Logo कार्तिक १२, २०७७ बुधबार


पटके कर लगाएर उपत्यकाका नदीमा बालुवा उत्खनन् बढ्याे

काठमाडौं। उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि बालुवा व्यापारले तीव्रता पाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका पाइएको हो ।

वासिङ र खानीबाट निस्कने बालुवाका लागि ठेक्का दिएको भनेपनि नदीको बालुवा चोरी, निकासी बढिरहेको छ । बागमती, मनोहरा, रुद्रमती र विष्णुमतीलगायत नदीको मुहानस्थलका दायाँबायाँका नगरपालिका क्षेत्रमा बालुवाका चाङ भेटिन्छन्छन । अवैध रुपमा उत्खनन् गरिएको बालुवा राति ओसारपसार हुने गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बालुवाको यस्तो व्यापार हुने गरेको स्वीकार गर्दै यो विषय आफूले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकमा उठाए पनि सुधार हुन नसकेको स्वीकार्नुहुन्छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख नविन कार्की पनि राजधानीमा नदीजन्य पदार्थ निकाल्न नपाइने भए पनि सबै नगरपालिकाले ठेक्का लगाएको बताउनुहुन्छ । शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठलगायत नगरपालिकाले पटके करको ठेक्का लगाउँद आएको पाइन्छ ।

‘नदीजन्य सामग्री निकाल्न नै पाइँदैन भनेपछि कसरी ठेक्का लगाइएको हो, ५० वटा जति अवैध ओसारपसारमा सक्रिय सवारीलाई समाएर कारबाही प्रक्रिया अघि बढायौँ, डेढ दर्जनलाई मुद्दा चलायौँ, नगरपालिकाले पटके कर काटेकाले कारबाही गर्नुपर्दैन भनी लेखी पठाए, नदीमा बालुवा निकालीरहेका बेला रङ्गेहात पक्रँदा खल्तीमा नगरपालिकाले थमाएको चिट देखाएर उम्केका छन्’, कार्कीले भन्नुभयो । अवैध रुपमा बालुवा लिएर हिँडेकामध्ये गोकर्णेश्वरबाट बढी सवारी समातिने गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

ठेकेदारलाई छुट
कागेश्वरी मनोहरामा गत वर्ष बालुवाको ठेक्कामा ठेकेदारलाई ३ करोड छुट दिएर अनियमितता भएको नगर प्रमुखका प्रत्यासी उपेन्द्र कार्कीले बताउनुभयो । उहाँका अनुसार अग्रिम ९ करोडको ठेक्का गरेकामा विभिन्न बहानामा ३ करोड छुट दिइएको हो ।

आफ्ना मान्छेलाई ठेक्का परेपछि नगरपालिकाले करोडौं छुट दिएर राजश्व उठाउने काम गरेको उहाँको आरोप छ । ‘स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायिक समितिका रुपमा न्यायपालिकाको पनि व्यवस्था भयो, वैधानिक रुपमा प्रतिपक्षीको व्यवस्था नहुँदा स्थानीय सरकार पारदर्शी र जवाफदेही हुन सकेको छैन, विपक्षी दलले उठाएका विषयको सुनुवाइ हुँदैन’, नेपाली काँग्रेस काठमाडौं २ नम्बर क्षेत्रीय सभापति समेत रहनुभएका नेता कार्कीको भनाइ छ ।

शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाले गत आवमा बालुवाको कर उठाउन संयुक्त ठेक्का गरेका हुन् । दुवै नगरपालिकालाई समेट्ने गरी कागेश्वरीले नै ठेक्का गरेको शङ्खरापुर नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो । त्यसको कागजात सबै कागेश्वरीसँगै भएकाले आफूलाई यस विषयमा थप जानकारी नभएको उहाँको भनाइ छ ।

ठेक्काबाट उठेको रकमको ६० प्रतिशत बागमती प्रदेश सरकारलाई जाने व्यवस्था छ । बाँकीको ६० प्रतिशत शङ्खरापुर र ४० प्रतिशत कागेश्वरीमा रहने नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । ठेक्का सम्झौता ढिला भएकाले ठेकेदारले कर नउठाएको समयमा भने छुट दिइएको उहाँको दावी छ ।

कागेश्वरीले बागमती र मनोहरा दुवै नदीलाई छुन्छ । नगर प्रवक्ता राजाराम पुडासैनी स्थानीयवासीले घर बनाउन नदीमा जग्गा जोडिएका कारण बालुवा निकाल्ने गरेको स्वीकार्नुहुन्छ । बालुवा निकालेकालाई घर बनाउन नक्सा पास गर्न नआए कानूनी कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ ।

व्यावसायिक रुपमा निकाल्नेलाई भने कारबाही गरिने नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा बागमती र मनोहरा किनारमा व्यावसायिक रुपमा समेत बालुवाको थुप्रो लगाएको भेटिएको उहाँले जानकारी दिनुभयो ।

उपत्यकाका बागमती र यसका सहायक नदीका बारेमा काम गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल भने उपत्यकाका नदीबाट बालुवालगायत नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाइएकाले कानूनी कारबाहीको प्रक्रियामा अघि बढ्ने बताउनुहुन्छ । – रासस

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।