Logo कार्तिक १२, २०७७ बुधबार


सुनको पहाड : मार्क्सवादी यथार्थ र माया यथार्थ

– भरत साउद

जे देखिन्छ त्यो मात्र होइन रहेछ – यथार्थ । इतिहास पनि, जे लेखिएको छ त्यो मात्र होइन रहेछ । कतिपय अहम् महत्व बोकेका कतिपय तथ्य, घटना र वास्तविकताहरु सतहमा देखिने गरी वैधताप्राप्त रियल लाईफ भनिने यथार्थका छायाँमा अदृश्य भएका हुन सक्छन् । यथार्थका अनेक स्वरुप र आयाम हुन्छन् । पोलिटिकल्ली करेक्ट मानिने र पब्लिक खपतका लागि अनुकूल प्रायः सतही यथार्थहरु वास्तवमा त्यस्ता भुलभुलैयाका पहाड हुन् जसको छेकोमा वास्तविक महत्ता बोकेका कैयौँ यथार्थहरु छेलिएर हराइरहेका हुन सक्तछन् वा गायब गरिएका हुन सक्तछन् । तिनको उद्घाटन केवल कठीन होइन कतिपय सन्दर्भमा जोखिमपूर्ण पनि हुन्छ । तिनको दावी लिएर खुला ठाउँमा उभिन दरिलो मुटु त चाहिन्छ नै साथै इमान्दार ऋषिमन पनि उत्तिकै आवश्यक हुन्छ । सत्ता, शक्ति, बन्दुक र हिंसाको संरक्षणमा स्थापित सत्यलाई चुनौतीपूर्ण हुन सक्ने त्यस्ता सत्यको उद्घाटन गर्दा उद्घोषकले व्यक्तिगत रुपले सामना गर्नुपर्न सक्ने क्षति अनपेक्षित किसिमले भीषण हुन सक्छ । यद्यपि लेखक साहित्यकारहरु सत्ताको स्थापित सत्यलाई व्यङ्ग्य गर्दै त्यसले बेपत्ता बनाएको वास्तविक यथार्थ उद्घोष गरी नै रहेका हुन्छन् ।

राजनीतिक र सामाजिक प्रकृतिका त्यस्ता यथार्थहरुको उद्घोषणमा माया यथार्थलाई व्यङ्ग्यार्थ सम्प्रेषणको सशक्त माध्यमका रुपमा प्रयोग गरिएको पाइन्छ । आफूलाई सत्य दावी गरिरहेको भ्रमको साम्राज्यमाथि व्यङ्ग्य गर्न वास्तविक यथार्थलाई नै भ्रमको स्वरुपमा व्यक्त गर्ने वा अर्को शब्दमा स्वैरकाल्पनिक माया वा जादूलाई पनि यथार्थ जसरी प्रस्तुत गर्ने शैली आफैमा विश्मयकारी र रोचक हुन्छ । माया यथार्थवादी साहित्य लेखनको मर्म पनि व्यङ्ग्यको यही धरातल हो । नेपाली साहित्यमा प्रकाशित भइरहेका माया यथार्थवादी शैलीका कृतिहरुमा पनि स्थापित सत्यहरुमाथि त्यसै गरी आलोचना र ब्यङ्ग्य गरिएका हुन्छन् । विष्णु भण्डारीको उपन्यास सुनको पहाडको उल्लेखनीय पक्ष पनि यही नै हो ।

पछिल्लो समय माओवादी जनयुद्धको अतिशय निन्दा र अतिशय प्रशंसाको चपेटामा वास्तविक रुपले समाज परिवर्तनको उदात्त भावनाले प्रेरित भएर ज्यानको बाजी थापेर मैदानमा उत्रिएका, ज्यानको आहुती दिएका, बेपत्ता पारिएका नायक नायिकाहरुको बलिदानीको पछाडि कुन सपना र उद्देश्य रहेको थियो त्यो शःनैशःनै विस्मृतिमा धकेलिदै गएको छ । तिनका असहाय आमाबाबु, परिवार, टुहुरा बालबालिकाहरुले भोगेका पीडाहरुको मर्म विस्मृत हुँदै गएको छ । राजनीतिक सत्ताको बागडोरमा पुग्ने आफ्नो कुत्सित अभीप्सा पूरा गर्न हिजो उनीहरुलाई कसैले प्रयोग गरिरहेको हुँदो हो, आज आफ्ना बेग्लै स्वार्थ पूरा गर्न अर्कागरी स्वार्थ समूहहरु अमुक अधिकारकर्मी, अमूक नागरिक समाज र अमूक गैरसरकारी संस्थाको भेषमा उनीहरुका आसुको सौदा गरिरहेका छन् ।

