निरन्तर वर्षाका कारण काठमाडौंका नदीमा बाढी (फाेटाेफिचर)

माेहनप्रसाद मैनाली
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाकाे महत्वपूर्ण नदी प्रणालीमा पर्ने बागमतीमा पानीको सतह बढेको छ । काठमाडौं उपत्यकामा रहेका दुई मुख्य नदीहरु बागमती र विष्णुमतीमा बाढी आएको छ ।
विष्णुमतीमा मिसिन आउने खोला तथा ढलका कारण विष्णुमतीमा उच्च बाढी आएको छ । त्यस्तै, बागमती नदीमा मिसिन आउने सहायक नदी विष्णुमतीसहित हनुमन्ते, मनोहरा, रुद्रमती, नख्खुखोला लगायतमा वर्षाका कारण बढेको जल प्रवाहले बागमतीमा बाढीकाे सतह उच्च देखिएकाे छ ।
प्रत्येक वर्ष बाढीका कारण बागमती नदी किनारामा धनजनको क्षतिसमेत हुने गरेको छ । बाढीका कारण बागमती तथा विष्णुमती नदी किनारमा बसोबास गरेका बासिन्दा वर्षेनी समस्यामा पर्ने गरेका छन् । केही दिन अघिदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन वर्षा जारी रहनेछ ।
पवित्र नदीका रुपमा लिइने बागमती उपत्यकाको उत्तरमा पर्ने शिवपुरी पर्वतबाट उत्पति भई सुन्दरीजल, गोकर्णेश्वर महादेव, पशुपति आर्यघाट, शंखमुल टेकु दोभान भई चोभार पार गरी तराई हुँदै भारत प्रवेश गर्दछ ।
देशको राजधानीमा पर्ने यसै नदीको किनारमा विकसित भएको सभ्यतालाई बागमती सभ्यता समेत भन्ने गरिन्छ ।