँका दरले पाउने १ सय थुन्सेको मूल्य जम्मा १ हजार ५ सय परेको हुन्छ । तर त्यही बालुवा उपभोक्तले भने करिब ८ हजार रुपैयाँ तिरेर किन्नुपर्छ ।

बालुवा तस्करको उत्खनन्कै कारण खोलाको किनारामा लगाएको पर्खालसमेत भत्किएको छ । मजदुरले जथाभावी बालुवा निकालेर खन्दा पर्खाल नै भत्किएको हो ।

तस्करीमा संस्थागत मिलेमतो

सरकारले २०७४ असोज २९ गते प्रमाणित गरेको ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ को परिच्छेद ३ मा स्थानीय तहको अधिकारबारे उल्लेख गरिएको छ । ऐनको दफा ११ को उपदफा २–घ अन्तर्गत बुँदा नम्बर ६ मा ‘ढुङ्गा, गिट्टी, बालुवा, माटो, काठ–दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिक एवम् खानीजन्य वस्तुको विक्री तथा निकासी शुल्क संकलन गर्ने कुरा उल्लेख गरिएको छ । तर यसरी अवैध बालुवाको उत्खनन् र तस्करी भइरहँदा समेत स्थानीय तह र प्रहरी प्रशासन नै मौन रहनुले त्यसभित्र केही कारण त पक्कै छ भन्ने प्रष्ट हुन्छ ।

बचाउमा नगरपालिका

आफ्नो क्षेत्रमा हुने गरेका अवैध बालुवा तस्करी र प्राकृतिक सम्पदाको दोहन हुँदा समेत जिम्मेवार निकायहरु भने यसको बचाउमा लागेका छन् । अहिले भनिएजस्तो चोरी नभएको दाबी गर्दै कहिलेकाहीँ भने हुने गरेको उनीहरुको स्वीकारोक्ति छ ।

बालुवा उत्खनन भइरहेको साङ्ले खोला तारकेश्वर नगरपालिका अन्तर्गत पर्छ भने त्यस क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी बालाजु प्रहरी वृतको कार्यक्षेत्रमा रहेको छ । साङ्ले खोला क्षेत्रको सुरक्षाको जिम्मा नेपालटारमा रहेको प्रहरी प्रभागले हेर्छ । तर तस्करहरुले प्रहरी अधिकारीसँग मिलेर तस्करीको धन्दा चलाइरहेको स्थानीयको आरोप छ ।

सुरक्षा बालुवाको कि तस्करको ?

प्रहरीहरु साङ्लेको भत्केको पुल र इन्द्रायणी पुलमा बसेर तस्करहरुको सुरक्षा गरिरहेको स्थानीयको आरोप छ । बालुवा र अवैध गतिविधिको सुरक्षामा खटिनुपर्ने भएपनि प्रहरी अधिकारी वा सञ्चारमाध्यम आएमा पहिले प्रहरीले तस्करलाई सूचना दिने गरेको स्थानीयको आरोप छ । उनीहरुले अवैध गतिविधि तथा बालुवा चोरी नियन्त्रण नगरी तस्करको सुरक्षा र सुचकको रुपमा काम गरिरहेको स्थानीयको आरोप छ । यद्यपि यस सम्बन्धमा कुरा गर्दा महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी रञ्जितसिंह राठौरले तस्करी नियन्त्रणमा काम गरिरहेको र आफू मातहतका प्रहरीले कुनै बदमासी नगरेको दाबी गरेका छन् ।

तारकेश्वर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सानुकाजी खत्री पनि बालुवाको तस्करी भइरहेको स्वीकार गर्छन् । तस्करी किन नरोकेको त भन्ने प्रश्नमा खत्री आफूहरुले रोक्ने प्रयास गरेपनि पूरै रोक्न नसकिएको बताउँछन् ।

तर बालुवा तस्करीमा वडाध्यक्षकै साथ रहेको भन्ने स्थानीयको आरोप छ नि भन्ने प्रश्नमा उनले कुनैपनि तस्करलाई आफूले नचिनेको बताए ।

वडाध्यक्ष खत्रीले बालुवाको तस्करी रोक्न प्रयास गरिरहेको दाबी गरेपनि स्थानीयको आरोप भने खत्री आफैं तस्करीमा लागेको र तस्करलाई सघाएको भन्ने छ । गएको साउन २४ गते साङ्ले खोलामा डोजर लगाएर वडाध्यक्ष आँफैले बालुवा निकालेको स्थानीयको आरोप छ । जनता टिभीलाई प्राप्त भएको दृश्यमा पनि खोलामा डोजर चलाउँदा वडाध्यक्ष खत्री साथमै रहेका छन् ।

कानुन हेर्ने हो भने खोलामा डोजर लगाएर बालुवा निकाल्न वा अन्य उत्खनन् गर्न पाइँदैन । तर वडाध्यक्ष खत्रीले नगरपालिकाकै डोजर अनधिकृतरुपमा प्रयोग गरी बालुवा निकालेका थिए । वडाध्यक्ष खत्रीले कुन प्रयोजनका लागि डोजर लगेका थिए भनेर हामी तारकेश्वर नगरपालिकाको कार्यालयमा पुग्यौँ । तर नगरपालिकाको प्राविधिक शाखामा त्यस दिन डोजर लगेको रेकर्ड नै छैन ।

नियमत : कुनै स्थानमा डोजर चलाउनु परेमा नगरपालिका कार्यालयलाई त्यसको कारण सहित डोजरको लागि चिट्ठी लेख्नुपर्छ । तर वडाध्यक्ष खत्रीले साउन २४ गते साङ्ले खोलामा डोजर चलाउँदा न कुनै प्रक्रिया पूरा गरे न डोजर चलाइसकेपछि त्यसको रिपोर्ट नै पेश गरे ।

यस विषयमा नगरपालिकाका मेयर रामेश्वर बोहोराले भने बालुवा तस्करी हुने गरेको स्वीकार गर्दै केही दिनभित्रै टेन्डर प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्ने बताए । टेन्डर स्वीकृत भइसकेपछि अवैध बालुवा तस्करी बन्द हुने बोहोराले बताए ।

तारकेश्वर नगरपालिकाले केही समयअगाडि मात्रै ढुङ्गा, गिट्टी र बालुवाका लागि २ करोड ६७ लाख रुपैयाँ न्यूनत्तम मूल्य तोकेर टेण्डर आह्वान गरेको थियो । तर लकडाउनका कारण टेण्डर खोलिएको छैन । यही मौकामा तस्करहरुले बालुवाको तस्करी गरिरहँदा पनि यसको रोकथाम हुन सकेको छैन । बरु तस्करीमा संस्थागत संलग्नता र संरक्षण रहेको स्पष्ट बुझ्न सकिन्छ ।

यसबारेको विस्तृत विवरणसहितको कार्यक्रम बाइलाइन हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।