कसैका श्रीमति वा आमाबाबुलाई अस्पतालमा महिनौ सुताएर उनीहरुको भत्किसकेको घरलाई झन् भताभुङ्ग पारिरहेका छन् । कसैलाई अन्तराष्ट्रिय अदालत र अमुक बहुराष्ट्रिय गैससका पछि दौडाएर विभाजित गरिरहेका छन् । नेपाली नेपाली लडाएर बेतन लिने जागिरे अधिकारकर्मी र कथित फ्रिलान्सर बुद्धिजीवीहरुको कब्जाबाट फुत्काएर यथार्थलाई सार्वजनिक गर्नु यसै पनि कठीन कार्य हो । उनीहरुले वर्तमानमा स्थापित गरेको भ्रमित यथार्थलाई चिर्न वास्तविकताको उद्घाटनले वैधता प्राप्त गर्नुपर्ने हुन्छ जुन राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिक, आर्थिक र सामाजिक सत्ताको बागडोर हातमा लिएको त्यस समूहले सजिलै हुन दिदैन । यस परिस्थितिलाई र यसले वैध तुल्याएको भ्रमित यथार्थलाई व्यङ्ग्य गर्न जुन वास्तविक यथार्थ हो त्यसलाई नै स्वैरकल्पनिक, स्वप्नशील, मायावी वा जादुयी चरित्रमा प्रस्तुत गर्ने सिद्धान्त माया यथार्थवादको नेपाली संस्करण हो । सुनको पहाड उपन्यासमा यही न्यारेटिभ प्रविधि अवलम्बन गरिएको छ ।

मार्क्सवादी साहित्यको एक स्टेरियोटाइप शैली छ । त्यसले लेखकीय पार्टीप्रतिबद्धताको कुरा गर्छ । समाज वर्गीय छ, निम्न वर्गमाथि उच्च वर्गीय शोषण र दमन छ र त्यस उत्पीडनको अन्त्यका लागि संगठित रुपले संघर्ष हुने गर्छ । त्यही संघर्षको नाम वर्गसंघर्ष हो । वर्गसंघर्षमा अन्तिम विजय निम्न वर्गीय सर्वहारा श्रमिक वर्गकै हुन्छ । यही नै त्यस्तो साँचो हो जसमा कुनै पनि साहित्यिक रचनाले माक्र्सवादी कहलिनका लागि फिट हुनैपर्छ । अर्थात् माक्र्सवादी साहित्यले निम्न वर्गीय पक्षधरतासहित साम्यवादी समाज निर्माणका अभियन्ता श्रमिक पक्षको विजय देखाउनै पर्ने आग्रह राख्छ । यसलाई मार्क्सवादीहरुले यथार्थको प्रारुपीकरण भन्ने गरेका छन् । आलोचकहरु माक्र्सवादको यही रुढीगत चरित्रका कारण त्यसमा सिर्जनात्मक स्वतन्त्रता कुण्ठित हुने तर्क गर्छन् ।

लामो समयदेखि मार्क्सवादी साहित्यमा क्रियाशील भएका कारण विष्णु भण्डारी पनि कविता, खण्डकाव्य, महाकाव्य र आख्यानमा समेत अन्तिम विजय सर्वहाराकै हुने निष्कर्षमा वर्गसंघर्षको चित्रण गर्दै आएका हुन् । गद्य लामा कवितामा बढी रुची भएका उनी भाषा शैलीमा नवीन प्रयोगबाट रम्यताको सिर्जनामा भन्दा विषयमा साम्यवादी विचार प्रकट गर्ने कुरामा जोड दिने हुनाले प्रगतिवादी कविका रुपमा उनका कविता कलाभन्दा कथ्यमा केन्द्रित अर्थात् प्रगतिवादी भनिनेहरुका शब्दमा भन्नुपर्दा रुपमा भन्दा अन्तर्वस्तुमा जोड दिने साहित्यकारका रुपमा परिचित थिए र छन् । यद्यपि पछिल्ला कृति पहेलो घाम देखि सुनको पहाड उपन्याससम्म हेर्दा सिर्जनात्मक प्रयोगमा उनको रुची ज्यादै नै प्रकट भएको देखिन्छ । यो उनको लेखनमा देखिएको सामान्य अभिलक्षण मात्र नभइै सोचाइमै आएको स्वतन्त्रता र खुलापन हुन सक्ने सम्भावना सशक्त छ ।

