Logo कार्तिक १२, २०७७ बुधबार


अध्यक्षले बुहारीलाई प्रधानाध्यापक बनाएको भन्दै विद्यालयमा तालाबन्दी

हुमाकान्त पोखरेल
गुल्मी । यहाँको एक गाउँपालिकका अध्यक्षले शिक्षा नियमावली मिचेर मनपरी तरिकाले आफ्नी बुहारीलाई विद्यालयको प्रधानाध्यापक बनाएको भन्दै विद्यालयमा ताला लगाइएको छ । इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बुहारीलाई प्रधानाध्यापक बनाएको भन्दै त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ताला लगाएको हो ।

गाउँपालिकाको वडा नम्बर ३ दर्लामचौरस्थित सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा कांग्रेसकाे तालाबन्दीका कारण विगत एक हप्तादेखि कामकाज ठप्प रहेको छ । प्रधानाध्यापकका रुपमा काम गर्दै आएका निर बहादुर विष्टले भदौ १४ गते अवकाश पाएपछि नयाँ प्रधानाध्यापक नियुक्त गरिएको हो ।

शिक्षा नियमावली अनुसार विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गर्दा गाउँपालिकाको शिक्षा शाखाले सूचना आह्वान गर्नुपर्छ । इच्छुक उम्मेद्धारले विद्यालय विकास प्रस्तावसहित आवेदन फारम भर्नुपर्छ । त्यसैका आधारमा उत्कृष्ट उम्मेद्धारसँग शिक्षा शाखाको सिफारिसमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गर्ने प्रावधान छ ।

त्यत्तिञ्जेलसम्म निमित्त प्रधानाध्यापकको जिम्मेवारी विद्यालयमा रहेको वरिष्ठ शिक्षकलाई दिनुपर्छ । त्यसो गर्दा विद्यालयमा रमेश जिसीले निमित्त प्रधानाध्यापककोे जिम्मेवारी पाउनुपर्ने हो । तर गाउँपालिकाले अध्यक्षकी बुहारी शोभा बिष्टलाई सिधै प्रधानाध्यापकको नियुक्त दिएकोले आफुहरुले त्यसको विरोधमा तालाबन्दी गरेको कांग्रेस इस्मा गाउँपालिकाका नेता चन्द्र बहादुर महतले बताउनु भयो ।

विद्यालयमा तीन पटक ताला
सुन्तलादेवी निम्न माध्यमिक विद्यालमा यो पटकसम्म गरी ३ पटक ताला लागिसकेको छ । सुरुमा असोज २ गते कांग्रेसले विद्यालयको तालामाथि अर्को नयाँ ताला लगाएको थियो । त्यसलगत्तै असोज ३ गते कांग्रेसले लगाएको ताला विद्यालयका अभिभावकहरुले तोडका थिए ।
त्यसको भोलिपल्ट असोज ४ गते कांग्रेसले त्यो ताला तोडेर अर्को ताला लगाएको छ ।

उता गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले आफ्नी बुहारी मात्र नभएर शैक्षिक योग्यताको आधारमा प्रध्यानाध्यापक नियुक्त गरिएको बताउनु भएको छ । अर्का शिक्षक जिसीसँग एसएलसीसम्मको मात्रै योग्यता रहेको र शोभा बिष्ट स्नातक उत्तिर्ण भएकोले शैक्षिक योग्यताको आधारमा बिष्टलाई नै गाउँ कार्यपालिकाले प्रधानाध्यापक नियुक्त गरेको  बिष्टको भनाइ छ । न्यून योग्यता भएको व्यक्तिलाई प्रधानाध्यापक बनाउने कांग्रेसको एजेण्डा गाउँपालिकालाई मान्य नहुने पनि अध्यक्ष बिष्टले प्रष्ट पार्नुभयो ।

कांग्रेसले विद्यालयको ताला तोडेर आफ्नो ताला लगाएको भन्दै अहिले जिल्ला प्रशासन कार्यालयमा अर्को मुद्धा दर्ता भएको छ । गाउँपालिकाले ताला खोल्ने विषयमा वार्ता नगर्ने र गर्नुपरे प्रशासन कार्यालयमा बसेर सहमति खोजिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले  भने यसअघि बोलाएको बैठकमा कांग्रेसबाट प्रतिनिधित्व नभएको र अर्को बैठक आइतबार बोलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।