Logo कार्तिक १२, २०७७ बुधबार


पत्रिकामा छापिएको एउटा कथाले म्यानमारको नेपाली समाज विभाजित (कथासहित)

काठमाडौं । एउटा साहित्यिक पत्रिकामा प्रकाशित कथालाई लिएर म्यानमारको नेपाली भाषी समाज वैचारिक रुपमा विभाजित भएको छ ।

म्यानमरबाट प्रकशित हुने साहित्यिक पत्रिका ‘ऐरावती‘ मा प्रकाशित कथाकार सेरु थापाको कथालाई लिएर बर्मेली नेपाली समाज विभाजित भएको हो । विवाद यति उचाइमा पुगेको छ कि पत्रिकाका सम्पादक ज्ञानबहादुर थापा बगालेले राजीनामा दिनुभएको छ ।

सम्पादक थापाले यसअघि नै पत्रिकामा छापिएको कथामा आएको विवादका कारण पत्रिकाको खर्च आफैँ बेहोर्ने र पत्रिका वितरण नगर्ने घोषणा गर्नुभएको थियो । तर त्यसपछि पनि विवाद साम्य नभएपछि अन्ततः सम्पादक थापाले पदबाट राजीनामा दिनुभएको हो । उहाँले कथा छाप्नु गलत भएको भन्दै हिन्दु धर्ममा आस्था राख्ने म्यान्मारका नेपालीहरू समक्ष माफी समेत माग्नुभएको छ । तर माफीपछि पनि विवाद विवाद बढ्दै गएको छ ।

पत्रिकामा प्रकाशित रामायणको अधुरो काण्ड, अपुरो प्रेम शीर्षकको कथाका कारण बर्मेली–नेपाली समाज दुई भागमा विभाजन भएको छ । नयाँ पुस्ताका युवाहरूले पत्रिकामा लेखिएका कुरामा आपत्ति जनाउन नहुने बताएका छन् । पत्रिकामा छापिएको एउटा कथाकै आधारमा पत्रिका पढ्नबाट वञ्चित गर्नु अपराधको पराकाष्ठा भएको उनीहरुको भनाइ छ । उनीहरुले पत्रिका पढ्न पाउनुपर्ने माग राखेका छन् ।

तर पुराना पुस्ता र धार्मिक व्यक्तित्वहरू भने पत्रिकाले नेपाली चेली सीताको चरित्रमाथि धावा बोलेको भन्दै त्यस्ता व्यक्तिहरूलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताइरहेका छन् ।

पढ्नुहोस् विवादित कथा :

रामायणको अधुरो काण्ड, अपुरो प्रेम

–सेरु थापा

सीताहरणको (राक्षसी विवाहलाई लंका नदिएको) अभियोगमा बाँदरको फौजको सहयोग लिई अयोध्याको राम र लंकाको रावणबीच घमाशान युद्धपश्चात् विभिषणको साहारा लिई छलकपटले रावण मारिएर नरक र धर्तीबीच पुगेको थियो । अनि यताबाट अयोध्या फर्किएपश्चात् पनि रामको आफूप्रतिको अविश्वास सहन नसकी बाह्र वर्ष जंगल बसेकी सीतालाई अझ पुरुषत्वको दुरुपयोग र लाञ्छना सहन गर्न नसकी सीताले आफ्नो पतित्याग गरी धर्तीको बाटो भएर वैकुण्ठ जानलाग्दा …..

सीताले नै आफ्नो पुरानो रिसलाई दर्शाउने प्रयास गर्दै आफ्नो मुख बाँउछिन्, देखिस् होला न नि एउटी पतिव्रता स्त्रीमाथि आँखा लगाउनुको परिणाम, मनुष्य जुनीमा मात्र नभएर अहिलेसम्म पनि दुःख खपिरहेको छस् ।

रावण– (मनमनै हाँस्छ तर मुहारमा सकेसम्म धीरता ल्याउच) होइन सीते, तिम्रो त्यो राम पनि कतिको गतिलो थियो ? मैले बाटामा यमदूतको मुखबाट सुनेको थिएँ, मबाट छुट्कारा दिलाएर तिमीलाई शंकाको तराजुमा तौलिएको थियो रे त !