सुनको पहाड उपन्यास माओवादी जनयुद्धकै विषयमा लेखिएको कृति हो । तर यो माओवादीहरुको दृष्टिमा माओवादी हुने छैन र खाओवादीहरुका दृष्टिमा खाओवादी पनि हुने छैन । यो उपन्यास कसैलाई रिभझाउनका लागि लेखिएकै होइन । शान्ति प्रक्रियापछिका वर्षहरुमा जनयुद्धको उदात्त बलिदानी इतिहासलाई राष्ट्रिय जीवनको यथार्थबाट जसरी छायाँमा पारिदै छ, त्यस इतिहासलाई यस उपन्यासमा माया, जादु, स्वप्न र स्वैरकल्पनाका माध्यमले नवीन संस्करणमा अभिलेखीकरण गरिएको छ । गैर–माओवादीलाई त्यो मन पर्ने छैन । राज्यसत्ताबाट विद्रोहीले पाएका यातना, गैरकानुनी हत्या र उत्पीडनको परम्परागत वर्णन उपन्यासको उल्लेखनीय उपलब्धि पनि होइन र विषय चयनमा गरिएको नयाँ सिर्जनात्मक आविष्कार पनि होइन । अर्कातिर कथ्यशैली र सिर्जनात्मकतामा देखिएको उत्तरआधुनिक प्रयोग तथा नेतृत्वको ब्यङ्ग्यात्मक आलोचनासहित उपयोग गरिएको सिर्जनात्मक स्वातन्Ïय माओवादीहरुलाई मन पर्ने छैन ।

त्यसैले यस कृतिको सही मूल्याङ्कन हुन तटस्थ द्रष्टाभाव सहितको खुला मस्तिष्क र सन्तुलित तराजु आवश्यक पर्नेछ । यस उपन्यासका लक्षित पाठक पनि माओवादी र खाओवादी दुबै होइनन् । साहित्य र समाजप्रति, जीवन र जगतप्रति खुला धारणा राख्ने ओपन माइन्डेड, आग्रहपूर्वाग्रहले नथिचिएका र गहन विषयमा पनि समभाव र हलुका विस्मित हसितसहित स्पूmर्त मनले त्यसको रम्यता ग्रहण गर्न सक्ने आम स्वतन्त्र पाठकका लागि यो कृति ग्राह्य हुने छ । यथार्थलाई उल्झनमय बनाएर काल्पनिक, स्वैरकाल्पनिक र स्वप्नशील पक्षको प्रस्तुतीले यथार्थका बहुरुपलाई स्वीकार्य बनाउने माया यथार्थवादी शैलीलाई मूल रुपमा अपनाएको यो उपन्यास कला र शैलीभित्र सिर्जनात्म प्रयोगहरुको आविष्कारबाट पुरानै विषयवस्तुमा पनि कसरी नयाँ स्वाद आउन सक्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ ।

नेपाली साहित्यमा मोहनराज शर्मा, धु्रवचन्द्र गौतम, गोविन्दराज भट्टराई प्रभृति साहित्यकारहरुले आख्यान तथा अन्य विधामा माया यथार्थवादको प्रयोग नगरेका होइनन् । नेपाली साहित्यमा स्वैरकल्पना, जादु, तन्त्र आदिको प्रयोग विगत लामो समयदेखि हुँदै आएको छ । यद्यपि मार्क्सवादीहरुले भन्ने गरेको गतिशील यथार्थ वा सामाजिक–राजनीतिक रुपान्तरणकारी संघर्षको यति गहन विषय र त्यसको सघन संश्लेषण भएको सिङ्गो उपन्यासमा माया यथार्थवादी न्यारेटिभ प्रयोग गरिएको सुनको पहाड उल्लेखनीय रचना हो । यो आफैंमा आटिलो कदम पनि हो ।

उपन्यासमा नेपाली समाज र राजनीतिक विषयलाई जादु यथार्थको अनेक बान्कीहरु प्रयोग गरेर आलोचनात्मक कोणबाट विष्णु भण्डारीले प्रस्तुत गरेका छन् । सुनको पहाड उपन्यासको शीर्षक पदावली नै माया यथार्थबाट सिर्जना गरिएको बिम्ब हो । कम्युनिस्टहरुले देख्ने देखाउने सपनाका रुपमा रहेको कम्युनिस्ट सोसाइटी (साम्यवादी समाज) लाई प्रतीकात्मक रुपले सुनको पहाडको बिम्बमा अभिव्यञ्जित गरिएको छ । सुनको पहाड त्यसैले पनि स्वप्न यथार्थ(हल्युसनरी रियालिटी) हो । नेपालमा २०५२ सालदेखि २०६२/६३ सालसम्म चलेको जनयुद्धको समय, त्यसपछिको राजनीतिक विकास र खास गरी जनयुद्धले देखाएका सपनाहरुको समापन/अवसानप्रतिको लेखकीय विमति स्वप्न यथार्थका माध्यमबाट मुखर गरिएको छ ।

