Logo कार्तिक ९, २०७७ आइतबार


एक्सक्लुसिभ रिपोर्ट : प्रहरी नै चढ्छन् चोरीका मोटरसाइकल, प्रयोग गर्छन् नक्कली नम्बर

मदन ढुङ्गाना/निरज तामाङ

काठमाडौं । नागरिकको जिउ धनको सुरक्षा गर्ने कसम खाएका प्रहरी आफै चोरीको धन्दामा संक्रिय छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो की प्रहरी आफै चोरीका सामान प्रयोग गर्छन् र यस्तो धन्दामा अप्रत्यक्ष ढंगबाट संलग्न छन् ।

हामीले भेटेका प्रमाणहरुले यसको पुष्टि गर्छ । प्रहरी जो चोरीका मोटरसाइकलहरु समात्छन् । त्यसलाई केही समय कार्यालयमा राख्छन् । र, सम्बन्धित धनीलाई बुझाउनको साटो छानी छानी राम्रा मोटरसाइकल, नम्बर फेरि फेरि आफै चढ्छन् । कतिपय प्रहरीले अरुको मोटरसाइकललाई आफ्नै जस्तो बनाएर मस्ती गर्दै आएको पाइएको छ ।

मोटरसाइकल नम्बर १ : बा ९० प ४१९

बा ९० प ४१९ नम्बरको केटीएम ड्युकको मूल्य अहिले करिब करिब ८ लाख रुपैयाँ पर्छ । यो मोटरसाइकलमा सवार हुने व्यक्तिचाहिँ बालाजु प्रहरी वृत्तका लेखापाल अर्थात् नेपाल प्रहरीका सई प्रकाश कँडेल हुन् ।

उनले यो मोटरसाइकल आफ्नै कमाईबाट किनेका भने होइनन् । बरु यो मोटरसाइकल प्रहरीले बरामद गरेपछि पटकपटक नम्बरसमेत परिवर्तन गरेर चलाइएको मोटरसाइकल हो ।
अनि यो मोटरसाइकलमा अहिले जुन नम्बर प्लेट प्रयोग गरिएको छ, त्यो पनि नक्कली नम्बर प्लेट हो ।

यातायात व्यवस्था कार्यालयको रेकर्ड हेर्ने हो भने बा ९० प ४१९ नम्बरको मोटरसाइकल केटीएम ड्युकको नभएर बजाजको पल्सर २ सय २० सीसीको मोटरसाइकल हो । यो मोटरसाइकल धनी नुगेतडेन अटो बचत तथा ऋण सहकारी संस्था हो । यसको ठेगाना काठमाडौ,मनमैजु रहेको छ ।

तर बालाजु वृत्तका सइ प्रकाश कंडेलले २ वर्षदेखि यो मोटरसाइकल आँफैले चलाइरहेका छन्, त्यो पनि नम्बर फेरि फेरि ।

जनता टेलिभिजनलाई प्रहरी आँफैले नक्कली नम्बर प्लेट राखेर मोटरसाइकल चलाइरहेको भन्ने जानकारी आएपछि हामी गोप्यरुपमा यो मोटरसाइल हेर्न र चालकलाई भेट्न हामी महानगरीय प्रहरी वृत्त बालाजु पुग्यौँ ।

हामी त्यहाँ पुग्दा हाम्रो मोटरसाइकल हराएकाले खोज्न आएको भन्दै भेट्न गएका थियौँ । हामीले आफ्नो केटीएम ड्युक मोटरसाइकल हराएको भन्दै उनीसँग कुरा गरेपछि उनले उक्त मोटरसाइकल आफूले चलाइरहेको तर कसको हो भन्ने थाहा नभएको बताए ।

बरु प्रहरीले अपरेशनका क्रममा बरामद गरेको र मोटरसाइकलको धनी नभेटिएको हुँदा आफूले चलाइरहेको कँडेलले बताए ।

कुराकानीकै क्रममा हामीले भेट्टाएको मोटरसाइकल पनि चलाउन मिल्छ र भनेर सोधेपछि उनले नमिल्ने तर प्रहरी संगठनबाट स्वीकृति लिएर नै चलाइरहेको दाबी गरे ।

उनीसँगको सवालजवाफ थप अघि बढाउँदै हामीले उक्त बाइक हाम्रो हुनसक्ने भन्दै थप कुरा गरेपछि उनले कागजात लिएर आउन र प्रमाण पुगेमा दिने बताए ।
………..