सीता– त्यो त, (केही भन्न नपाई रावणले बात काट्छ)

रावण– त्यो त, भनिरहनु पर्दैन सीते । मायाको प्रदर्शन गर्न के गरेन त्यसले, निमुखा बाँदरको मन जित्न सुग्रीबको मन जित्ने उदेश्यले बिचरा बालीलाई मारी बाँदरको फौज आफ्नो हातमा लियो । जसको सहारामा समुन्द्रमा सेतु बाँध्यो । लंका आयो । कुलद्रोही विभिषणको सहारा लिई छलकपटले मलाई मार्यो । अनि तिमीलाई छुट्कारा दिलायो । यदि माया लाग्थ्यो भने फेरि किन तिमीलाई अग्नि परीक्षा लगायो ? भगवान् रामचन्द्र भनेर सम्बोधन गर्छ लोक ! हा हा हा …

सीता– (मलिन र हुन त हो को अनुहार बनाएर) त्यो त हो । तर जेहोस्, म पतिव्रता थिएँ । आगोमा हिँड्दा पनि फूलमा हिँडेको अनुभव भइरहेको थियो । तर यस्तो अनुभव तँ जस्ता पापिष्टलाई के थाहा ?

रावण– म पापी नै हो भने तिम्रो मुहार मलिन किन ? (अलि दृढ भएर)

सीता– मेरो मुहारको मलिनताको आधार लिएर आफ्नो अपराधबाट मुक्त हुने प्रयास नगर रावण । यो मेरो मनमा मेरो प्राणनाथबाहेक अरु बसेको छैन र बस्न पनि सक्दैन । बुझिस् !

रावण – होला तिमी पतिव्रता तर मैले अपराध गरेँ अरे कस्तो अपराध ….

सीता – परस्त्रीमा आँखा लगाउनु जतिको भयंङ्कर अपराध अर्को नहोला । तैँले त्यही अपराध गरेको बिर्सिस् कि कसो हो ?

रावण – हाम्रो धर्म या हाम्रो समाजले ( आठवटा ) विवाहलाई मान्यता दिएको थाहै छ तिमीलाई । त्यसमा मैले गर्न चाहेको विवाहचाहिँ राक्षसी विवाहअन्तर्गत पर्छ । मैले पाप या अपराध गरे झैँ लाग्दैन, पाप हो भने हाम्रो शास्त्र झूटो हुनु पर्छ, वास्तविक पापी हाम्रो परम्परा हुनुपर्छ । मैले गरेको अपराध झैँ लाग्दैन, अपराध हो भने हाम्रो संस्कृति झूटो हुनुपर्छ , वास्तविक अपराधी हाम्रो धर्म हुनु पर्छ । दर्शनले देखाएको अनुसरण गर्दा पापी वा अपराधी कहलाइन्छ भने परम्पराको के महत्व …..! (सीता अवाक् भएर सुन्यासुनै हुन्छिन् …..)

रावण मौका गुमाउन चाहन्न र कुरा फेरि जोड्छ, “एउटा सुन्दर र आकर्षित वस्तु दे चुम्बक झैँ खिचिनु मानव सभ्यता हो, के तिमीलाई आफ्नो परम्परामाथि विश्वास लाग्दैन …?”

द्विविधात्मक स्वरले, “लाग्छ ।”

रावण – “सीता, कुनै पनि व्यक्तिलाई अपराधी ठहराउन एउटा कसी चाहिन्छ । त्यो एउटा व्यक्तिले स्वेच्छाले निर्णय गर्न पाइन्न । मैले तिमीलाई आज धर्मको आधार लिई म अपराध मुक्त हुन चाहेको होइन । तर म स्वीकार्दिनँ पनि आफ्नो गल्ती ….. ।”

सीता – अब पनि म तिमीलाई अझै पापी ठहराएर म आफ्नो शब्दको अपमान गर्न चाहन्न । तिमीले स्वीकार्नु र नस्वीकार्नुले के हुन्छ ! जे गर्यौ तिमीले एउटी नारीको अस्मितासँग
खेलवाड गर्यौँ ।

रावण – अब तिम्रो नजरमा पापी नै हो भने पापी नै सही तर सीते यो एउटा प्रेमको सहास मात्र हो । पहिलो नजरमै म तिम्रो यौवनको पुजारी बनेँ । यै हो मेरो अपराध । म स्वीकार छु पहिलो नजरमै तिमीलाई यो दिलमा राखेँ यै हो मेरो पाप …..।

सीता परपुरुषको मुखबाट आफ्नो बयान सुन्दा अपराध अनुभव गर्छिन्, “भयो रावण मेरो लागि यो सुन्नु पनि अपराध हो । म चाहन्न मेरो पवित्रतामाथि कालो धब्बा लगाउन ।”………..दुबै मौन हुन्छन् केही निमेष ……………।

रावण – (त्यहाँ छाएको निमेषभरको सन्नाटालाई काट्दै) त्यसो भए म तिमीलाई एउटा कुरा सोध्न सक्छु ?