उपन्यासकी प्रमुख प्रोटागनिस्ट कञ्चन जनयुद्धमा होमिएकी पात्र हो । घरबाट मध्येरातमा गुप्त किसिमले भूमिगत युद्धमा सामेल हुन हिडेकी त्यस किशोरीको मनोदशालाई प्रस्तुत गर्न लेखकले देवदुत र देवयानीसँग संवाद गराएका छन् । किशोरीको साहसी अठोट र अभिलाषा नै वास्तवमा त्यहाँ प्रस्तुत गरिएका देवदूत र देवयानी हुन् । तर तिनलाई लेखक साच्चै पुराण वर्णित देवदूत र देवयानी धर्तीमा आएर कञ्चनसँग वार्तलाप गरे जसरी प्रस्तुत गर्छन् । स्वैरकल्पनालाई यथार्थ जसरी प्रस्तुत गर्ने शैली माया यथार्थवादको विशेषता हो । कञ्चन हराएपछि गाउँको तान्त्रिक भन्छ–यो घटना यहाँ मात्र होइन, सबैतिर घटेको छ । गाउँबस्तीबाट यसैगरी युवायुवती बेपत्ता भएका छन् । त्यो पनि प्राय एकै समयमा । यसरी देवदूत, देवयानी, तान्त्रिक आदिको प्रयोग गरेर अयथार्थलाई यथार्थसित अन्तर्घुलन गराउँदै कथा भन्ने शैली भण्डारीले अपनाएका छन् । यो पनि माया यथार्थवादकै मौलिक पक्ष हो । उपन्यासमा जनयुद्धमा मारिएकाहरु र संसारभरका सत्ताविरुद्ध विद्रोह गर्ने विद्रोहीहरु मृत्युपछि नयाँ संसारमा भेला भएका छन् र त्यहाँ मार्क्सवादीहरुले भन्ने गरेको साम्यवादी व्यवस्था रहेको कल्पना गरिएको छ । यसलाई वास्तविक यथार्थप्रति स्वप्न यथार्थका माध्यमले गरिएको कठोरतम व्यङ्ग्य मान्न सकिन्छ ।

यथार्थलाई जादु, माया वा अलौकिकतासँग अल्झाउने हुनाले मार्क्सवादीहरु यसको विरोध गर्छन् । उनीहरु यसलाई यथार्थको विद्रुपीकरण पनि भन्न सक्छन् । मार्क्सवादीहरुले सुन्ने नचाहने शब्द हो – उत्तरआधुनिकतावाद । उनीहरुका शब्दमा अत्तरआधुनिकतावाद भनेको मृत्युको मुखमा पुग्नै लागेको वृद्ध पुँजीवादले आत्मरक्षाका लागि प्रयोग गरेको अन्तिम अस्त्र हो । त्यसैले उनीहरु माया यथार्थ, स्वप्न यथार्थ, अतियथार्थ, अधियथार्थ, कल्पना यथार्थ, अधिआख्यान जस्ता आख्यानका उत्तरआधुनिक शैलीलाई मार्क्सवादी यथार्थवादका विरोधी शैलीका रुपमा विरोध गर्छन् । मार्क्सवादीय पार्टी प्रतिबद्धता/संकीर्णताभन्दा फरक लेखकीय स्वतन्त्रता र सिर्जनात्मक प्रयोगका साथ साहित्य रचना गर्नु मूलधारका भनिने प्रगतिवादी लेखकका लागि साहसिक कार्य हुन्छ । त्यसलाई दुस्साहसिक पनि भन्न सकिन्छ । किनभने तिनका पार्टी र पार्टीका भ्रातृय संगठनका रुपमा रहेका लेखकहरुका संगठन भेषधारी भजनमण्डलीहरुका नेताहरुबाट बदख्वाइँ मात्र होइन वहिष्करण नै पनि सुरु हुन सक्छ । ती मण्डलीहरु यति शक्तिशाली छन् कि तिनले जसरी कर्मकाण्डका आचरण पालना गर्न नसक्ने हिन्दू ब्राह्मणको जात गएको घोषणा तिनका पञ्चायतले गर्थे र तिनलाई जैसी बनाउथे ठीक त्यसै गरी माक्र्सवादीको जात गएको घोषणा गरेर संशोधनवादी, नवसंशोधनवादी वा अन्य कुनै थर÷जातको बनाइदिन सक्छन् । नेपालमा पार्टी राजनीतिको लाचार छायाँका रुपमा रहेका प्रगतिशील लेखक संघ प्रलेस, अखिल नेपाल लेखक संघ, नेपाली लेखक संघ, जनसाहित्य मञ्च र अरु नयाँनयाँ पार्टी नामका गुटहरुका संघहरु सबै त्यस्ता कर्ममा व्यस्त नै छन् ।