मोटरसाइकल नम्बर २ : बा ४९ प ६८०१

महानगरीय प्रहरी वृत्त स्वयम्भुको कार्यालय परिसरभित्र छ बा ४९ प ६८०१ नम्बरको खैरो रङको साइन मोटरसाइकल । १ सय २५ सिसीको यो मोटरसाइकल यतिबेला वृत्तमा कार्यरत प्रहरी जवान प्रकाश ढकालले प्रयोग गरिरहेका छन् ।

तर यातायात व्यवस्था कार्यालयको रेकर्ड हेर्ने हो भने यो मोटरसाइकलमा पनि नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइएको छ । यातायात व्यवस्था कार्यालयको रेकर्डमा यो मोटरसाइकल नुवाकोटका सुजन सिंह ठकुरीका नाममा दर्ता रहेको छ ।

सक्कली रेकर्डमा यो मोटरसाइकल हिरो होण्डाको २ सय २३ सिसीको करिज्मा मोटरसाइकल हो । तर महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी जवानले यही नम्बर प्लेट राखेर १ सय २५ सिसीको होण्डाको साइन मोटरसाइकल प्रयोग गरिरहेका छन् ।

हामी केही दिनअघि प्रकाशलाई भेट्न प्रहरी कार्यालय नै पुग्यौँ । पहिलेझैँ हामीले हाम्रो मोटरसाइकल हराएको भन्दै तपाइँसँग त्यस्तै मोटरसाइकल छ रे हेरौं न भनेर सोध्यौँ । तर सुरुमै उनले हामीलाई कागजात देखाउन भने । हामीले पनि पहिले तपाइँले चढिरहनु भएको मोटरसाइकलको कागजात देखाउनोस् भनेपछि केही नरम भए ।

तपाइँले के आधारमा कसरी यो मोटरसाइकल चढीरहनु भएको छ भनेर सोधेपछि उनले डिएसपीसँग सल्लाह गरेर आफूले मर्मत गरी चलाएको बताए ।

कहाँबाट कसरी पाउनुभयो भन्ने प्रश्नमा उनले चोरी गरेर कसैले ग्यारेजमा हाल्दै गर्दा समातेको र कोही व्यक्ति पनि लिन नआएकाले आफूले मर्मत गरी चलाएको स्पष्टीकरण दिए ।

यसरी चलाउन मिल्छ त भन्ने हाम्रो प्रश्नमा उनले बाइकमा धेरै खर्च भएको र हाकिमले नै चलाउन भनेपछि चलाएको बताए ।

यी दुबै मोटरसाइकल प्रहरीले विभिन्न अपराधमा फरार रहेका व्यक्ति वा बेवारिसे अवस्थामा फेला पारेपछि आफ्नै प्रयोजनमा प्रयोग गरिरहेका मोटरसाइकलहरु हुन् । पहुँच पुग्ने र माथिल्लो स्तरको अधिकृतले राम्रो मोटरसाइकल पाउँछन् भने तल्लो तहको कर्मचारीले मध्यमस्तरकै मोटरसाइकल चलाउने गरेका छन् ।

जबकि कानुन हेर्ने हो भने यस्तो मोटरसाइकल कि राजश्व अनुसन्धान विभागमा बुझाउनुपर्छ कि त धनी खोजेर दिनुपर्छ । दुबै गर्न नसकिएपनि प्रहरीले सुरक्षितरुपमा राख्नुपर्छ । तर चोरी र अपराध रोक्ने प्रहरी आँफै यस्तै चोरीका मोटरसाइकलमा आफूखुशी नम्बर प्लेट राखेर चलाइरहेका छन् । चोरीका मोटसाइकल चढ्ने प्रहरीबाट आम नागरिकले के अपेक्षा गर्ने ?