सीता – सोध न ।

रावण – तिमी आफ्नो छाति समातेर भन, के म अपराधी हूँ ?

(सीता स्वीकार्नु र नस्वीकार्नुबीचको भुमरीमा फँसिन्छिन् ……. केही नभनी मौन नै रहन्छिन् ।)

रावण – अनि तिमी यो पातालको बाटो कसरी त ! तिमी त लक्षमीको अवतार रे त ! तिमी त स्वर्गको बाटो गरेर बैकण्ठ जानु पर्ने, यताबाट किन ?

सीता – (लज्जित स्वरमा) के भनूँ तिमीलाई अब ? तिमीले त झन्न अग्नि परीक्षाको काण्डा मात्र सुनेको रहेछौ । तत्पश्चात धेरै कालसम्म त सुखसँग जीवन बिताएँ , फेरि अचानक एउटा धोबीले मेरो पवित्रतामाथि औँला उठायो । अनि श्रीरामचन्द्रले केही पनि नसोची मेरो परित्याग गर्नु भयो ।

रावण – (छक्क पर्दै) एउटा, त्यो पनि धोबी … तिम्रो परिवारले केही भनेनन् ? तिम्रो साथ दिएनन् ? अनि तिम्रा प्रजाले केही भनेनन् ? (प्रश्नमाथि प्रश्नको ज्वारभाट उठ्छन् रावणको मनमा ।)

सीता – भनेको थिए । परिवारले , प्रजाले भनेको माने पो ! (रिस मिश्रित स्वरमा ।)

रावण – अनि ?

सीता – अनि के त ! लक्षमणले मलाई जङ्गलमा पुर्याइदिए । बाल्मीकिको आश्रममा वाह्र बर्ष बिताएँ ।

रावण – बिचारा ! तिम्रो भाग्य …….???

सीता – मलाई मेरो भाग्यलाई दोष दिनु छैन , तर पति परमेश्वरमाथि पनि दोष थुपार्नु छैन । हुनु थियो, भयो । सकियो ।

रावण – लु, म तिम्रो कुरामा सहमति जनाएँ । तर सीते ! कुनै पनि कार्य कारणबिना घट्दैन । होइन र ?

सीता – त्यो त हो । तर मलाई यसबारे बहस गर्ने मुड छैन । (अलि झर्किएर भन्छिन् ।)

रावण – ल तिम्रो मर्जी सीते । एउटा कुरा सोध्छु ल ? के तिमीलाई मैले अपहरण गरेपश्चात एक अंगमा पनि छुने प्रयास गरेँ ? तिमीलाई त मैले आफ्नो धर्मपत्नी बनाउने प्रयास मात्र गरेको थिएँ । तिम्रो मनमा राज्य गर्न चाहेको थिएँ । प्रेम अपराध होइन, प्रेम त एउटा ईश्वरीय वरदान हो । संसार यसैबाट चलेको छ । प्रेम गर्ने प्रेमीको हत्या गर्नु कहाँसम्मको क्रूरता हो ? तिमी आफैँ भन । फेरि आफूले इज्जत गर्न सकिन्न….. परित्यागै गर्नु, मारेर झूटो मायाको कदर गर्न सकिन्न भने त्यसलाई । बरू तिमी मसँग बसेकी भए सुनको महलमा !

सीता – भने जति सजिलो कहाँ हुन्छ ? हिन्दू परम्परामा हुर्किएर अर्को पति लियो भने जघन्य अपराध मानिन्छ । भोक लागेपछि भात, कसैले सिन्दूर रंगाउँछ । कस्तो बिडम्बना छ हामी नारीहरूको, तिमी पुरुषहरूले बुझ्दैनौ रावण, बुझ्दैनौ ।

रावण – (अबुझ स्वरमा) अलि बुझिन तिम्रो भनाइ ??