माओवादी पार्टीको लेखक संगठनका कुनै बेला अध्यक्ष समेत रहिसकेका र प्रगतिवादी लेखकहरुको मूल प्रवाहकै नेतृत्व तह वा अग्रपंतिमा रहेका लेखक मानिने विष्णु भण्डारीले सुनको पहाड उपन्यासमा अँगालेको न्यारेटिभ शैलीले गर्ने परिवर्तनको संकेत अवश्य पनि साहसिक मात्र होइन अर्थपूर्णसमेत मान्नुपर्ने हुन्छ । यसको अर्थ, हुन सक्छ – विचारलाई अभिव्यक्त गर्न प्रभावकारी हुने शैली जुनसुकै भए पनि चाहे त्यो उत्तरआधुनिक वा जुनसुकै किन नहोस् त्यसले सूचनाको सम्प्रेषणलाई खास सन्दर्भमा तुलनात्मक रुपले बढी प्रभावकारी बनाउँछ भने त्यसको प्रयोग गर्न हिच्किचाउनुपर्ने कुनै कारण छैन भन्नेमा प्रगतिवादीहरु विश्वस्त भएका हुन् । हुन सक्छ – सिर्जनात्मक स्वतन्त्रतामा पार्टीगत संकीर्णता र परम्परागत माक्र्सवादी रुढीगत ढर्राप्रति लेखकको विश्वास टुटेको हो । हुन सक्छ – मार्क्सवादी विषय पनि आधुनिक शैलीमा प्रकाश गर्नुपर्ने आवश्यकता लेखकले बोध गरेका हुन् । हुन सक्ने कुरा त धेरै नै हुन सक्छन् तर अहिलेलाई भएको कुरा त यत्ति हो – मार्क्सवादी लेखनीका परम्परागत घेराहरु तोडेर सुनको पहाडको कथा स्वतन्त्र सिर्जनात्मक आविष्कारको खुला आकाशमुनि दह्रोसित उभिएको छ । यद्यपि लेखकको माक्र्सवादी मोह साम्यवादको सपना र वर्गसंघर्ष नामक हिंसात्मक युद्ध र काटमारका पक्षमा परोक्ष रुपले अभिमुख भएकै छ ।

संसार, जीवन, जगत, मानव समाजको उत्पत्ति, विकास, वर्तमान र भविष्यका अनन्त विषयहरुमा भएका चिन्तन र व्याख्यामा आधारित भएर मानिसले प्रतिपादन गरेका सिद्धान्त, दर्शन र मान्यताहरु अनेकौँ छन् । तिनमा विविधता छ । ती मानव मस्तिष्कबाट सिर्जित तर्कमा आधारित छन् र कुनै पनि दर्शन, सिद्धान्त वा मान्यता सर्वस्वीकार्य छैनन् । अर्थात् सर्वस्वीकार्य सत्य आजसम्म मानिसले प्राप्त गर्नु त के पत्ता लगाउनै सकेको छैन । मानिसको मस्तिष्कको सीमा पनि यहीँनेर दृष्टिगोचर हुन्छ । यदि हामीले ठानेको सत्य संसारका कूल मानिसको आधा हिस्साले पनि सही नमानेका हुन सक्छन् भने त्यस्तो अल्पसत्यका लागि फरक मत राख्ने मानिसहरुमाथि हिंसा गर्नु कति जायज होला ? त्यसैले आपूmलाई सही नलाग्दैमा अरुका विचार, सिद्धान्त र दर्शन सही होइनन् भन्नु र तिनको सम्मान गर्न नसक्नु पनि आफ्नै अल्पता हो । आफूले मानेको दर्शन, विचार र मान्यता स्थापित गर्न वा त्यस अनुसार समाज व्यवस्था कायम गराउन फरक विचार, दर्शन र मान्यता भएका वा आफ्नो मतमा विमति राख्नेहरुप्रति हिंसा गर्नु, युद्ध काटमार गर्नु, समाजको भाइचारा नष्ट गर्नु र अशान्ति मच्चाउनु सामाजिक जीवनविरुद्ध मात्र होइन मानवताकै विरुद्धको अपराध हो भन्ने मानवीय मूल्य पक्षधर निष्कर्षमा पुग्न भने सुनको पहाड उपन्यासको चिन्तन पक्ष चुकेको देखिन्छ ।