प्रहरी नै चलाउछन् नक्कली नम्बर प्लेटका मोटरसाइकल

प्रहरीले विभिन्न अपराधका घटनामा संलग्न वा बेवारिसे अवस्थामा फेला परेका मोटरसाइकललाई नियन्त्रणमा लिने गर्छ । मोटरसाइकल समेत मुद्दाको प्रक्रियामा गएमा यस्ता मोटरसाइकल सुरक्षितरुपमा राख्नुपर्छ । मोटरसाइकल भारतबाटै चोरी गरी वा राजश्व नतिरी नेपाल ल्याएको भए राजश्व अनुसन्धान विभागलाई बुझाउनुपर्छ । मोटरसाइकलको इञ्जिन र च्यासिस नम्बर यदि नेपालमा दर्ता भइसकेको रहेछ भने यस्ता मोटरसाइकलको धनी खोजेर बुझाउनुपर्छ ।

मोटरसाइकल नम्बर ३ : बा७९प १३०८

बा७९प १३०८ नम्बरको यो मोटरसाइकल बुलेट मोटरसाइकल हो । यसको मुल्य अहिले ५ लाख रुपैयाँभन्दा बढी पर्छ । अहिले यस मोटरसाइकलका चालक महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत असई रुद्र भट्ट हुन् ।

तर रुद्रले पनि यो मोटरसाइकल किनेर चलाएका भने होइनन् । बरु कुनै अपराधका घटनामा संलग्न व्यक्तिले प्रयोग गरेको यस मोटरसाइकल असई भट्टले नम्बर परिवर्तन गरी चलाएका हुन् ।

यातायात व्यवस्था कार्यालयको तथ्यांक हेर्ने हो भने यस नम्बर प्लेटको सवारीसाधन ललितपुरका साजन महर्जनको नाममा दर्ता छ । असई भट्टले सेतो रङको बुलेट मोटरसाइकलमा यो नम्बर प्लेट प्रयोग गरेको भएपनि दर्तामा भने यस नम्बरमा यामाहाको रे–टुआर स्कुटर रहेको छ ।

१ सय १३ सिसीको यो स्कुटर महर्जनले आफ्नी छोरीका लागि खरिद गरेका थिए र यो स्कुटर अहिले पनि साजन महर्जनका ज्वाईं श्रृजन मानन्धरले प्रयोग गरिरहेका छन् ।

प्रहरीका असईले नै नक्कली नम्बर प्लेट राखेर मोटरसाइकल चलाइरहेको थाहा पाएपछि हामी रुद्रलाई भेट्न काठमाडौ सिफल पुग्यौँ । सुरुमा तपाइँलाई सुचना दिनु छ भनेर हामी त्यहाँ पुगेका थियौँ । त्यसपछि बल्ल हामीले आफ्नो मोटरसाइकल हराएको र तपाइँले प्रयोग गरिरहेको मोटरसाइकल हाम्रो जस्तै देखिएकाले हेर्न आएको बतायौँ ।
उनले सुरुमा कागजात देखाउन भने । हामीले पहिले मोटरसाइकल हेरौं भनेपछि उनले मोटरसाइकल एकजना भाइलाई चलाउन दिएको बताए ।

त्यसपछि हामीले यो मोटरसाइकल कहाँबाट कसरी ल्याउनुभएको भनेर सोध्यौँ । उनले प्रहरीले जफत गरेको मोटरसाइकल आफूले प्रयोग गरिरहेको बताए । यातायातबाट मोटरसाइलको लगत लिनुभएन त भन्ने हाम्रो प्रश्नमा उनले लगत हेर्न पठाएको तर भन्सारमै मोटरसाइकलको लगत नभेटिएको बताए । सुरुमा उनले यो बाइक वानेश्वर वृत्तको रेकर्डमा रहेको बताए । तर बानेश्वरको रेकर्डमा उक्त मोटरसाइकल नै देखिएन ।

भन्सारमै दर्ता नभए त राजश्वमा बुझाउनुपर्ने होइन र ? भन्ने हाम्रो प्रश्नमा उनले कार्यालयबाट सहमति लिएर चलाएको बताए । यता यस नम्बरकै स्कुटर चलाइरहेका सक्कली धनी साजन महर्जनका ज्वाईँ श्रृजन महर्जनले प्रहरी आँफै यस्तो नक्कली काममा लागेको भन्दै यस्तो काम गलत भएको बताउँछन् । चोरी नियन्त्रण गर्नुपर्ने प्रहरीले नै चोरीको मोटरसाइकलमा नक्कली नम्बर प्लेट राखेर चलाएको भन्दै त्यस्ता प्रहरीलाई कारवाही हुनुपर्ने बताउँछन् ।

स्कुटर नम्बर ४ : बा२२प १६४४

बा२२प १६४४ नम्बरको यो स्कुटर हेर्नुहोस् । हिरो कम्पनीको रातो रङको यस प्लेजरका चालक प्रहरी सहायक निरीक्षक अर्थात् असई दिपेश खड्का हुन् । उनी महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत छन् ।