सीता – यै त छ बाध्यता , मूल कुरो आउँदा तिमी पुरुषहरू अन्जान बन्दिन्छौ । हामी नारीका बाध्यताहरू कहाँ बुझ्ने कोशिश गर्छौ र तिमी पुरुषहरूले ! भोकको आदत दिलाउने तिमी पुरुष नै हौ, अनि भोक लाग्दा जे पायौ त्यही खाँदा लाञ्छना लाउने पनि तिमी पुरुषहरू नै । आखिर के चाहन्छौ तिमी पुरुषहरू ? कति र के के सहने हामी चेलीबेटीले ? तिमी पुरुषहरूले चाहिँ भात नपाए अरू खाएर पेट भरे हुने , हामी नारी चाहिँ भोकै बस्दा पनि शङ्काको नजरले हेर्छौ ।

रावण – होइन सीता, हाम्रो परम्परा र धर्मले त रोक लगाएको छैन । रोक लगाउनेमा धर्मका रक्षक भनाउने धर्मगुरूहरू हुन् । अर्को हाम्रो समाज पुरुषप्रधान पनि हो । हाम्रा जति धर्मका पुस्तकहरू छन् ती सबै पुरुषले मात्र लेखेका हुन् , यसले गर्दा नारीलाई तल देखाइएको छ ।

सीता – के उसो भए हामी नारीलाई स्वतन्त्र बाँच्ने अधिकार छैन ? के हामी नारीलाई मनमौजी बाँच्ने अधिकार छैन ? तिमी पुरुषहरूलाई यसको छुट छ, एउटी, दुइटी, तीनटी, जतिवटी लिए पनि हुन्छ । योचाहिँ घोर अन्याय गरेका छौ, तिमी पुरुषहरूले र पुरुष प्रधान समाजले ।

रावण – म एउटा कुरा स्वीकार गर्छु , हाम्रो समाजले तिमी नारीहरूमाथि अन्याय गरेको छ । तर विश्वास गर, म त्यो पुरुष वर्गमा छैन जहाँ नारीको अपमान हुन्छ । हुन त राक्षस वर्गमा मेरो जन्म भएको नाताले पनि मैले जे गरे अपराध ठहरिन्छ । सायद यही नाताले पनि मेरो कार्यलाई अपराध ठानियो । तर सीता, मैले गरेको मात्र माया थियो ।

सीता – जे भन रावण, आखिर तिमी पनि पुरुष हुन पायौ ।

रावण – तिम्रो सोचाइ सही हो । हो म पुरुष हो । तर मैले त्यो प्रथालाई उलङ्घन गरेर तिम्रो अपहरण गरेको थिएँ । म छैन त्यस्तो समाजको पक्षमा, जसमा पुरुष र नारीबीच भेद होस् । मेरो विचारमा नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । एउटा शरीर हो भने अर्को आत्मा ।

सीता – दुई जोइको पोइ कुना पसी रोइ भन्ने चलनलाई पनि त अन्देखा गर्न सकिन्न । यदि म तिम्रो प्रेमलाई स्वीकारेको भए पनि त रामचन्द्रले परित्याग गरेभन्दा बेसी दुःख पाउने थिएँ । होइन र ?

रावण – हो , म विवाहित पुरुष हूँ । स्वीकार्छु । तर सीता, मेरो विचारमा एकबाट अर्को लिनु भनेको चोखो प्रेममा निर्भर पर्छ । प्रेमले साहस प्रदान गर्छ । अनि प्रेमले चोखो र शुद्ध भावना प्रदान गर्छ । त्यसले मनमा नौलो अनुभूति प्रदान गर्छ । मेरो मतलब प्रेम बसेर नयाँ एउटी भित्राए पनि पहिली पत्नीलाई बिर्सनु भनेको होइन । र हरेक बाध्याताले जसरी लिए पनि सिन्दूर रंगाएपछि उसप्रति आफ्नो कर्तव्य र दायित्व जे छ त्यो निभाउनु पर्छ । बराबर प्रेम दिएर घरलाई स्वर्ग तुल्याउनु पर्छ । ठूलीको रहर , सानीको माया , दुवैको कदर गर्नुपर्छ ।

सीता – (मनमनै पछुताउँछिन् । रावणको विचार सुनेर उसप्रतिको रिस बिल्कुलै हराएर गएको अनुभव गर्छिन् ।) तर रावण हाम्रो जात पनि…..

रावण – त्यै त । त्यै त । जातपातको घोचो लिएर हाम्रो समाजले र समाजका भद्र भनाउँदाहरूले प्रेमीप्रेमिकाहरूलाई निष्क्रियतातिर घचेटिरहेका छन् । एकार्कासँग एकाकार भएर स्वतन्त्र बाँच्ने अधिकार खोसेका छन् । जस्ले गर्दा कयौँ युवायुवतीहरू नचाहँदा नचाहँदै मृत्युको मुखमा पर्न बाध्य भएका छन् । दिनरात पीडा र मर्मको जाँतोमा पिल्सिन बाध्य भएका छन् । कुसुमपथमा हिँड्ने रहरको गला निमोठी काँडापथमा हिँड्नु परिरहेको छ । जातपातको पर्खाल लगाएर आफ्नो गन्तव्यको दूरीमा नै शिर फोडी–फोडी मर्न बाध्य भएका छन् । तर सीते , के तिमी र मेरो मिलनबीचको बाधा यो जातपात र हाम्रो परम्परा मात्र थियो त ?