युद्धले निम्त्याएको अभिघातमा समाज, व्यक्ति र राष्ट्रकै एक पुस्ता कसरी पीडित बन्यो, त्यसको दारुण चित्र उपन्यासमा छ । क्रान्तिकारीहरुको दमनमा सत्ताधारी सेनाले देखाएको बर्बरताको पर्दाफास पनि उपन्यासमा छ तर त्यसको परिणाम कसका पक्षमा आयो वा युद्धले विघटन गरेका परिवार, रित्तिएका आमाका काख, सहाराविहीन बनेका अबोध बालबालिका, असहाय वृद्ध बुवाआमा, उजाडिएका प्रेम र जीवनको परिपूरण कसरी हुन्छ, सडकबाट नेताहरुलाई सत्तामा पु¥याएकै आधारमा युद्धको औचित्य सिद्ध होला, यस्ता अनेकौ प्रश्नहरु सुनको पहाड उपन्यासको बुनोट र बनोटका सन्दर्भमा जेलिएर आएका छन् । यद्यपि युद्धको एक पक्ष माओवादीको नेतृत्वले आत्मसमर्पण गरेका कारण साम्यवादी सपनाहरु अधुरा रहेका हुन् नत्र भने शोषण, दमन, असमानता सबै समाप्त भएको वर्गविहीन समाज निर्माण भइहाल्थ्यो भन्ने किसिमको कथ्य उपन्यासमा मसिनो गरी ध्वनित भएको नै छ । यस्ता जनयुद्ध, वर्गयुद्ध, वर्गसंघर्ष भनिने काटमार र लडाइँहरुले असमानताको, उत्पीडनको र विभेदको अन्त्य, मानवीय मूल्यको प्राप्ति, विकासको उत्कर्ष, श्रमको सम्मान र समाजलाई समृद्धिको उचाइमा पु¥याउने भन्ने कुरा आफैँमा हास्यास्पद त हैन भन्ने पक्षमा भने उपन्यास मौन छ । नयाँ संसारको चित्रणमा लेखकले प्रस्तुत गरेको शान्ति, समृद्धि र सभ्यताको उच्च स्वरुप के युद्धबाटै आउन सम्भव होला ? उपन्यासमा खडकिने प्रश्न यही हो ।

सुनको पहाड मार्क्सवादी नेपाली साहित्यका सन्दर्भमा एक किसिमले शैलीगत नयाँ प्रयोग हो । यसले गहिरो गरी दर्शनमा विमर्श गर्न खोजेको छैन बरु समसामयिक यथार्थका टड्कारा विडम्बनाहरुमाथि प्रतिक्रियाजन्य अभिव्यक्तिको सम्प्रेषण गर्न व्यङ्ग्यात्मक शैलीको प्रयोग गरेको छ । यसमा युद्धका घाउहरु र त्यसका पीडाहरु प्रस्तुत गर्न घटना र पात्रहरुको अतियथार्थीकरण गरिएको छ । सहिद तथा बेपत्ता नागरिका परिवारहरुको मनोदशा, मानसिक पीडा र वास्तविक अवस्थाको चित्रण गर्न स्वप्नजगत्, प्रेतात्मा र तन्त्र आदिलाई यथार्थकै समान वैधता प्रदान गरिएको छ । कतिसम्म भने उपन्यासको अन्त्यमा पनि लेखक तपाईँलाई स्वैरकल्पना र जादुजस्तो लाग्न सक्ने यो कथा भ्रम नभएर वास्तविक कथा हो भन्दै पाठकलाई अहिलेको यथार्थ नै भ्रमात्मक रहेकोतिर संकेत गरिरहेका छन् । साम्यवादप्रतिको लेखकीय आकर्षण र साम्यवादी व्यवस्थाको बारेमा समाजमा रहेको रुमानी अवधारणाको प्रतिबिम्बन गर्न मायावी किसिमले जादुयी सुरुङभित्र नयाँ संसारको रचना गरेका छन् । यी सबैबाट नेपालको कम्युनिस्ट आन्दोलन, त्यसको नेतृत्व र समग्र सामाजिक राजनीतिक प्रणालीप्रति असन्तुष्टि र त्यसको विकल्पका रुपमा साम्यवादी व्यवस्थालाई प्रस्तुत गरिएको छ ।