उनलाई पनि हामीले सुचना दिने भनेर स्वयम्भुकै गुहेश्वरीमा बोलायौँ । उनी त्यही मोटरसाइकल चढेर आए । त्यसपछि हामीले आफूहरु पत्रकार भएको र तपाइँले चोरीकै मोटरसाइकल चढ्नुभएको छ रे हो भनेर सोध्यौँ । उनले सुरुमा होइन मेरो नै नाममा भएको स्कुटर हो भने ।

त्यसपछि हामीले कागजात हेरौं न त भन्यौँ । त्यसपछि बल्ल उनले आफूले यो स्कुटर सोह्रखुट्टेबाट लिएको र आफ्नो नभएको बताए । तपाइँले कसरी लिनुभयो त भन्ने प्रश्नमा उनले कार्यालय प्रमुखसँग सल्लाह गरेर लिएको र २ वर्ष पहिलेदेखि चलाइरहेको बताए ।

तर यातायात व्यवस्था कार्यालयको रेकर्डमा भने यस नम्बरको सवारीसाधन ललितपुरका रामबाबु महर्जनको नाममा दर्ता रहेको छ । रामबाबुको नाममा दर्ता रहेको यस नम्बर प्लेटमा बजाज कम्पनीको १ सय ९ सिसीको बैजनी रङको वेभ मोटरसाइकल हो ।

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । नेपाल प्रहरीका विभिन्न वृत्तमा कार्यरत कैयन् प्रहरी अधिकारी र जवानहरुले नक्कली नम्बर प्लेट राखेर चोरीमा समातिएका यस्ता मोटरसाइकलहरु प्रयोग गरिरहेका छन् । कतिपय मोटरसाइकल चोरी गरी भागेका वा बेवारिसे अवस्थामा समातिएका मोटरसाइकल छन् भने कतिचाहिँ भारतबाटै चोरी गरी ल्याइएका मोटरसाइकल छन् । भन्सारमा दर्ता नभएका मोटरसाइकल भन्सारमा बुझाउने र भन्सारमा दर्ता भएका मोटरसाइकल धनी खोजेर फिर्ता गर्नुपर्ने भएपनि प्रहरीले धनी खोजेर फिर्ता गर्ने वा राजश्वमा बुझाउने भन्दा पनि आफ्नै सहुलियतका लागि प्रयोग गरिरहेको पाइन्छ । ००००

कानून भन्छ, जफतका मोटरसाइकल चलाउनु गैर–कानुनी

कहीँ चोरी, डकैती भयो वा राजश्व छलीको सुचना आयो भने सबैभन्दा पहिले पुग्ने भनेको प्रहरी नै हो । तर प्रहरी आँफै चोरी वा भन्सार छलीका मोटरसाइकल चढेर हिँड्छ भने चोरी नियन्त्रण कसले गर्ने ?

प्रहरीका प्रत्येक वृत्त वा कार्यालयहरुमा गयौँ भने त्यहाँ कैयन् मोटरसाइकलहरु वर्षौदेखि थन्किएका हुन्छन् । यी सबै मोटरसाइकलहरु कि राजश्व छलीका हुन् कि त बेवारिसे अवस्थामा फेला परेका वा चोरीपछि समातिएका मोटरसाइकलहरु हुन् ।

नियमतः यी मोटरसाइकलहरु प्रहरीले कि राजश्व कार्यालयमा बुझाउनुपर्छ कि धनी खोजेर जिम्मा लगाउनुपर्छ ।

तर यदि धनीले हराएको मोटरसाइकलको इन्सुरेन्सवापत रकम लिइसकेको भए इन्सुरेन्सलाई जिम्मा दिनुपर्छ र इन्सुरेन्सले लिलामी प्रक्रियाबाट बेच्नुपर्छ । तर लिलाममा लैजानुभन्दा पहिले कम्तीमा ३५ दिनको सूचना दिएर दाबी लाग्ने भए लिन आउनु भनेर सूचना जारी गर्नुपर्छ ।

तर यदि धनी वा इन्सुरेन्स कम्पनी पनि यस्ता मोटरसाइकल लिन नआएमा प्रहरी कार्यालयले कार्यालय प्रमुख वा निजले तोकेको अधिकृतस्तरको कर्मचारीको संयोजकत्वमा कम्तीमा ३ सदस्यीय मूल्यांकन समिति गठन गर्नुपर्छ । समितिमा संयोजकबाहेक सम्बन्धित क्षेत्रको विज्ञ अर्थात् यातायात कार्यालयबाट मेकानिकल इञ्जिनियर र सामान जिम्मा लिने स्थानको कर्मचारीले उक्त सरसामानको मूल्यांकन गर्नुपर्नेछ ।