सीता – मनको गहिराइभित्र पलाएको प्रेमको मुना मौलाउन नपाउँदै समाजका लाञ्छनाहरूले बौलिने परिस्थिति जन्माइदिन्छ । यसलाई साहस गरेर सामना गर्ने आँट पनि शिथिलिँदो रहेछ । रावण , बाध्यताको कारागारभित्र दिनरात बाँच्नुको व्यथा मलाई सोध न ?

रावण – हुन त हामी दुवैको समस्या एउटै रहेछ । फरक यति रहेछ, मैले बाहिरी दुःख भोगेँ , तिमी भित्री । तर विश्वास गर सीता, आज पनि म तिमीलाई त्यति नै प्रेम गर्छु जति पहिला गर्दथेँ । (भएभरको प्रेमको धारा बगाउँछ ।)

सीता – (अघि रिसले हटिसकेको खाली मनको फाँटमा अब रावणप्रति आदर उब्जिएको थाहा पाउँछिन् ।) रावण , म तिम्रो विचारसँग सहमत छु । हो, मैले भित्रभित्रै दुःख खेपेको थिएँ । लाज छाडेर, आफ्नो अस्तित्व बिर्सेर अनि कसैकी पत्नी हो भन्ने कुरा पनि बिर्सिएर भन्ने हो भने म पनि तिम्रो बाहुबलप्रति आकर्षित नभएको हैन । तिमीलाई भित्रभित्रै नचाहेको हैन । पुरुषप्रधान समाजको पैतलामुनि कुल्चिएका हामी नारीहरूले बाहिरी केही प्रकट गर्न सकिँदो रहेनछ । तिम्रो बुद्धिमत्ता ती त्रिलोक चौध भुवनमै फैलिएको देख्दा मलाई मेरो अतीत बिर्सन मन लागेको थियो । म कसैको पत्नी हूँ भन्ने कुरा पनि भुलिदिन मन लागेको थियो । मनको इच्छा पछि तन लगाउन नसक्दा आज तिम्रो यो हविगत भयो, मेरो यो हालत ………………………।

रावण – तिमीले पहिलै स्वीकारेको भए त्यो भगवान् भनाउँदो रामलाई मात्र हैन, सारा संसारलाई जित्ने साहस राख्थे । (पश्चातापको स्वरमा भन्छ)

सीता – हामी नारीको जीवन बाध्यता र कमजोरीको च्यापमा च्यापिएर बाँचेको हुन्छ । आफ्ना इच्छा र आकांक्षा दबाएर बाँच्नु परेको हुन्छ । चाहेर पनि केही गर्न सकिँदो रहेनछ , भएर पनि स्वीकार्न सकिँदो रहेनछ । (आँखाभरि आँसु पार्छिन्)

रावण – त्यै त भयो, बाध्यता हामी जस्ता प्रेमी एकअर्कालाई त चाहन्छौँ तर मिलन असम्भव हुँदो रहेछ । सयाद हामी नदीका दुई किनारा, एकअर्कालाई हेर्न मात्र अधिकार छ । हामीबीच समाज, समाजका अन्धा परम्परा , बाध्यता , कमजोरहरूले हाम्रो मिलन छेक्दो रहेछ । राम जस्ता प्रेमको आदर गर्न नजान्नेहरूले हामीलाई मार्दो रहेछ । सीते , तिम्रो प्रेमको अधुरो प्यास लिएर म मरेँ । तर हुन्छ र मिल्छ भने आउने जुनीमा म तिम्रो बन्न चाहन्छु ।

सीता – कमसेकम तिमी त पहिलै मर्यौ, सुख पायौ । सही दुःख पाउने त म पो ! भित्रभित्रै म मरेको थिएँ रावण तिम्रो प्रेमको अभावमा । म पनि जात , पात , धर्म , परम्परा र पतिव्रताको अन्धविश्वासबाट अलग्गिएको संसारमा जन्म लिन पाऊँ, तबमात्र हाम्रो मिलन सम्भव छ ।

(दुवैको मुहारमा मन्द मुस्कान छाउँछ, दुवैले मनको बोँझ हल्का भएको अनुभव गर्छन् र खुशी खुशी दुवै आआफ्नो बाटो लाग्छन् ।)

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।