सुनको पहाड मार्क्सवादी नेपाली साहित्यका सन्दर्भमा एक किसिमले शैलीगत नयाँ प्रयोग हो । यसले गहिरो गरी दर्शनमा विमर्श गर्न खोजेको छैन बरु समसामयिक यथार्थका टड्कारा विडम्बनाहरुमाथि प्रतिक्रियाजन्य अभिव्यक्तिको सम्प्रेषण गर्न व्यङ्ग्यात्मक शैलीको प्रयोग गरेको छ ।

कथा भन्ने शैली नै सुनको पहाड उपन्यासको मूल शक्ति र प्राप्ति हो । गाब्रियल गार्सिया मार्खेजकै शैलीमा भण्डारीले स्वैरकल्पनालाई यथार्थ जस्तै गरी प्रस्तुत गरी यथार्थ जस्तो देखिने र मायावी जस्तो देखिने दुबै यथार्थबिचको सीमाना नष्ट गरिदिएका छन् । ओन हन्ड्रेड इअर्स अफ सोलिच्युडमा माकन्डो क्षेत्रमा भएको राजनीतिक विद्रोह र जनयुद्धको इतिहासलाई जसरी स्वैरकल्पनासँग मिश्रण गरिएको छ । सुनको पहाडमा पनि नेपाली जनयुद्ध र राजनीतिक विद्रोह स्वैरकल्पनाको मिसावटमा अभिव्यञ्जित भएको छ ।

सुनको पहाड खोज्न निस्केको बरुण बेपत्ता छ । मञ्जिला बेपत्ता छे । मञ्जिलाको आत्माले सचिनलाई लखेटीरहेको छ । धीरजंग करसाप आफ्नी पत्नी रानीसाहेबकै आत्माको सिकार भएको छ । करसापकै यातनाबाट मारिएकी विद्रोही युवती उपमाको प्रेतात्मा, वरुणकी आमाको प्रेतात्मा, मारिएका अनेकौ विद्रोहीहरुका प्रेतले कर्नेललाई सताइरहेका छन् । टोनी मरिसनको उपन्यास विलभ्डकी प्रमुख पात्र दास आमा (सेथी) लाई उसले आफैले हत्या गरेको आप्mनै बच्चाको आत्माले सताएको परिवेशसित यी परिघटनाहरुको निर्माण तुलनीय छ । माया यथार्थवादको नमूना कृति मानिने बिलभ्ड उपन्यासमा दास हुनबाट जोगाउन सेथीले आप्mनो सन्तानको हत्या गर्छे पछि ऊ र उसको परिवार त्यही बच्चाको प्रेतबाट पीडित हुन्छन् । तर सुनको पहाडको कर्नेल भने दासताबाट मुक्ति पाउन भनेर विद्रोहमा उत्रेका विद्रोहीहरुको हत्या गरेर तिनका र तिनका परिवारका सदस्यहरुका प्रेतबाट पीडित बन्न पुगेको छ ।

