नपाकेको किवी टिप्ने किसानलाई अनुदान रोकियो

इलाम । कलिलैमा टिपेर किवीफल बजार पु-याउन थालेपछि गुणस्तरीयतामाथि टिप्पणी भएसँगै नपाकेको किवी टिप्ने किसानलाई अनुदान नदिइने निर्णय भएको छ ।
किसानले विभिन्न बहानामा काचै किवी टिपेर बजार पु-याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाउँदै यस्तो निर्णय गरेका हुन । समय नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय गरिएको छ ।
कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य संघ र जिल्ला सहकारी संघका प्रतिनिधिबीच भएको छलफलले खानयोग्य नभएको किवी बजारमा जाँदा किवीको बजार खस्किने निश्कर्ष निकालेको हो ।
उपभोक्ता समेत ठगिने भएकाले योग्य नभएको किवी बिक्रीलाई निरुत्साहित गर्न अनुदान कटौती गर्ने निर्णय गरिएको हो । यससँगै अपरिपक्व किवी टिप्ने किसानको किवी जोन सञ्चालक समिति र कृषि ज्ञान केन्द्रले तथ्याङ्क सङ्कलन गर्ने भएका छन ।सरोकारवालाहरुले बेला नहुँदै किवी टिप्ने किसानलाई राज्यका तर्फबाट उपलब्ध हुने अनुदानलगायत कार्यक्रममा समावेश नगर्नेसमेत निर्णय गरेका छन् ।
अघिल्लो वर्ष पनि किवी खेतीका लागि हानिकारक अभ्यास गर्ने ८ जनाको अनुदान कटौती गरिएको थियो ।किवी जोन कार्यक्रम कार्यान्वयन भइरहेको इलाम जिल्लाको राँकेबजार, इलाम, फिक्कल हर्कटेलगायत बजारबाट किवी बिक्री भइरहेको पाइएको किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राईले जानकारी दिनुभयो ।
कतिपय व्यवसायीले विर्तामोड, दमक, धरानदेखि काठमाडौंसम्म त्यस्तो किवी पु-याइसकेको सूचना प्राप्त भएको उहाँको भनाइ छ । कात्तिक अन्तिमतिर मात्रै परिपक्व हुने किवी भदौबाटै बजारमा निस्किएको छ ।बेला नहुँदै बजारमा निस्किएको किवी स्वादिलो हुँदैन । नपाकेको किवी अमिलो हुन्छ ।
नछिप्पिदै टिपेको किवी चाउरिने र कुहिन्छ । सामान्यतया गुलियोपन ८ डिग्री ‘ब्रिस्क’ टिप्न योग्य मानिन्छ । यस्तो किवीलाई गुम्स्याएर खान योग्य बनाइन्छ । गुम्स्याएपछि १९ डिग्री ‘ब्रिक्स’ गुलियोपन कायम हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले बताउनुभयो । बर्देवाका अनुसार कात्तिक अन्तिमतिर हरियो विकी टिप्न उचित हुन्छ ।