समितिले मोटरसाइकलहरुको मूल्यांकन गरी न्युनतम बोलकबोल मुल्य राखेर लिलाम बढाबढमा जानुपर्छ । र, सबैभन्दा बढी सकार गर्ने व्यक्ति वा संस्थाले यस्ता मोटरसाइकल लिलामीमा पाउन सक्छ । त्यसपछि प्रक्रिया पुराएर उक्त सवारीसाधन दर्ता गरी लिलाम सकार्ने व्यक्तिको नाममा जिम्मा लगाउनु पर्छ र लिलामवापतको रकम नेपाल सरकारको राजश्वमा दाखिला गर्नुपर्छ ।

तर प्रहरी आफ्नो दैनिक काममै ब्यस्त रहने भएकाले यस्ता झन्झटिला काममा लागिरहन चाहँदैन । दोस्रो, सरकारले प्रहरी कर्मचारीका लागि आवश्यक साधनसमेत दिन नसकेका कारण कतिपय प्रहरी कार्यालय वा वृत्त र अनुसन्धानमा खटिने अधिकृत वा कर्मचारी यस्तै सवारीसाधनको भरमा चलेका छन् । जसका कारण प्रहरी लिलाम प्रक्रियामा गएर थप झन्झट लिइरहन चाहँदैन । त्यसकारण पनि अहिले प्रहरी कार्यालयहरुमा प्रशस्त मात्रमा यस्ता मोटरसाइकलको देख्न सकिन्छ ।

यातायात व्यवस्था कार्यालय सतुंगलका सूचना अधिकारी कुनै व्यक्तिले नक्कली नम्बर प्लेट राखेर मोटरसाइकल चलाएको पाइएमा त्यो गैरकानुनी हुने र मोटरसाइकल जफत गरी ६ महिनासम्म कैदसमेत गर्न सकिने बताउँछन् ।

तर के प्रहरी आँफैले प्रयोग गरिरहेका यी मोटरसाइकलहरु जफत गरेर उनीहरुलाई ६ महिनासम्म थुनामा पठाउन सक्छ त ?

प्रहरीले किन चोरीका यस्ता मोटरसाइकलहरु राजश्वमा बुझाउने वा धनी खोजेर जिम्मा लगाउने काम गर्दैन भनेर सोध्दा प्रहरी अधिकृतहरु बोल्न तयार भएनन् ।

हामीले महानगरीय प्रहरी वृत्त बालाजु, स्वयम्भु तथा महानगरीय प्रहरी परिसर काठमाडौं, उपत्यका प्रहरी र केन्द्रीय प्रहरी इकाईलाई पनि यसबारेमा सोध्यौँ । तर क्यामेरामा कुनै पनि निकायका प्रहरी बोल्न तयार देखिएनन् । बरु त्यस्तो मोटरसाइकल चढ्न नमिल्ने र प्रयोग गरेमा त्यो गैरकानुनी हुने मात्रै बताउँछन् ।

प्रहरी आँफैलाई थाहा छ कि यस्ता चोरीका मोटरसाइकल प्रयोग गर्न पाइँदैन । तर शान्ति सुरक्षामा खटिनुपर्ने प्रहरीलाई सरकारले आवश्यक सवारीसाधन दिन नसक्दा प्रहरीले यस्ता सवारीसाधन प्रयोग गर्न बाध्य छन् । कतिपय प्रहरी अधिकृतहरु राम्रा र महङ्गा मोटरसाइकल देखेपछि लोभिन्छन्, कतिको बाध्यता पनि होला । कतिपय कर्मचारीहरु कार्यालय छाडेर अर्को कार्यालयमा जाँदासमेत सोही मोटरसाइकल लिएर जान्छन्, त्यो पनि व्यक्तिगत कामका लागि । तर पनि प्रहरी कार्यालयमा रेकर्ड दुरुस्त नराख्दा अहिले कुन कुन प्रहरी कार्यालय वा निकायबाट क–कसले मोटरसाइकल लिएर चलाइरहेका छन् भन्ने यकिन तथ्यांकसमेत छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।