मिडनाइट्स चिल्ड्रेन उपन्यासमा सल्मान रुस्दीले भारतीय स्वतन्त्रता संग्रामपछिको राजनीतिक परिस्थिति र सामाजिक साँस्कृतिक प्रभावहरुको प्रतिबिम्ब उतार्न जादु यथार्थको प्रयोग जसरी गरेका छन् त्यसरी नै उत्तर जनयुद्धकालीन नेपाली राजनीति र समाजमा रहेका त्यसका आभिघातिक असरहरु प्रस्तुत गर्न सुनको पहाड उपन्यासमा पनि माया यथार्थको कथनशैली प्रयोग गरिएको छ । सन् १९४७ अगस्ट १५ को मध्यरात १२ बजेदेखि १ बजेसम्म जन्मेका बालबालिकाहरुमा विशेष मायावी क्षमता रहेको कल्पनालाई रुस्दीले यथार्थ जसरी नै प्रस्तुत गरेका छन् । सुनको पहाडमा पनि भण्डारीले २०५२ सालदेखि २०६३ सालसम्म जनयुद्धका क्रममा मारिएका विद्रोहीहरु र सत्ताविद्रोहमा मारिएका संसारभरका विद्रोहीहरुलाई नयाँ साम्यवादी संसारमा भेला गराएर मायावी शक्तिको कल्पनालाई यथार्थ जस्तो स्वरुप प्रदान गरेका छन् । मिडनाइट्स चिल्ड्रेनमा त्यस मध्यरातमा जन्मेका शिशुहरुमध्ये उपन्यासको प्रमुख पात्र तथा कथयिता सलिम सिनाइमा टेलिप्याथिक क्षमता छ । उक्त क्षमताको प्रयोग गरेर ऊ त्यस रात जन्मेका देशभरका फरकफरक भूगोल जात, धर्म, संस्कृति र पृष्ठभूमिका शिशुहरुको सम्मेलन गर्छ । यसबाट भारतीय उपमहाद्वीपमा रहेका चरम विविधतामा एकतासम्बन्धी तत्समयको सर्वाधिक महत्वपूर्ण मुद्दामा मानवीय मूल्यबारेको लेखकीय सम्बोधन भएको छ । तत्कालीन राजनीति, इन्दिरा गान्धीबाट थोपरिएको इमर्जेन्सी तथा सञ्जय गान्धीको रोहमा जामा मस्जिदका झुपडपट्टी हटाउने अप्रेसनमा भएको निम्न वर्गीय हताहती आदिको तीब्र आलोचना उपन्यासले गरेको छ । उपन्यासको मूल कथ्य समाज र राजनीति नै हो । सुनको पहाडमा पनि स्पार्टाकस देखि सुवासचन्द्र बोस र चुनु गुरुङसम्मका इतिहास र राजनीतिका वास्तविक विद्रोहीहरु पात्रका रुपमा प्रयोग भएका छन् । वर्तमान राजनीतिक सत्ताको आलोचना पनि उस्तै किसिमले तुलनीय बन्न पुगेको छ । विश्व साहित्यमा जादु यथार्थ सामाजिक राजनीतिक वर्तमानको र कतिपय सन्दर्भमा इतिहासको आलोचनात्मक प्रतिबिम्बनका लागि अभिव्यक्तिको कलात्मक माध्यम बन्ने गरेको पाइन्छ ।

उत्तर जनयुद्धकालीन नेपाली राजनीति र समाजमा रहेका त्यसका आभिघातिक असरहरु प्रस्तुत गर्न सुनको पहाड उपन्यासमा पनि माया यथार्थको कथनशैली प्रयोग गरिएको छ ।

मिखाइल गुल्भाकोभले आफ्नो उपन्यास मास्टर एन्ड मार्गरिटामा स्टालिनकालीन मस्कोमा जसरी सैतानको प्रवेश भएको कल्पनाबाट शासकीय तानाशाहीमाथि व्यङ्ग्य गरेका छन् त्यसै गरी व्यङ्ग्यात्मक फेन्टासीको परिष्कार तथा कलात्मक उचाइका लागि सुनको पहाडमा प्रेतात्माहरुको यथार्थीकरण गरिएको छ । एलिजो कार्पेन्टिएरको द किङडम अफ दिस वल्र्डमा जस्तो अद्भूत यथार्थको सिर्जना, मिगेल एन्जेल अस्टेरियसको मेन अफ मेजमा जस्तो राजनीतिक सत्ता र शक्तिकेन्द्रको परिवर्तनको चित्रणमा आदिवासी दन्त्य कथाको प्रयोग मात्र गरिएको छैन सुनको पहाडमा नेपालको राजतन्त्र जत्तिकै पुरानो २४५ वर्ष उमेर पुगेको फुर्वा नामको तान्त्रिक पात्रका माध्यमले स्वायत्तता र राजनीतिक सत्ता प्राप्तिका लागि पुस्तौपुस्ताले गरेको विद्रोहहरुको सम्झना पनि गरिएको छ । इसाबेल एलिन्डीको उपन्यास हाउस अफ दि स्पिरिटको प्रस्तुतिसँग यसको समरुपता देखिन्छ । यसरी हेर्दा माया यथार्थवादी कृतिहरुको केन्द्रीय उद्देश्यमा विश्वभरि नै राजनीतिक व्यङ्ग्य प्रमुख रुपमा रहेको देखिन्छ । यस्ता कृतिहरुका कथ्य, उद्देश्य, शैली, घटनापरिघटनाको आयोजना र अनेक विशेषताहरुसँग सुनको पहाड उपन्यासको तादात्म्य हुँदाहुँदै पनि नेपाली राजनीतिको मौलिक विषय, परिवेश, दिक्–काल–स्थिति मात्र होइन भाषिक सिर्जन क्षमता र समष्टि रचना कौशलले नै सुनको पहाड उपन्यासलाई नितान्त मौलिक सिर्जनात्मकता प्रदान गरेको छ । त्यति मात्र नभई नेपाली साहित्यमा अधिक सोफिस्टिकेटेड स्वप्न यथार्थवादी (हल्युसिनेटरी रियलिस्टिक) साहित्यको पायोनियर कृतिको स्थानमा यो उपन्यास उभिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।