किवीको बिक्री नियन्त्रण गर्न बजार अनुगमन

भगीरथ भण्डारी
इलाम । बेलै नभई ‘ग्रिन किवी’ को बेचबिखन बढेपछि त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको छ । खानको लागि योग्य नभएको किवी किनबेच गर्दा उपभोक्ता ठगिने र बजार समेत खस्किने भएपछि कलिलो किवीको बेचखिवनलाई निरुत्साहित गर्नका लागि बजार अनुगमन थालिएको हो।
इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको राँके बजार र नेपालटारका फलफूल पसल र सूर्योदय नगरपालिकाको फिक्कल बजार अनुगमन गरिएको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि अनधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, जिल्ला प्रशासन कार्यालय, सूर्योदय नगरपालिका, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्यसंघका प्रतिनिधिले बजार अनुगमन गरेका हुन् ।
खानको लागि अयोग्य किवी बजारमा आएपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारी स्तरबाट पहिलो पटक अनुगमन गरिएको कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख टोनि वर्देवाले बताउनुभयो । बजारमा काँचो किवीको बेचबिखन बढेपछि यसअघि विभिन्न सरोकारवालाको बैठकले अपरिपक्व किवी टिप्ने र बिक्री गर्ने किसानलाई कृषि सम्बन्धि अनुदानबाट कटौती गर्ने निर्णय गरेको थियो ।
अहिले बजारमा रेड किवी पाइन्छ । रेड किवी भदौतिरै खान योग्य हुने भएपनि यसको उत्पादन जिल्लामा एकदमै न्युन छ । इलाममा भएको रेड किवी बिक्री भइसकेको छ । इलामको सूर्योदय, सन्दकपुर, देउमाई, माइजोगमाइका किसानले नछिप्पिदै किवी टिप्न थालेका छन् । त्यसलाई रोक्न सरोकारवालाले सन्देश प्रवाह गर्ने, अनुगमन गर्ने लगायतका काम थालेका हुन् ।